‘शिलाजित’ संकलन गर्न जोखिमयुक्त भीरको यात्रा

जुम्लासहित कर्णालीका जिल्लामा भीर चढेर संकलन गरिने शिलाजित प्रशोधनपछि स्थानीयले लाखौं आम्दानी गर्न थालेका छन्, तर जोखिम र चुनौती यथावत् छन्।

असार २७, २०८३

डीबी बुढा

The perilous journey to cliffs for collecting 'Shilajit'

What you should know

जुम्ला — कर्णालीका हिमाली टाढाबाट हेर्दा कठोर देखिन्छन्। नाङ्गा चट्टान, अग्ला भीर र हिउँले ढाकिएका चुचुराले प्रकृतिको भव्यता मात्र होइन, संघर्षका कथा पनि बोकेका छन्। यही कठोर भूगोलको काखमा हजारौं वर्षदेखि प्रकृतिले जोगाएको एउटा कालो सम्पदा छ-शिलाजित।

कसैले यसलाई हिमालको पसिना भन्छन्, कसैले औषधीय गुणले भरिएको प्राकृतिक उपहार। तर जुम्लाका धेरै परिवारका लागि शिलाजित जीवन धान्ने आधार, घर चलाउने उपाय बनेको छ।

१५ जेठको बिहान चन्दननाथ नगरपालिका–३ शान्तिनगरका ६१ वर्षीय भक्तबहादुर कठायत घरबाट निस्किए। काँधमा न कुनै ठूलो झोला थियो आधुनिक उपकरण नै । थियो त वर्षौँको अनुभव, जोखिमसँग जुध्ने साहस र परिवारको जिम्मेवारी।

उनको गन्तव्य थियो मानिसको पाइला कमै पुग्ने हिमाली भीर। झन्डै दुईसातासम्म अग्ला चट्टान र साँघुरा चिराबीच शिलाजित खोज्दै बिताए। ३० जेठमा घर फर्कँदा शरीर थकित थियो, तर अनुहारमा सन्तोष झल्किन्थ्यो। कारण, उनले संकलन गरेको १० केजी शिलाजितले यस वर्ष १० लाख ८ हजार रुपैयाँ आम्दानी गराइदियो। यही कमाइले उनको परिवारको वर्षदिनको खर्च धान्नेछ। 'भीरमा झुन्डिँदा तल हेर्ने फुर्सद हुँदैन,' भक्तबहादुर भन्छन्, 'एउटा गल्ती भयो भने घर फर्किने बाटो नै सकिन सक्छ। तर घरमा परिवारको आवश्यकता सम्झँदा डरभन्दा जिम्मेवारी ठूलो लाग्छ।'

२०५६ सालदेखि शिलाजित संकलन गर्दै आएका उनी अहिले जुम्लाका अनुभवी संकलकमध्ये एक हुन्। दुई दशकभन्दा बढी समय हिमालका भीरमा बिताएका उनले कुन चट्टानको कुन चिरामा राम्रो शिलाजित पाइन्छ, कुन मौसम उपयुक्त हुन्छ र कसरी सुरक्षित रूपमा निकाल्ने भन्ने सीप अनुभवबाटै सिकेका छन्।

उनका अनुसार शिलाजित कच्चा रूपमा बेच्दा वास्तविक मूल्य पाइँदैन। प्रतिकेजी करिब ४२ हजार रुपैयाँमा बिक्री हुने शिलाजित सफाइ, प्रशोधन र प्याकिङपछि दोब्बरभन्दा बढी मूल्यमा बिक्री हुन्छ। यस वर्ष उनले संकलन गरेको १० केजी शिलाजित कच्चै बेचेको भए करिब ४ लाख २० हजार रुपैयाँ मात्रै हात पर्थ्यो। प्रशोधन गरेर बिक्री गर्दा त्यही उत्पादनबाट १० लाख रुपैयाँभन्दा बढी आम्दानी भयो। 'कर्णालीका प्राकृतिक उत्पादनलाई कच्चा पदार्थका रूपमा होइन, प्रशोधित उत्पादनका रूपमा बजारमा लैजान सकियो भने किसान र संकलक दुवैले राम्रो मूल्य पाउँछन्,' उनी भन्छन्।

यस वर्ष भक्तबहादुरसँगै पाँच जना अन्य संकलक पनि भीर उक्लिएका थिए। उनीहरूले पनि करिब १०–१० केजी शिलाजित संकलन गरी लाखौँ रुपैयाँ आम्दानी गरेका छन्। कृषि उत्पादनले मात्रै वर्षभरि जीविका धान्न कठिन हुने कर्णालीमा शिलाजित धेरै परिवारका लागि भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ। तिला गाउँपालिका–७ का दलबहादुर बुढाका अनुसार शिलाजितले धेरैको जीवन बदल्ने सम्भावना बोकेको छ। 'भीर चढ्न जति कठिन छ, त्यसको प्रतिफल त्यत्तिकै मीठो छ,' उनी भन्छन्।

शिलाजित जुम्ला, हुम्ला, मुगु र डोल्पाका अग्ला हिमाली भीरमा प्राकृतिक रूपमा पाइन्छ। हजारौं वर्षसम्म वनस्पति र खनिज पदार्थको प्राकृतिक प्रक्रियाबाट बनेको मानिने यो पदार्थ आयुर्वेदमा परम्परादेखि प्रयोग हुँदै आएको छ। स्थानीय रूपमा हाडजोर्नी दुख्ने, बाथ र शारीरिक कमजोरीमा दूधसँग मिसाएर सेवन गर्ने चलन छ। यद्यपि यसको प्रयोग चिकित्सक वा आयुर्वेद विज्ञको सल्लाहअनुसार गर्नुपर्ने सुझाव विज्ञहरूको छ।

अहिले जुम्लामा संकलित शिलाजित काठमाडौंसहित देशका ठूला सहरमा महँगो मूल्यमा बिक्री भइरहेको छ। व्यापारीहरूले भारतसम्म पनि निर्यात गर्दै आएका छन्। चन्दननाथ बहुउद्देश्यीय संस्थाले सञ्चालन गरेको अर्गानिक मिनी मार्केटले सात वर्षदेखि प्रशोधित र प्याकिङ गरिएको शिलाजित बिक्री गर्दै आएको छ। संस्थाका संचालक राजु बोहोराका अनुसार स्थानीय संकलकबाट शिलाजित खरिद गरी प्रशोधन गरेर बजारमा पठाउँदा संकलकले पनि तुलनात्मक रूपमा राम्रो मूल्य पाउने गरेका छन्। तर सम्भावनासँगै चुनौती पनि कम छैन।

शिलाजित संकलनका लागि स्पष्ट मापदण्ड छैन। जोखिम व्यवस्थापनका पर्याप्त उपाय छैनन्। गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सीमित छन्। अन्तर्राष्ट्रिय बजारमा पुग्न आवश्यक ब्रान्डिङ र प्रमाणीकरणको प्रक्रिया पनि कमजोर छ। त्यसैले ज्यानको जोखिम उठाउने संकलक अझै पनि बजारको सबैभन्दा कमजोर कडी बनेका छन्।

स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्र मिलेर दिगो संकलन, वैज्ञानिक परीक्षण, गुणस्तर प्रमाणीकरण, ब्रान्डिङ र निर्यात व्यवस्थापनमा लगानी गर्न सके शिलाजित कर्णालीको अर्थतन्त्रको नयाँ आधार बन्न सक्ने स्थानीयको विश्वास छ। विश्वभर प्राकृतिक र जडीबुटीजन्य उत्पादनप्रति बढ्दो आकर्षणका बीच हिमालको काखमा लुकेको यो कालोसुनले कर्णालीलाई नयाँ आर्थिक पहिचान दिलाउन सक्ने सम्भावना बलियो देखिने भक्तबहादुर बताउँछन् । 'हातमा लागेको शिलाजितको कालो रङ चट्टानको धुलो मात्र होइन। त्यो वर्षौँको संघर्षको छाप हो। चाउरी उमेरका मात्रै होइनन्, हिमालसँगको निरन्तर संघर्षका साक्षी पनि हुन्,' उनले भने, 'भीरबाट टिपेको प्रत्येक थोपा शिलाजितसँग परिवारको सपना गाँसिएको हुन्छ।' कर्णालीका चट्टानले आफूभित्र अमूल्य सम्पदा लुकाइरहेको उनी बताउँछन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully