गत जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.९५ र गैरखाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत
काठमाडौँ —
वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्यवृद्धि दर पछिल्ला महिनामा उकालो लाग्न थालेको छ । सोही क्रममा गत जेठसम्म औसत मूल्यवृद्धि दर ५.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको जेठको तुलनामा यस वर्षको सोही अवधिमा मूल्यवृद्धि दर २.५ प्रतिशत विन्दुले बढी हो । गत वर्षको जेठमा यस्तो मूल्यवृद्धि दर २.७२ प्रतिशत थियो ।
२०८२ असारदेखि मंसिरसम्म मूल्यवृद्धि दर एकदेखि दुई प्रतिशत हाराहारीमा थियो । पुसदेखि लगातार बढ्न थालेको मूल्यवृद्धि वैशाखमा ५.०४ प्रतिशत पुगेको थियो । जेठमा थप अकासिएर ५.२२ प्रतिशत पुगेको हो ।
पछिल्ला महिनामा मूल्यवृद्धिको चुनौती बढ्दै गएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । आपूर्तिजन्य कारणले मूल्यवृद्धिमा दबाबमा देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल्सिनाले स्वीकार गरे । ‘एक साताअघि मौद्रिक नीतिसँगै जारी बृहत् अर्थतन्त्रसम्बन्धी प्रतिवेदनको आर्थिक परिदृश्य उल्लेख भएझैं पछिल्ला महिनामा आपूर्तिजन्य कारणले मूल्यमा केही दबाब देखिएको छ,’ उनले भने,
‘बाह्य सूचकहरू थप बलियो हुँदै गएका छन् भने रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेकाले बजारमा निक्षेप बढेको छ । यसले तरलता व्यवस्थापनमा थप चुनौती देखिन्छ ।’ यद्यपि मौद्रिक नीतिमा जारी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि तरलता बिस्तारै उपयोग हुँदै जाने उनको भनाइ छ ।
राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार गत जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.३७ प्रतिशत छ । २०८२ जेठमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ०.५४ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.९४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को एघार महिनामा औसत मूल्यवृद्धि दर २.८९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा औसत मूल्यवृद्धि दर ४.२४ प्रतिशत रहेको थियो । ‘२०८३ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १७.४०, घिउ तथा तेलको १५.१०, माछा तथा मासुको ५.२६ र तरकारीको ४.१४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तर, दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.९३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८, यातायातको १५.३१, मदिराजन्य पेय पदार्थको ७.२०, शिक्षाको ५.५४ र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतले बढेको छ ।
यस्तै, चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठसम्म) मा मुलुकमा रेमिट्यान्स मार्फत २१ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको जेठसँगको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
गत वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । मासिक रूपमा हेर्दा जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ भित्रिएको छ । जेठ २०८२ मा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । ‘समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकले भनेको छ ।
गएको एघार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ६७ हजार २ सय ११ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५२ हजार ३ सय २४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।
यस्तै, मुलुकमा विदेशी मुद्रा सञ्चितिले हरेक महिना नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा गत जेठसम्म विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेको हो ।
असार २०८२ मा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को दस महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष कम्तीमा ७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको थियो ।
यस्तै, गत जेठमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा छ । २०८२ जेठमा चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा थियो । गएको ११ महिनामा २२ अर्ब ८२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब ७ करोड रहेको थियो ।
गएको ११ महिनामा बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप थपिएको छ । यो १०.३ प्रतिशतको वृद्धि हो । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप ८ प्रतिशतले बढेको थियो ।
गएको ११ महिनामा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ४० अर्ब ५७ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । यो ६.२ प्रतिशतको वृद्धि हो । यस वर्ष १२ प्रतिशतले कर्जा विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य थियो । पछिल्ला केही वर्षयता राष्ट्र बैंकले तय गरेको लक्ष्यको आधा मात्र कर्जा विस्तार हुँदै आएको छ ।
