सोमबार लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मतसँगै नाका सञ्चालनमा आएको हो ।
What you should know
काठमाडौँ — तीन दिनदेखि अवरुद्ध नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका बिहीबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । सोमबार लिपिङमा पहिरो खस्नुका साथै इको र डाक्लाङ क्षेत्रमा सडक भासिएपछि अवरुद्ध बनेको कोदारी सडकखण्ड मर्मतसँगै नाका सञ्चालनमा आएको हो ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यसमिति सदस्य राजेश भण्डारीका अनुसार लिपिङ, डाक्लाङ र इको क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएपछि कन्टेनर आवतजावत सुरु भएको छ । 'साँझ सडक खुलेपछि नाका सञ्चालनमा आएको हो । राति फेरि पहिरो वा सडक भासिने समस्या नआए नियमित रूपमा यातायात सञ्चालन हुनेछ,' उनले भने ।
सडक अवरुद्ध हुँदा चीनतर्फबाट स्याउ, सुन्तला, अदुवा, रेडिमेड सामान तथा विभिन्न उपकरण बोकेका करिब १५० कन्टेनर कोदारी नाका पार गर्ने प्रतीक्षामा थिए । न्यालमलगायत चीनका विभिन्न स्थानमा करोडौं रुपैयाँबराबरका सामान लोड गरिएका ४५ भन्दा बढी कन्टेनर पनि रोकिएका थिए । सडक खुलेसँगै ती कन्टेनर धमाधम नेपाल भित्रिन थालेका छन् ।
गत असार २७ सम्म नियमित सञ्चालनमा रहेको तातोपानी नाका यसवर्षको पहिलो ठूलो वर्षापछि बन्द भएको थियो । लगातारको वर्षापछि सीमा क्षेत्र लिपिङमा पहिरो खसेको थियो भने इको क्षेत्रमा सडक भोटेकोशी नदीतर्फ बग्ने जोखिम बढेको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले इको क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य चुनौतीपूर्ण बने पनि बिहीबार सडक सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले वर्षा जारी रहेकाले सडक अझै जोखिममै रहेको र आवश्यक सतर्कता अपनाइएको जानकारी दिए ।
