बिहीबार बजार बन्द हुँदा नेप्से करिब साढे ७ अंकले बढेर २५९७.८० अंकमा उक्लेर बन्द भएको छ
काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ७.५० अंकले बढेको छ । अघिल्ला २ दिन लगातार बढेको नेप्सेले बिहीबार पनि सोही प्रवृति पछ्याएको हो । यद्यपि, बुधबारको तुलनामा बिहीबार नेप्सेको वृद्धिदर घटेर एकल अंकमा झरेको छ । बुधबार नेप्से १४ अंकले बढेको थियो ।
बिहीबार बजार बन्द हुँदा नेप्से करिब साढे ७ अंकले बढेर २५९७.८० अंकमा उक्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढेको हो ।
बिहीबार कारोबारमा आएकामध्ये १२१ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको घट्यो । तर उक्त दिन ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार कुल ३९ हजार ५ सय ९५ पटकको कारोबारमा ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम, कारोबार संख्या, कारोबार सेयर कित्ता सबैमा सुधार भएको हो ।
बुधबार कुल ३८ हजार ८३६ पटकको कारोबारमा ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, होटेल, जलविद्युत् र उत्पादन तथा प्रशोधनको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपछि नेप्से एकल अंकले बढ्न टेवा पुगेको हो ।
