विमानस्थलको 'ब्यागेज आतंक' रोक्न ग्राउन्ड ह्यान्डलिङका कर्मचारीलाई खल्ती नभएको पोशाक

संसदीय समितिको दबाबपछि फेरि लागु भयो पुरानै उपाय खल्तीरहित पोशाक । तर विमानस्थलभित्रैबाट प्रश्न छ- के  ब्यागेज ह्यान्डलिङ कर्मचारीको पोशाकबाट खल्ती हटाएर मात्रै समस्या समाधान होला ?

असार ३२, २०८३

सुरज कुँवर

Ground handling staff to wear pocketless uniforms to prevent airport 'baggage panic'

What you should know

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरूमा वर्षौंदेखिको एउटा त्रास अझै जीवित छ । त्यो हो, सुटकेस फुट्ने, बहुमूल्य सामान हराउने वा झोलाभित्रका सामग्री गायब हुने ।

यो समस्या सर्वसाधारण यात्रुमा मात्रै सीमित छैन । नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी, मन्त्री, सचिवदेखि उच्च तहका कर्मचारीसमेत पीडित बनेका घटना सार्वजनिक भएका छन् ।

विमानस्थल स्रोतका अनुसार दैनिक १२ हजार यात्रुमध्ये १५ देखि २० वटा यस्ता गुनासो टर्मिनल कार्यालयमा दर्ता हुने गर्छन् । धेरै यात्रुले क्षतिपूर्ति नपाउने मात्रै होइन, सामान कहाँ हरायो भनेर समेत पत्तो पाउँदैनन् । 

यही समस्याको समाधान खोज्ने प्रयासमा सरकारले वर्षौंदेखि अनेक उपाय अपनाउँदै आएको छ । प्रहरीले विमान सरसफाइ गर्ने,  सामान लोड-अनलोड गर्ने कामदारलाई गोप्रो क्यामेराबाट निगरानी गर्ने,  कहिले जहाजदेखि ब्यागेज बेल्टसम्म सीसीटीभीको निगरानी गर्ने समेत गरिसकिएको छ ।तर यात्रुको गुनासो अझै रोकिएको छैन । बरु, अहिले फेरि पुरानै उपायलाई नयाँ उपलब्धिका रूपमा कार्यान्वयनमा ल्याइएको छ । ग्राउन्ड ह्यान्डलिङमा खटिने कर्मचारीका लागि खल्तीरहित (पकेटरहित) पोशाक ।

यो व्यवस्था प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले हालै प्रस्तुत गरेको सुधार सूचीको एउटा प्रमुख बुँदा थियो । तर विमानस्थलभित्रकै अधिकारीहरू भने खल्ती हटाउँदैमा वर्षौंदेखिको समस्या समाधान हुनेमा विश्वस्त देखिँदैनन् ।

त्रिभुवन विमानस्थलको सरसफाइ, सेवा र यात्रु अनुभवलाई लिएर अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पछिल्ला ३ बैठक लगातार छलफल गर्‍यो । १२ जेठ २०८३ मा बसेको चौथो बैठकले विमानस्थलको सरसफाइ, यात्रुमैत्री सेवा, स्वच्छता र व्यवस्थापनमा तत्काल सुधार गर्न निर्देशन दिएको थियो । त्यसपछि २९ जेठको पाँचौं बैठकले फेरि सरसफाइ, शौचालय, टर्मिनल व्यवस्थापन र आधारभूत पूर्वाधारमा नतिजामुखी सुधार गर्न निर्देशन दोहोर्‍यायो ।

लगातार निर्देशनपछि १७ असारको छैटौं बैठकमा निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले समितिसमक्ष सुधारको विस्तृत प्रस्तुति दिए । उनले टर्मिनल सरसफाइ, भवन मर्मत, धूम्रपान कक्ष व्यवस्थापन, शौचालय सुधार, ग्राहक सेवा, अतिरिक्त सीसीटीभी जडान र खल्तीरहित पोशाक कार्यान्वयनलाई उपलब्धिका रूपमा प्रस्तुत गरे ।

सिटौलाका अनुसार यसअघि निर्णय भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको खल्तीरहित पोशाक अहिले पूर्ण रूपमा लागु गरिएको छ । अब जहाज पार्किङ र्याम्प क्षेत्रमा जाने सबै ब्यागेज ह्यान्डलिङ कर्मचारीले खल्ती नभएको पोशाक लगाउनुपर्छ । उनीहरूले व्यक्तिगत झोला कार्यक्षेत्रभित्र लैजान पाउँदैनन् । छुट्टै स्थानमा झोला राखेपछि मात्रै काममा प्रवेश गर्न पाइन्छ ।

विमानस्थल प्रशासनले विदेशबाट आएका जहाजमा क्षतिग्रस्त अवस्थामा भेटिएका ब्यागको तत्काल फोटो खिच्ने, लगबुकमा अभिलेख राख्ने र रिपोर्टिङ गर्ने व्यवस्था पनि सुरु गरेको सिटौलाले बताए । उनले आगमन क्षेत्रमा थप सीसीटीभी क्यामेरा पनि जडान गरिएको बताए ।

तर विमानस्थलका अधिकांश कर्मचारी भने यो उपायले मात्रै समस्याको दिगो समाधान नहुने बताउँछन् । विमानस्थलका एक अधिकारीका अनुसार खल्तीरहित पोशाक धेरै वर्षदेखि उठ्दै–हराउँदै आएको विषय हो । 'पहिले दिनदेखि नै जहाजभित्र जाने सरसफाइ कर्मचारीको हातमा मोबाइल, डटपेन वा कुनै पनि व्यक्तिगत सामग्री हुनु हुँदैन, पोशाकमा एउटै खल्ती पनि हुनु हुँदैन, जहाज चढ्नुअघि र झरेपछि शरीर जाँच हुनुपर्छ भन्ने प्रस्ताव आएको हो,' यो समस्यालाई नजिकैबाट नियाल्दै आइरहेका एक अधिकारीले भने । तर व्यवहारमा त्यस्तो कडाइ निरन्तर हुन नसकेको उनको भनाइ छ।Ground handling staff to wear pocketless uniforms to prevent airport 'baggage panic'

स्रोतका अनुसार खल्तीरहित पोशाक लागु गर्ने प्रयास एक दशकअघि पनि भएको थियो । त्यसबेला पनि ट्रेड युनियनले विरोध गरे । 'हामीलाई मात्रै चोरजस्तो व्यवहार गरियो, विभेद गरियो ' भन्ने उनीहरूको तर्क थियो । विरोधपछि कार्यान्वयन कमजोर बन्यो । अहिले ब्यागेज फुटेको गुनासो घटेको दाबी गरिए पनि वास्तविक अवस्था फरक रहेको स्रोतको भनाइ छ । 'दिनमा एउटा–दुईटा होइन, २०–३० जनासम्म सामान हराएको, तोडफोड भएको फर्म भरेर टर्मिनल डेस्कमा आउँछन् । सामान हरायो, फुट्यो, चोरियो भन्ने उजुरी खल्तीरहित पोशाक भए पनि छ,' विमानस्थलको सुरक्षा स्रोतले बिहीबार कान्तिपुरसँग भन्यो ।

निमित्त महाप्रबन्धक सिटौला सबै घटना काठमाडौंमै हुन्छन् भन्ने ग्यारेन्टी नहुने बताउँछन् । भन्छन्, 'विदेशबाटै क्षतिग्रस्त भएर पनि आउन सक्छन् । तर पूर्ण अनुसन्धान गर्ने प्रणाली प्रभावकारी नभएकाले वास्तविकता छुट्याउन कठिन भएको हो ।'

