दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम आधा घट्यो

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १४ अंकले बढेको छ

असार ३१, २०८३

कान्तिपुर संवाददाता

NEPSE rises by double digits, trading volume halve

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १४ अंकले बढेको छ । अघिल्ला ४ कारोबार दिन लगातार घटेको नेप्से मंगलबार ६.११ अंकले बढेको थियो । सोही प्रवृति पछ्याउँदै बुधबारको नेप्से दोहोरो अंकले बढेको हो ।

जसअनुसार बजार बन्द हुँदा नेप्से करिब सवा ६ अंकले घटेर २५९०.२९ अंकमा उक्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.५४ प्रतिशतले बढेको हो ।

बुधबार कारोबारमा आएकामध्ये १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५९ कम्पनीको घट्यो । तर, सो दिन १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उक्त दिन कुल ३८ हजार ८३६ पटकको कारोबारमा ८४ लाख ७३ हजार १६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम आधाले कम हो । मंगलबार सेयर बजारमा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र सामुहिक लगानी कोष बाहेक सबैको परिसूचक बढेपछि नेप्से दोहोरो अंकले बढ्न सकेको हो । तर लगानी उपसमूहको परिसूचक ०.४६ प्रतिशतले घटेको छ भने सामुहिक लगानी कोषको परिसूचक स्थिर छ ।

कान्तिपुर

Link copied successfully