जसलाई धान रोप्दा मलको पिरलो हुँदैन

भरतपुरका चन्द्रप्रसाद अधिकारी र छविलाल न्यौपानेले रासायनिक मल, विषादी बिनै वर्षाैंदेखि प्रांगारिक विधिबाट खेती गरेर राम्रो उत्पादन गरिरहेका छन् ।

असार २८, २०८३

रमेशकुमार पौडेल

Those who do not worry about fertilizer shortages while planting rice

चितवन — भरतपुरका किसान चन्द्रप्रसाद अधिकारी र छविलाल न्यौपानेलाई योबेला धान रोप्ने चटारो छ । भरतपुर महानगरपालिका–१५ फुलबारी श्रीपुरका अधिकारीले साढे चार विघामा दुई/तीन दिनभित्र रोपाइँ सकिँदैछ । 
धान रोपाइँ र रोपो हुर्किँदा किसानलाई रासायनिक मल युरिया, डिएपी जोहो गर्न सकस हुने गरेको छ । तर अधिकारी र न्यौपानेलाई भने यसको पिरलो छैन ।

अधिकारीले रासायनिक मल, विषादी बिना प्रांगारिक खेती गर्दै आएका छन् । २०४६ सालदेखि उनी यसमा लागेका हुन् । सुरुसुरुमा गोबर मल, पिना र हरियो मल ढैचा, तिलको प्रयोग गरे पनि अहिले धानमा मल राख्नै नपर्ने भएको अधिकारीले बताए । मल राख्दै नराखे पनि कहिलेकाँही धान हर्लक्क बढेर ढल्ने समस्या छ । ‘मैले त धान रोपेपछि कुनै पनि खालको मल राख्ने गरेको छैन,’ अधिकारीले भने । 

धान काटेपछि चन्द्रप्रसादले तरकारी खेती गर्दछन् । त्यही तरकारी खेतीका लागि राखेको मलले धानलाई पनि पुग्ने उनले बताए । धानको बीउ राख्न ब्याडमा मात्रै गड्यौला मल राख्छन् । तरकारी खेतीका लागि कात्तिकमा खेतमा राखेको गड्यौला र गोबर मल, कुखुराको सुलीले धानलाई समेत राम्रो गर्ने उनले बताए । रासायनिक मल, विषादी नराखी माटोको उर्बरापन बचाउँदा फाइदा भएको उनले सुनाए । ‘उत्पादन पनि राम्रो छ । गाँजर र चुकुन्दर खेतीमा झार आएर धेरै समस्या पार्दछ । नभए अरु दुःख केही छैन,’ अधिकारीले भने । 

भरतपुर–२५ शुक्रनगरका छविलाल न्यौपानेले १६ विघा खेतमध्ये साढे १० बिघामा धान रोप्छन् । उनलाई पनि रासायनिक मल, विषादी जुटाउने धपडी छैन । न्यौपानलेले प्राङ्गारिक खेती सुरु गरेको १४ वर्ष नाघ्यो । धान रोप्दा मल चाहिन्छ । तर मल खोज्दै बजार भौतारिनु पर्दैन । ‘खेतमा ढैचा लगाएको छु । रोप्ने बेलामा ढैचासहित सर्लक्क खेत जोत्ने हो । हिलोमा कुहेपछि त्यही ढैचाले राम्रो मलको काम गर्दछ,’ न्यौपानले भने ।  उनले धान खेतमा तोरीको पिना धुलो बनाएर मलका रुपमा छर्दछन् । गाउँकै सहकारीको तेल मिलबाट धानका लागि भनेर उनले १५ क्विन्टल तोरीको पिना जुटाइसके ।

‘मलाई मल खोज्ने चिन्ता छैन । आली कान्ला ताछ्न र पानीको पालो मिलाउन जुटेको छु,’ न्यौपानेले भने । रासायनिक मल, विषादी बिना खेती नै हुन्न भन्ने मानसिकताले नेपाली किसानले प्रांगारिक खेती नगरेको उनले बताए । ‘हामीले सामान्य गोठ सुधार गर्‍यौं भने पनि गोठकै मलमुत्रले खेतीका लागि प्रशस्त पुग्छ । सरकारले त्यतातिर किसानलाई प्रोत्साहित गरोस्,’ न्यौपानेको आग्रह छ ।

प्रांगारिक कृषि फैलाउने अभियानमा संलग्न भइ किसानलाई तालिम पनि दिँदै आएका न्यौपानेले सरकारले रासायनिक मलमा दिने अनुदानको तुलनामा २० प्रतिशत बजेट मात्रै प्रांगारिक कृषिलाई प्रोत्साहन गर्न छुट्याए फलदायी परिणाम आउने बताउँछन् । गोठ सुधार गरेर राम्रोसँग गोबर र गहुँत (गाइभैंसीको मलमुत्र) प्रयोग गरे मलको अभावै नहुने उनको दाबी छ ।

राम्रोसँग व्यवस्थापन गरे एउटा बयस्क गाइभैंसीबाट डेढ विघा जमिनलाई पुग्ने मल उत्पादन हुने उनले सुनाए । चितवन जिल्ला प्रांगारिक संघका अध्यक्षसमेत रहेका फुलबारी श्रीपुरका चन्द्रप्रसाद अधिकारीले प्रोत्साहन नीति नहुँदा किसान अलमलमा परेको बताए । ‘झारले र किराले सताउँछ । उत्पादन कम हुन्छ भन्ने भ्रमले किसानहरु रासायनिक मल,विषादीको छर्न बाध्य छन्,’ अधिकारीले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully