रासायनिक मलको विकल्पमा पाल्पाका किसान

माटोको उर्वराशक्ति घटेको महसुस गर्दै पाल्पाका धेरै किसान रासायनिक छाडेर गोठेमल, हरियो मल र गड्यौला मलको विकल्प अपनाउन थालेका छन्।

असार २८, २०८३

माधव अर्याल

Farmers in Palpa turn to alternatives to chemical fertilizers

पाल्पा — पाल्पाका किसान केही वर्षयता रासायनिक मलको प्रयोग घटाउँदै गएका छन् । उनीहरु रासायनिकको विकल्पको खोजी गरेका हुन् । विशेषगरी जिल्लामा युरिया मलको प्रयोग घटाउँदै हरियो मल, गड्यौला मल, गोठेमल, झोल र जैविक मलको खोजीमा लागेका हुन् ।

रासायनिक मल प्रयोग गर्दै आएकाहरु पनि पछिल्ला वर्ष सहज उपलब्धता नभएपछि विकल्पमा लागेका हुन् । रासायनिक मलको प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको कृषिविज्ञको सुझावपछि कतिपय स्थानीय तहलेसमेत वैकल्पिक मलको प्रयोग बढाउन लगानी गर्न थालेका छन् । रासायनिक मलले माटोमा उर्वराशक्ति घटेको किसानले समेत अनुभव गरेपछि युरियाको अत्यधिक प्रयोगलाई कम गर्दै वैकल्पिक विधि अपनाउन थालेको कृषिविज्ञ सागर कार्की बताउँछन् । ‘किसान आफैं पनि माटोमा उर्वराशक्ति घटेको अनुभव गरेको पाएको छु,’ उनले भने, ‘त्यसैले अब गोठेमल कम पाइने भएकाले अन्य बैकल्पिक मलको खोजीमा लागेको देखिएको छ ।’ 

Farmers in Palpa turn to alternatives to chemical fertilizers

रिब्दीकोट गाउँपालिकाले रासायनिक मलको विकल्पमा किसानलाई झोल, जैविक र प्राङ्गरिक मल बनाउनेलगायतका काममा वार्षिक ३० लाख बढी लगानी गर्दै आएको छ । गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थामार्फत् कुसुमखोलामा रिब्दीकोट प्राङ्गरिक मल उद्योग स्थापना भएको छ ।

रिब्दीकोट गाउँपालिका, सहकारीमा आवद्ध किसान र सहकारीको गरी पब्लिक, प्राइभेट पार्टनरसीपको अवधारणा अनुसार प्राङ्गरिक मल कारखाना खोलेका हुन् । मलको मूल्य प्रतिकेजी २५ रुपैयाँ राखिएको छ । गाउँपालिका अध्यक्ष कार्कीले किसानले खेती गर्दा दैनिक मिहिनेत गर्दा पनि त्यस अनुसार उत्पादन नभएको भन्ने गुनासोलाई सम्बोधन गर्न प्राङ्गरिक मल कारखाना खोल्ने योजना बनेअनुसार खुलेको हो । स्थापनाकालमा ४५ लाख खर्च भइसकेको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेले पाल्पाको रिब्दीकोटमा गरेको परीक्षणले माटोमा अम्लीय र केही स्थानमा क्षारीयपन देखिएको थियो । पछिल्लो समयमा कृषिबालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएकाले प्रत्येक पालिकाले सानासाना यस्ता कारखाना खोल्न सक्ने प्राङ्गरिक मल उत्पादनका विज्ञ यमबहादुर दर्लामीले बताए । 

अमृतबुटी जैविक मल नाम दिइएको यसमा वनमारा, तितेपाती र पहाडी झारपात मिलाइएको छ । साथै बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सि वड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको विज्ञ दर्लामीले जानकारी दिए । यसमा नाइट्रोजन १ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास १ प्रतिशत, चिस्यान २५ प्रतिशत, पिएच ७ प्रतिशत रहेको छ । 

हरियो मलमा आकर्षण 
रासायनिक मल समयमा नपाउने समस्या भपछि दमकडा, केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, दोभानको झुम्साका किसानले हरियो मल उत्पादन गर्न थालेका छन् । तानसेन नगरपालिका–९ का ऋषिराज खनालले बस्तुभाउ पालनमा कमी हँदै आएपछि गोठे मलको अभाव भएकाले पनि हरियो मल उतपादन गर्नु परेको बताए । 

Farmers in Palpa turn to alternatives to chemical fertilizers

यहाँ धान उत्पादनका लागि ढैचा जातको हरियो मल उत्पादन गर्ने गरिएको हो । यो जातको घाँस धान रोप्नु २० दिनअघि छर्ने गरिन्छ । हरियो घाँस खेती गरेर मल बनाउने र खेतका आलीमा लगाएर बीउ निकाल्ने गरेका छन् । किसान बुद्ध बस्यालका अनुसार ५० देखि ७० रुपैयाँ प्रतिकिलोमा ढैचा घाँसको बीउ पाइन्छ । ढैचा छरेको २० देखि ३५ दिनसम्म सोही खेतमा नकाटीकन जोतेर दुई दिन पानी भिजाई राख्नुपर्छ । ढैचाको बोटले हावामा नाइट्रोजन खिच्ने काम गर्छ । त्यसैबाट जरामा पठाउने र धानबालीमा चाहिने नाइट्रोजन पुर्याउने काम गर्ने कृषिविज्ञ थमनबहादुर कार्कीले बताए । 

विकल्पमा गड्यौला मल
तानसेन–७ काजीपौवाका दिलबहादुर थापाले गड्यौला मल राखेर बिरुवा उत्पादन गर्दा राम्रो भएको अनुभव सुनाए । उनले दुई वटा ककपिटमा आफैं गड्यौलापालन गर्छन् । तरकारी उत्पादन भन्दा बिरुवा उमार्नका लागि यो मल धेरै राम्रो हुने उनको अनुभव छ । सधैं गोठेमल प्रयोग गर्नु भन्दा गड्यौला मल प्रयोग गर्दा उत्पादन राम्रो हुने उनले बताए । किसानले पछिल्ला वर्षमा गड्यौलाबाट तयार भएको भर्मी कम्पोष्ट मल प्रयोग गर्दै आएका छन् । सुरुमा बिरुवा उत्पादनका लागि गड्यौला मल प्रयोग गरेका उनले पछिल्लो वर्ष भने तरकारी उत्पादनमा प्रयोग गर्दै आएको रामपुर नगरपालिका–४ देवीस्थानका किसान दिलु मगरले बताए । 

किसानका अनुसार गड्यौला मल तानसेन–५ धरमपानीस्थित कुटु कृषि फार्मले उत्पादन सुरु गरेको छ । फर्मले उत्पादन गरेको मललाई तानसेनका एग्रोभेटले लग्ने गर्छन् । कतिपय किसान फर्ममै पुगेरसमेत खरिद गर्न थालेका छन् । उर्वराशक्ति फर्काउन व्यवसायिक गड्यौला खेती गरेर मल तयार गरेको फर्मकी संचालक भगवती पौडेल घिमिरेले बताइन् । घिमिरेले गड्यौला हुर्काउन १५ बढी पिट निर्माण गरेकी छन् । पिटबाहेक अलग्गै पनि मल उत्पादन गरिएको छ ।

Farmers in Palpa turn to alternatives to chemical fertilizers

६ वर्षअघि कपिलवस्तुबाट १ हजार ५ सय प्रतिकेजीमा २० किलो ल्याएर गड्यौला पाल्न सुरु गरेको उनले बताइन् । श्रीमान् सुविनको सहयोगमा उनले गड्यौला हुर्काउने र त्यसबाट मल तयार गर्ने गरेको उनले बताइन् । ३०० केजी गड्यौलाबाट उनले मासिक ३० क्विन्टल जति अर्गानिक भर्मी कम्पोष्ट मल तयार हुने गरेको छ ।

रासायनिक मल सन्तुलित रूपमा प्रयोग नगर्दा माटोको गुणस्तरमा प्रतिकूल असर पर्ने कृषि सामग्री कम्पनी पाल्पा शाखाकी प्रमुख सिर्जना पाण्डेयले बताइन् । उनका अनुसार युरियासँगै डिएपी र पोटासको सन्तुलित प्रयोग आवश्यक भए पनि अधिकांश किसानले आवश्यकताभन्दा बढी युरिया प्रयोग गरेका कारण समस्या बढेको हो । माटो परीक्षण गर्ने किसानको संख्या बढेसँगै युरिया मलको माग पनि घट्न थालेको छ ।

यसवर्ष पाल्पामा करिब १ हजार ५ सय ५० मेट्रिक टन युरिया, १ हजार मेट्रिक टन डिएपी र १ सय ५० मेट्रिक टन पोटास बिक्री गर्ने लक्ष्य राखिएको छ । हालसम्म १ हजार मेट्रिक टन युरिया, ४ सय ३६ मेट्रिक टन डिएपी र ८३ मेट्रिक टन पोटास बिक्री भएको छ । गत आर्थिक वर्ष २ हजार मेट्रिक टन युरिया बिक्री गर्ने लक्ष्य राखिए पनि १ हजार १ सय ८६ मेट्रिक टन माक्रै बित्री भएको थियो । त्यतिबेला ६ सय ३७ मेट्रिक टन डिएपी र ९२ मेट्रिक टन पोटास बिक्री भएको कम्पनीले जनाएको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully