जागिर खाने योजना छाडेर अर्गानिक खेतीमा जुटेका जेन-जी

पाँच बिघामध्ये तीन बिघामा आँप, लिची, अम्बा, बेर, केरा, मेवा, सीताफल, जामुन र भुइँकटहरलगायतका फलफूल लगाएका छन् । बाँकी दुई बिघामा पूर्णरूपमा विषादीरहित मौसमी तरकारी खेती भइरहेको छ ।

असार ३२, २०८३

पर्वत पोर्तेल

Gen-G abandons plans to get a job and engages in organic farming

ग्रामधान, मोरङ — सुनसरीमा कृषि पढ्दै गर्दा पनि कृषि गर्ने योजना थिएन, मोरङको विराटनगर–१ का २५ वर्षीय रेवती दाहालको। उनको सपना लोकसेवा पढेर ‘हाकिम’ बन्ने नै थियो ।

डेरा छिर्दा हातमा लोकसेवाको तयारी पुस्तक बोकेका रेवती डेरा छाड्दा त्यो पुस्तक मिल्काएर कृषि गर्ने निचोडमा पुगे । ‘लोकसेवा पढेर हाकिम बन्ने सपना थियो,’ उनले सुनाए,‘त्यो सपना त्यागेँ र कृषिकर्म रोजेँ ।’ प्राकृतिक खेती अभियन्ता माधव ढुंगेलसँगको चिनजानले उनलाई विशेषगरी कृषिकर्मतिर आकर्षण गर्यो । त्यसपछि उनी केही समय सिन्धुलीको काउछेस्थित प्राकृतिक कृषि तथा जडीबुटी सहकारी संस्थामा आबद्ध भए । करिब ९ बिघा जमिनमा बहुस्तरीय बगैंचा प्रणालीमा खेती भइरहेको थियो । त्यहाँ उनले झन्डै डेढ वर्ष बिताए ।

त्यहाँ १६ जना युवाले सामूहिक रूपमा खेती गर्थे । सबै आफैं मालिक र आफैं श्रमिक थिए । सामूहिक रूपमा खान्थे, सँगै काम गर्थे । सेवा–सुविधादेखि जिम्मेवारीसम्म सबैमा समानता थियो । तर, खै किन हो ।  विस्तारै एकपछि अर्को गर्दै युवा समूह छाड्न थाले । अधिकांशले छाडेपछि रेवतीको पनि मन अडिएन । ‘अरूले किन छाडे, थाहा छैन,’ उनले भने, ‘मैले भने व्यक्तिगत कारणले छाडेँ ।’

त्यसपछि उनी शिक्षासम्बन्धी क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामा आबद्ध भए । संस्थाले किताबी ज्ञानभन्दा व्यवहारिक सिकाइलाई प्राथमिकता दिन्थ्यो । उनले चाहेकै जस्तो काम थियो । तलब पनि पुग्दो नै थियो । तर, करिब १० महिनापछि त्यहाँ पनि उनको मन टिकेन । उनको ध्यान फेरि कृषितिरै तानियो, त्यो पनि प्राकृतिक खेतीतर्फ । 

जागिर छाडेपछि उनी केही समय बेरोजगार भए । जेनजी आन्दोलन सुरु हुनुअघि, भदौ २२ मा उनले काठमाडौं छाडे । गाउँ फर्किएर कृषिमै लाग्ने उनको योजना थियो । तर, खेतीका लागि उपयुक्त जमिन भेट्न भने सजिलो भएन । करिब दुई महिना विराटनगरदेखि विराटचोकसम्म खोजे पनि चाहेजस्तो जमिन पाएनन् । धेरै जग्गाधनीसँग कुराकानी गरे । तर, टुंगोमा पुगेको थिएन । 

जमिन नपाएपछि उनी कृषि छाडेर फेरि जागिरतिर फर्किने सोचमा पुगे । कृषिसम्बन्धी काम गर्ने एउटा गैरसरकारी संस्थाबाट जागिरको प्रस्ताव पनि आयो । खासमा त्यो संस्थाले उनलाई जोड्न खोजेको थियो । काठमाडौं पुगेर अन्तर्वार्ता दिएर फर्किंदै थिए । जागिर लगभग पक्का थियो । त्यही बेला एक जना जग्गाधनीको फोन आयो । उनले लिजमा जमिन दिन तयार भएको जानकारी दिए । फोन राख्नासाथ रेवतीले अन्तर्वार्ता दिएको संस्थामा इमेल पठाए,‘माफ गर्नुहोस्, तपाईहरुको संस्थामा जोडिन नसक्ने भएँ ।’ 

मोरङको ग्रामथान–१ लखन्तरीमा पाँच बिघा जमिन १० वर्षका लागि लिजमा पाए । त्यसपछि क्रमशः उनीसँग जोडिए कृषि क्याम्पसका सहपाठी अविन चौधरी र स्कुले साथी दीप खतिवडा । 

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का २८ वर्षीय अविन चौधरी रेवतीसँगै कृषि अध्ययन गरेका थिए । उनले रेवतीलाई पहिला नै बचन दिएका थिए, ‘यदि कृषि गरियो भने मलाई सम्झिनु है ।’ 

Gen-G abandons plans to get a job and engages in organic farming

नभन्दै रेवतीले पहिला उनैलाई सम्झिए । प्राकृतिक खेतीको प्रस्ताव गरेपछि उनले पनि जागिर छाडे । 
लहानको एक निजी स्कुलको जागिर राजीनामा दिएर उनी तुरुन्तै मोरङ आइपुगे । ‘मेरी छोरी मंसिरमा जन्मिइन्, हाम्रो लिज सम्झौता पुसमा भयो,’ अविनले सम्झिए ।

यसैबीच रेवतीको भेट स्कुले साथी दीप खतिवडासँग भयो । इलेक्ट्रोनिक्स इन्जिनियर दीप काठमाडौंस्थित ‘ग्याजेट वाइट’ नामक संस्थामा कार्यरत थिए । रेवतीले प्राकृतिक खेतीको योजना सुनाउँदै सँगै काम गर्न आग्रह गरे । दिपले २ महिना समय मागे । तेस्रो महिनापछि उनी पनि जोडिए ।  उनले पनि जागिर छाडेर कृषिमा लाग्ने निर्णय गरे । 

अहिले आठ महिनादेखि यी तीन युवा कृषिमा आफ्नै किसिमको ‘विद्रोह’ गरिरहेका छन् । उनीहरूले जनही आठ लाख रुपैयाँ लगानी गरेर ‘हलो क्रान्ति कृषि फार्म’ सञ्चालन गरेका छन् । ‘खासमा हामी तीनै जना खुसीको खोजीमा थियौं,’ रेवतीले भने, ‘त्यही खोजीले हामीलाई यहाँसम्म ल्यायो ।’

उनीहरू प्राकृतिक खेती गर्छन् । रासायनिक विषादी प्रयोग गरेर बढी आम्दानी गर्न सकिने उनीहरू स्वीकार्छन् । तर, त्यसबाट आफूले खोजेको सन्तुष्टि नपाइने उनीहरूको बुझाइ छ । ‘विषादी प्रयोग गरेर खेती गर्दा धेरै पैसा कमाइन्थ्यो होला,’ रेवती भन्छन्, ‘तर खुसी पाइँदैनथ्यो । प्राकृतिक खेतीले आम्दानी कम दिन सक्छ, तर हामीलाई किनेर नपाइने खुसी दिएको छ ।’

खेती सुरु गरेपछि पहिलो उत्पादनका रूपमा उनीहरूले अर्गानिक तरकारी फलाए एक महिनाअघि । बजारमा पठाउनुको सट्टा उपभोक्ताको घरमै पुर्‍याएर बिक्री गरे । ‘हाम्रो उत्पादन मण्डीमा पठाउने होइन,’ अविनले भने, ‘हामी पारिवारिक किसान (फेमिली फार्मर) को अवधारणामा काम गरिरहेका छौं ।’ उनीहरूको नारा छ,‘तपाईंको परिवारका लागि हामी स्वस्थकर तरकारी फलाइदिन्छौं ।’ 

पाँच बिघामध्ये तीन बिघामा आँप, लिची, अम्बा, बेर, केरा, मेवा, सीताफल, जामुन र भुइँकटहरलगायतका फलफूल लगाएका छन् । बाँकी दुई बिघामा पूर्णरूपमा विषादीरहित मौसमी तरकारी खेती भइरहेको छ । दीर्घकालमा यो क्षेत्रलाई फलफूल बगैंचाका रूपमा विकास गर्ने उनीहरूको योजना छ । त्यसलाई कृषि–पर्यटनसँग जोड्ने, होमस्टे सञ्चालन गर्ने र अन्ततः कृषि अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य उनीहरूले लिएका छन् । ‘भविष्यमा यसलाई रिसर्च सेन्टर रूपमा विकास गर्ने हाम्रो योजना छ,’ दीपले भावी योजना सुनाए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully