कोलकाता बन्दरगाहमा बोरामा प्याकिङ गरेर उक्त मल नेपाल आउन करिब एक साता लाग्ने
पर्सा — कृषि सामग्री कम्पनीको ३० हजार टन डीएपी मल कोलकाता बन्दरगाह आईपुगेको छ ।यो मल आपूर्तिको टेण्डर पाएको भारतको आइपीएल कम्पनीले तेस्रो मुलुकबाट २ दिनअघि कोलकाता ल्याएको कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
कोलकाता बन्दरगाहमा बोरामा प्याकिङ गरेर उक्त मल नेपाल आउन करिब एक साता लाग्ने उनले बताए । बर्खे धानबाली सिजनमा डीएपी र युरिया मलको माग रहेको बेला आएको यो मलले धेरै राहत मिल्ने उनको दाबी छ ।
कूल ३० हजार टन डीएपी मलमध्ये करिब ११ हजार टन वीरगन्ज प्रादेशिक कार्यालयले पाउने उनले बताए ।बाँकी विराटनगर र भैरहवा प्रादेशिक कार्यालयले पाउने छन् ।
डीएपीपछि युरिया मल पनि एक साताभित्रै कोलकाता बन्दरगाह आइपुग्ने उनले बताए ।
