यस अवधिमा बजार खुलेका ७३ कारोबार दिनमध्ये ४७ दिन नेप्से ओरालो लागेको छ भने २६ दिन बढेको छ ।
काठमाडौँ — दुईतिहाइ नजिकको बहुमतसहित रास्वपाले सरकारको नेतृत्व गरेको १ सय ९ दिनमा सेयर बजारमा निराशा देखिएको छ । यस अवधिमा बजार खुलेका ७३ कारोबार दिनमध्ये ४७ दिन नेप्से ओरालो लागेको छ भने २६ दिन बढेको छ । नयाँ सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुनेलगायत कारण सेयर बजारमा सकारात्मक असर पर्ने लगानीकर्ताको अनुमान थियो । तर अनुमानविपरीत सेयर बजार निरन्तर ओरालो लाग्यो, जहाँ लगानीकर्ताको आत्मविश्वास बढ्न सकेन ।
१२ चैतको नेप्से परिसूचक २ हजार ९ सय ५० अंकमा थियो । १३ चैतमा वालेन्द्र शाह प्रधानमन्त्री बने । त्यसपछि हाल (२९ असार) सम्म नेप्से ३ सय ८० अंक घटिसकेको छ । नेप्से प्रायः घटिरहँदा सोमबारसम्म २ हजार ५ सय ७० अंकमा झरेको छ । यसले पनि लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेको पुष्टि हुन्छ ।
यस अवधिमा नेप्से परिसूचकसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि करिब ६ खर्बले खुम्चिएको छ । १२ चैतमा ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण सोमबारसम्म ४४ खर्ब १६ अर्ब रुपैयाँमा झरेको छ । सूचीकृत कम्पनीको सेयर संख्यालाई सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । कुल बजार पुँजीकरणले सेयरधनीको सम्पत्तिको मूल्य देखाउँछ । नेप्से परिसूचक घट्दा पुँजीकरण पनि घट्ने हुँदा लगानीकर्ताको सम्पत्तिको मूल्य घट्छ भने बढ्दा बढ्छ । गएको करिब साढे तीन महिनामा प्रायः दिन बजार ओरालो लाग्दा नेप्से परिसूचक ३ सय ८० अंकले घटिसकेको छ । नेप्से घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि घटेको हो ।
अहिले राज्यको नीति सेयर बजार अनुकूल भए पनि सरकारको गतिविधिमा आशंका देखिएको र लगानीकर्ताको त्रास कायमै रहँदा नेप्से बढ्न नसकेको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । ‘नयाँ सरकार बनेपछि सुशासन कायम गर्ने भन्दै केही ठूला व्यवसायी उपर छानबिन सुरु भयो । ती कारोबार मुख्य गरी सेयर बजारसँग सम्बन्धित थिए । यसले मुख्य गरी ठूला लगानीकर्तामा त्रास बढायो,’ उनले भने, ‘त्यो त्रासकै कारण ठूला लगानीकर्ता बजार भित्रिन सकेका छैनन् । बजार बढ्न नसक्नुको मुख्य कारण यही हो ।’
नेपालीले मुलुकमा सुशासन चाहे पनि आफू वा आफ्नो क्षेत्रका मानिसलाई सरकारले कारबाही नगरिदेओस् भन्ने आशा कायमै रहेकाले पनि सेयर बजारमा त्रास फैलिएको सिजापतिको भनाइ छ । ‘सरकारले सुरु गरेको सम्पत्ति विवरण संकलनले पनि सेयर बजारमा त्रास पैसा गरेको छ,’ उनले थपे, ‘पछिल्लो समयमा अदालतले सम्पत्ति विवरणको छानबिन अघि नबढाउन भनेको छ । तर नागरिकमा सरकारले कहिले अनुसन्धान सुरु गर्ने हो भन्ने त्रास कायमै छ ।’ डर र त्रासको अवस्थामा लगानीकर्ता रहेकाले उनीहरूले लगानी विस्तार नगर्दा बजार बढ्न नसकेको उनको भनाइ छ ।
सोमबारसम्म ७९ लाख ८६ हजारले सेयर कारोबारका लागि डिम्याट खाता खोलेका छन् । तीमध्ये ४७ लाखले दोस्रो बजार अनलाइन कारोबारका लागि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) खोलेका छन् । तीमध्ये करिब ४ लाख मात्र सक्रिय लगानीकर्ता छन् । सामान्यतया एक वर्षमा कम्तीमा एक पटक सेयर खरिद वा बिक्री गरेका लगानीकर्तालाई नेपाल स्टक एक्सचेन्ज नेप्सेले सक्रिय लगानीकर्ता भनेर परिभाषित गर्दै आएको छ ।
सक्रिय लगानीकर्ताको संख्या पनि सेयर बजारको दिशामा निर्भर रहन्छ । सामान्यतया बजार बढेका बेला सक्रिय लगानीकर्ता पनि बढ्छन् भने घटेका बेला घट्छन् । अहिले बजार घटेकाले सक्रिय लगानीकर्ताको संख्यामा पनि कमी आएको नेप्सेले जनाएको छ ।
सरकारले लगानीकर्ताको अपेक्षा पूरा गर्न नसक्दा बजार लगातार घटिरहेको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलको तर्क छ । ‘लगानीकर्ताको सरकारसँग जुन अपेक्षा थियो, त्यो पूरा हुन सकेन । त्रासै त्रास मात्र भयो,’ उनले भने, ‘अधिक तरलता, ब्याजदर न्युन मात्र नभएर नीति पनि बजार अनुकूल छन् । तर लगानीकर्ताको आत्मविश्वास बढ्नै सकेन ।’
नयाँ सरकार स्थिर हुने भएकाले नीतिगत स्थिरता हुने र सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिए पनि सरकारप्रति भरोसा बढ्न नसक्दा बजार बढ्न नसकेको उनको तर्क छ । सेयर बजार घट्दा सरकारले पनि ठूलो परिमाणमा राजस्व पनि गुमाएको छ । गत आर्थिक वर्षको एघार महिना (साउनदेखि जेठसम्म) को तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पुँजीगत लाभ कर (सीजीटी) करिब ३७ प्रतिशतले घटेको छ ।
यसअनुसार गत आर्थिक वर्षको ११ महिनामा सेयर बजारबाट सरकारले १५ अर्ब ३० करोड ६० लाख रुपैयाँ सीजीटी प्राप्त गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यो शीर्षकमा सरकारले ९ अर्ब ६४ करोड रुपैयाँ मात्र सीजीटी प्राप्त गरेको छ ।
पुँजीगत कर नाफामा लिने कर भएकाले बजार बढेका बेला बढ्ने र घटेका बेला घट्ने हुन्छ । यस वर्ष बजार घटेकाले पुँजीगत लाभ कर पनि घटेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीको भनाइ छ । ‘बजार घटेकाले गत वर्षको तुलनामा यस वर्ष पुँजीगत लाभकर पनि घटेको हो,’ उनले भने, ‘सामान्यतया बजार घटेका बेला कारोबार रकम पनि घट्ने र बढेका बेला बढ्ने हुन्छ । अहिले कारोबार रकम पनि घट्दा सेयरधनीको नाफा पनि घटेकाले कर पनि घटेको हो ।’
राज्यका विद्यमान नीति र सरकारप्रति लगानीकर्ता भर पर्न नसक्दा बजार ओरालो लागेको सेयर लगानीकर्ता एवं रास्वपाका मुद्रा तथा पुँजीबजार विभागका पूर्वसदस्य सुवासचन्द्र ढुंगानाले जनाए । ‘२१ फागुनको निर्वाचनपछि सरकार गठन नहुँदाका ११ कारोबार दिनमा नेप्से ९ प्रतिशतले बढेको थियो । त्यति बेला नयाँ सरकारप्रति अपेक्षा देखिएको थियो,’ उनले भने, ‘प्रधानमन्त्री वालेन्द्र शाहले शपथ लिएपछिका कारोबार दिनमा सेयरले सुधारको बाटो समात्न सकेन । कारोबार रकम र बजार पुँजीकरण पनि घटेको घट्यै भयो । यसअनुसार सरकार गठनअघि औसत १३ अर्ब कारोबार हुँदै आएकामा अहिले त्यो घटेर ५ अर्ब ६० करोड कायम भएको छ ।’
सरकारले बजेटमार्फत पुँजीगत लाभकर बढाए पनि त्यो अन्तिम हुने/नहुने भन्ने अन्योल कायमै रहेकाले पनि लगानीकर्ता आश्वस्त हुन नसकेको उनले बताए । ‘यस पटक कर फरक ढंगले आयो । त्यसलाई पनि लगानीकर्ताले सकारात्मक रूपमा लिन सकेनन्,’ उनले भने, ‘यसकारण मौद्रिक नीति जारी भएपछिका ३ दिनमा नेप्से करिब ८० अंकले घट्यो ।’
यी विभिन्न कारणले लगानीकर्तालाई सेयर बजार सरकारको प्राथमिकतामा परेन कि भन्ने परेकाले उनीहरूको आत्मविश्वास बढ्न नसकेको ढुंगानाले जनाए । ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । उनीहरूले जोखिम लिन सकेनन्,’ उनले थपे ।
यससँगै नेप्से घट्ने क्रम सोमबार पनि जारी छ । जसअनुसार सोमबार नेप्से ३०.६७ अंकले घटेको छ । गत शुक्रबार करिब एक अंकले मात्र घटेको नेप्सेमा सोमबार उच्च अंकको गिरावट भएको हो । अघिल्लो दिनको तुलनामा सोमबार १.१७ प्रतिशतले घटेर समग्र परिसूचक ६५७०.१८ अंकमा ओर्लेको छ, यो करिब ७ महिना यताकै न्यून हो । यसअघि ९ पुस २०८२ मा नेप्से २ हजार ५ सय ८५.८७ अंकमा रहेको थियो । सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो ।
यस्तै, गत वैशाख मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय ९४ छ । सूचीकृत कम्पनीमध्ये १ सय ३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । १ सय ३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका छन् । वैशाख २०८२ मा सूचीकृत कम्पनीको संख्या २७१ थियो ।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५०.७ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा १७.५, लगानी कम्पनीको हिस्सा ६.९, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८, व्यापारिक संस्थाको हिस्सा ४.६, होटलको हिस्सा ३.३ तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत छ ।