नेपाल वायुसेवा निगम, विमानस्थलका एक निर्देशकका अनुसार यो व्यवस्था पहिलो पटक ल्याइँदा लोडर तथा मजदुरका ट्रेड युनियनहरूले 'श्रमिकलाई मात्रै किन ? विभेद भयो' जस्ता आरोप लगाएका थिए ।

संविधानले दिएको समानताको अधिकारसमेत उठाएपछि यो नियम बन्द भएको थियो । यसपटक विमानस्थल प्रशासनले यो निर्णय सुरक्षा व्यवस्थाको हिस्सा भएको भन्दै कार्यान्वयन अघि बढाएको छ । यस्को विरोध भएको छैन ।

नेपाल एयरलाइन्सका लागि ग्राउन्ड ह्यान्डलिङ सेवा दिने दुई प्रमुख निजी कम्पनी सुनगाभा सप्लाई एन्ड सर्भिसेस र नयाँ नेपाल प्रालि हुन् ।

सुनगाभाका सञ्चालक शिव कार्कीका अनुसार अहिले लागु भएको व्यवस्था तेस्रो प्रयास हो । उनका अनुसार यसअघि पनि यस्तो योजना आएको थियो । तर कम्पनीले विरोध गरेपछि कार्यान्वयन रोकिएको थियो।

'हाम्रो मान्छेलाई मात्रै किन? कि एयरपोर्टभरि सबै कर्मचारीलाई एउटै नियम लागु गर्नुपर्छ भन्ने हाम्रो त्यसताका अडान थियो,' उनले भने।

उनका अनुसार कामदारलाई खाजा खाने पैसा, औषधि वा कलमजस्ता सामान्य सामग्री बोक्नुपर्ने हुन्छ । त्यसैले खल्ती नै नहुने व्यवस्था व्यवहारिक नभएको तर्क गरिएको थियो । अहिले भने कम्पनीले नेपाल एयरलाइन्सले तोकेको डिजाइनअनुसार आफ्नै खर्चमा खल्तीरहित पोशाक सिलाएर कर्मचारीलाई दिएको छ ।

सुनगाभाले करिब २५० कर्मचारीमार्फत नेपाल एयरलाइन्सलाई सेवा दिइरहेको छ । कम्पनीले प्रति उडानका आधारमा सेवा शुल्क पाउँछ । न्यारोबडी विमानका लागि ७ हजार ५ सय र वाइडबडीका लागि ८ हजार ५ सय रुपैयाँ पाउने कार्कीले जानकारी दिए ।

नयाँ नेपाल सर्भिस प्रालिका सञ्चालक धर्म श्रेष्ठका अनुसार कम्पनीका करिब १३० कर्मचारी अहिले खल्तीरहित पोशाक लगाएर काम गरिरहेका छन् । उनले पनि अहिले यो विषयमा कम्पनीभित्र कुनै विवाद नरहेको बताए ।

उनका अनुसार कम्पनी मुख्यतः कार्गो र डिपार्चरतर्फको लोडिङ–अनलोडिङमा संलग्न छ । नेपाल एयरलाइन्ससँग प्रतिव्यक्ति आधारमा सम्झौता छ । श्रेष्ठका अनुसार अहिले सुरक्षा संवेदनशील क्षेत्रमा प्रवेश गर्ने सबै सम्बन्धित कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोशाक लगाउने गरेका छन् ।

विमानस्थलमा रहेका वायुसेवाका स्टेसन प्रमुखहरू, सेवा प्रदायक कम्पनी र व्यवस्थापनसँग जोडिएका अधिकारीहरू लगेज चोरी तथा तोडफोडका समस्या केवल खल्ती हटाएर मात्रै होइन, सम्पूर्ण निगरानी प्रणाली, उत्तरदायित्व र सुरक्षा संस्कृतिमा पनि जोड दिनुपर्ने बताउँछन् ।

अन्तराष्ट्रियतर्फ दैनिक १३ हजार र आन्तरिकतर्फ ७ हजार यात्रु आवागमन हुने गरेको निमित्त महाप्रवन्धकले बताए । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully