तत्काल ‘स्टाम्पिङ आउट’ले काभ्रेमा बर्डफ्लु नियन्त्रण

संक्रमित कुखुरा नष्ट गर्ने रणनीतिले बर्डफ्लु नियन्त्रणमा टेवा पुगेको छ भने किसानहरुको क्षतिपूर्ति सिधा बैंक खातामा जम्मा गरिने व्यवस्था गरिएको छ ।

श्रावण १, २०८३

ज्योती श्रेष्ठ

Bird flu control in Kavre through immediate 'stamping out'

What you should know

काभ्रे — असारको पहिलो सातादेखि जिल्लामा तीब्र रुपमा फैलिएको बर्डफ्लु नियन्त्रणमा आएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । 

बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पुष्टि भएका स्थानमा तत्काल संक्रमित कुखुरा नष्ट गर्ने रणनीतिले संक्रमण फैलिन नदिन प्रभावकारी भूमिका खेलेको पशु सेवा कार्यालयकी सूचना अधिकारी डा.सुशीला श्रेष्ठले बताइन्। 
उनका अनुसार बर्डफ्लु संक्रमण पुष्टि भएका फार्ममा ढिलाइ नगरी ‘स्टाम्पिङ आउट’ (नष्टीकरण) अभियान सञ्चालन गरिएकाले हालसम्म संक्रमणलाई सीमित क्षेत्रमा नियन्त्रण गर्न सहयोग पुगेको छ ।

बर्डफ्लु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय नै संक्रमण पुष्टि हुने बित्तिकै प्रभावित फार्मका कुखुरा तथा जोखिममा परेका पन्छी नष्ट गर्नु हो । ‘जहाँ संक्रमण पुष्टि हुन्छ, त्यही दिन रातको समयमा पनि नष्ट गर्ने काम गर्यौं,’ उनले भनिन्, ‘संक्रमण फैलिन नदिन यही नै सबैभन्दा प्रभावकारी उपाय हो ।’ 

उनका अनुसार संक्रमण नियन्त्रणसँगै कार्यालयले प्रभावित क्षेत्रमा जैविक सुरक्षा (बायोसेक्युरिटी) सम्बन्धी सामग्री वितरण, स्थानीय तहसँग समन्वय तथा किसान र सर्वसाधारणलाई लक्षित जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ ।

बर्डफ्लुको त्रासका कारण बजारमा कुखुराको मासु र अण्डाको उपभोग घटेपछि उपभोक्तामा विश्वास बढाउन पनि अभियान सञ्चालन गरिएको उनले बताइन् । हालै जिल्लाका सबै स्थानीय तहका पशु शाखा प्रमुख तथा प्रतिनिधिहरूसँग भएको समन्वयात्मक कार्यक्रममा सहभागीहरूले सार्वजनिक रूपमा उमालेको अण्डा खाएर राम्रोसँग पकाइएको कुखुराको मासु र अण्डा सुरक्षित रूपमा उपभोग गर्न सकिने सन्देश दिइएको उनले जानकारी दिइन् ।

‘बर्डफ्लुबाट प्रभावित पोल्ट्री व्यवसायलाई पुनः सामान्य अवस्थामा फर्काउन वैज्ञानिक तथ्यमा आधारित सन्देश प्रवाह आवश्यक छ,’ डा. श्रेष्ठले भनिन्, ‘आगामी दिनमा सर्वसाधारणलाई लक्षित गरेर सुरक्षित रूपमा पकाएको कुखुराको मासु र अण्डा उपभोग गर्न सकिने विषयमा थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’

उनका अनुसार बर्डफ्लुका कारण अनावश्यक रूपमा त्रसित नहुन आग्रह गर्दै विश्व स्वास्थ्य संगठन र पशु स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले पनि उचित तापक्रममा राम्रोसँग पकाइएको कुखुराको मासु र अण्डा सेवन गर्न सुरक्षित रहेको उल्लेख गर्दै आएका कारण स्वास्थ्य मापदण्ड पालना गरी ढुक्कसँग उपभोग गर्न सकिन्छ । 

कार्यालयका अनुसार काभ्रेमा हालसम्म बर्डफ्लु नियन्त्रण अभियान अन्तर्गत ३० वटा कृषक तथा पोल्ट्री फार्ममा रहेका ९० हजार २७५ वटा पन्छी, ३८ हजार १८३ वटा अण्डा, १० हजार २१० केजी दाना र ५ हजार २७५ वटा क्रेट नष्ट गरिएको छ । कार्यालयले संक्रमण देखिएका क्षेत्रमा निगरानी, नमुना परीक्षण तथा जैविक सुरक्षा मापदण्डलाई अझ कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ । 

काभ्रेमा बर्डफ्लु नियन्त्रणका क्रममा ‘स्टाम्पिङ आउट’ गरी नष्ट गरिएका कुखुराको क्षतिपूर्ति पशु सेवा विभागले सम्बन्धित किसानको बैंक खातामै उपलब्ध गराउने भएको छ । जिल्लास्तरबाट प्रभावित किसानको विवरण संकलन गरेर विभागमा सिफारिस गरिएको जिल्ला पशु सेवा कार्यालय प्रमुख डा. बज्रकिशोर ठाकुरले बताए ।

उनका अनुसार संक्रमित फार्ममा कुखुरा नष्ट भएपछि सम्बन्धित स्थानीय तहबाट क्षतिपूर्ति सिफारिससहितको विवरण कार्यालयमा आउँछ । त्यसपछि संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सम्मिलित टोलीले किसानको उपस्थितिमा स्थलगत रूपमा नष्ट गरिएका कुखुराको संख्या यकिन गरी क्षतिपूर्ति सम्बन्धी विवरण (सीडी) तयार गर्छ । तयार गरिएको विवरण जिल्ला कार्यालयमार्फत पशु सेवा विभागमा पठाइन्छ । विभागअन्तर्गतको केन्द्रीय दररेट निर्धारण समितिले देशभरका प्रभावित जिल्लाबाट प्राप्त विवरणका आधारमा क्षतिपूर्तिको अन्तिम दर निर्धारण गर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दररेट सिफारिस समिति रहे पनि अन्तिम दर भने केन्द्रीय समितिले नै तय गर्ने उनको भनाइ छ । उनका अनुसार समितिले कुखुराको जात, उमेर तथा उत्पादन अवस्थालगायतका आधारमा प्रतिवटा कुखुराको क्षतिपूर्ति रकम निर्धारण गर्छ । क्षतिपूर्ति रकम जिल्ला वा स्थानीय तहबाट वितरण नहुने भएकाले पशु सेवा विभागले नै सम्बन्धित किसानको बैंक खातामा सिधैं जम्मा गर्ने व्यवस्था छ ।

पशु सेवा कार्यालयले असार २५ सम्म ‘स्टाम्पिङ आउट’ गरिएका फार्महरूको क्षतिपूर्ति सिफारिस विभागमा पठाइसकेको उनले जानकारी दिए । त्यसपछि नष्ट गरिएका कुखुराको विवरण भने दोस्रो चरणमा पठाइने भएकाले ती किसानले क्षतिपूर्ति पछि प्राप्त गर्ने उनले बताए । पशु सेवा विभागले भने असार २२ सम्म विभागमा आइपुगेका कागजातका आधारमा किसानहरुलाई क्षतिपूर्ति रकम प्रदान गरिएको जनाएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully