अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले भत्ता लगायतका सुविधालाई विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सकारात्मक रहेको बताएका हुन् ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि र फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले स्वकीय सचिवहरूको पारिश्रमिक लगायतका सुविधाका विषयमा सरकार उदार रहेको बताए । 'फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता लगायतका सुविधालाई आवश्यक विधि र प्रक्रिया पुर्याएर समयानुकूल बनाउन सरकार सकारात्मक छ,' उनले भने, 'तलब वृद्धिको कुरा छ, हरेक सांसदको स्वकीय सचिवदेखि लिएर सबै कुरामा हामी उदार नै बनिरहेका छौँ । जुन फिल्ड भिजिटहरुको भत्ताजस्ता कुरा छन् त्यसलाई विधि पुर्याएर समयानुकूल बनाउनमा हामी नकारात्मक छैनौंँ ।’
वाग्लेले नेपाल राष्ट्र बैंक ऐनमा प्रश्तावित संशोधनका विषयहरूलाई स्वस्थ र विधिसम्मत छलफलमार्फत टुङ्ग्याउन सरकार तयार रहेको बताए । राष्ट्र बैंकको संरचना र पदाधिकारी नियुक्तिजस्ता विषयमा सरकार कठोर नहुने उनको भनाइ थियो ।
