नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार

१६ दिन पुग्यो पर्यटकको औसत बसाइ, दैनिक खर्च ३३ डलरमा सीमित

असार ३०, २०८३

सुरज कुँवर

Encouraging improvements in Nepal's tourism sector

काठमाडौँ — कोरोना महामारीपछिको मन्दीलाई चिर्दै सन् २०२५ मा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक 'नेपाल पर्यटन तथ्यांक-२०२५' अनुसार अघिल्लो वर्षको तुलनामा नेपालमा भित्रिने पर्यटकको संख्या र बसाइ अवधि दुवैमा वृद्धि भएको छ । तथ्यांकअनुसार २०२५ मा कुल ११ लाख ६२ हजार ३६५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो अघिल्लो वर्ष २०२४ को तुलनामा १.२९ प्रतिशतको वृद्धि हो । त्यस वर्ष ११ लाख ४७ हजार ५ सय ४८ जना पर्यटक भित्रिएका थिए ।  

आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाइ अवधिमा पनि परिवर्तन देखिएको तथ्यांकमा उल्लेख छ । २०२४ मा औसत बसाइ १३.३ दिन रहेकोमा २०२५ मा यो बढेर १६.३४ दिन पुगेको छ । बसाइ अवधि बढे पनि पर्यटकहरूको प्रतिव्यक्ति दैनिक खर्चमा भने केही गिरावट आएको छ । सन् २०२४ मा प्रतिपर्यटक दैनिक औसत खर्च ४०.८४ अमेरिकी डलर रहेकोमा २०२५ मा ३३.०८ डलरमा झरेको छ । यसले पर्यटकहरू लामो समय बस्न चाहे पनि उनीहरूको खर्च गर्ने क्षमता वा खर्च गर्ने उपयुक्त गन्तव्य/माध्यममा कमी आएको देखाउँछ ।

पर्यटकको दैनिक खर्च घटे पनि लामो बसाइ अवधिका कारण मुलुकको कुल वैदेशिक मुद्रा आर्जनमा भने वृद्धि भएको छ । २०२४ मा पर्यटन क्षेत्रबाट ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ आम्दानी भएकोमा २०२५ मा ४.७७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

नेपाल आउने पर्यटकहरूमध्ये सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको रहेको छ । प्रमुख देशहरूबाट भएको आगमनमा भारत २ लाख ९३ हजार, अमेरिका १ लाख १३ हजार, चीन ९६ हजार, बेलायत ५९ हजार, बंगलादेश ५८ हजार र अस्ट्रेलिया ५० हजार रहेका छन् । तथ्यांकअनुसार कुल पर्यटकहरूमध्ये ६०.२ प्रतिशत पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेका छन् । यसैगरी तीर्थयात्राका लागि १४.४, पदयात्रा तथा पर्वतारोहणका लागि १४.२ र बाँकी ११.२ प्रतिशत अन्य विविध प्रयोजनका लागि नेपाल आएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको भ्रमणतर्फ अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकहरूको पहिलो रोजाइमा परेको छ । जहाँ २०२५ मा मात्रै ३ लाख १३ हजार ५ सय ४९ विदेशी पर्यटक पुगेका थिए । दोस्रो स्थानमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा १ लाख ३ हजार ९ सय ४४ र सगरमाथा राष्ट्रिय निकुञ्जमा ४७ हजार ५ सय २४ पर्यटक पुगेका थिए ।

गत वर्ष गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने कुल पर्यटकको संख्या ११ लाख १३ हजार ६ सय ९६ पुगेको छ । जसमा आन्तरिक पर्यटकको संख्या ७ लाख २ हजार ९ सय १० र भारतीय पर्यटकको संख्या ३ लाख ६९ हजार ८ सय १७ रहेको छ ।

मन्त्रालयको प्रतिवेदनअनुसार सरकारले अनुमति लिनुपर्ने गरी तोकेका नियन्त्रित क्षेत्रहरूमध्ये गोरखा मनास्लु क्षेत्र पदयात्रीहरूको मुख्य आकर्षण बनेको छ । २०२५ मा मनास्लु क्षेत्रमा १४ हजार ७ सय २० जनाले पदयात्रा गरेका छन् । यसपछि माथिल्लो मुस्ताङमा ४ हजार १ सय ७८ र गोरखाकै चुम उपत्यकामा २ हजार ५ सय १३ जना पर्यटक पदयात्रा गर्दै पुगेका थिए । नियन्त्रित क्षेत्रहरूमा विशेषगरी अक्टोबर र अप्रिलमा अत्यधिक पर्यटकहरूले पदयात्रा गर्ने गरेको देखिन्छ ।

नेपाल आउने पर्यटकहरूमध्ये अझै पनि ठूलो संख्याले हवाईमार्ग नै प्रयोग गर्छन् । २०२५ मा कुल आगमनमध्ये ८७.३९ प्रतिशत (१० लाख १५ हजार ७ सय ३५) पर्यटक हवाईमार्गबाट र १२.६१ प्रतिशत (१ लाख ४६ हजार ६ सय ३०) पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएका थिए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully