नेपाली श्रमिकलाई भारतबाट वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावरमाथि विभागको कारबाही

विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई सचेत गराइयो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

असार २८, २०८३

होम कार्की

Department takes action against 159 manpower agencies sending Nepali workers abroad from India

काठमाडौँ — वैदेशिक रोजगार विभागले आफ्नो अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कारबाही गरेको छ। साथै विभागले मागेको विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई पनि सचेत गराएको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार २०८२ चैत १ गतेदेखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो । सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटाले मात्र विवरण उपलब्ध गराएका थिए। विवरण अध्ययनका क्रममा १५९ वटा कम्पनीले भारतीय विमानस्थलबाट पठाउन विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था उल्लंघन गरेको भन्दै विभागले १५९ कम्पनीलाई ऐनको दफा ५४ अनुसार पहिलो पटक सचेत गराएको जनाएको छ।

विभागले माग गरेको विवरण नबुझाउने ४३४ वटा म्यानपावर कम्पनीलाई पनि ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको छ। ती कम्पनीलाई पुनः विवरण पेस गर्न निर्देशनसमेत दिइएको छ।

यसैबीच, विभागले पटक–पटक ऐन, नियम तथा निर्देशन उल्लंघन गर्ने आठवटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।भारतबाट अनुमतिबिना उडान गराउने तथा विभागले मागेको विवरण नपठाउने कसुरमा ग्रान्ड सुइट जब, मास हृयुमन रिसोर्स, नुन रिसोर्स, एपेक्स एचआर कन्सल्टेन्सी, टेस्ला ओभरसिज, सुनागुवा इन्टरनेसनल, एलाइड इन्टरनेसनल म्यानपावर र अञ्जली ओभरसिज सर्भिसलाई जरिवाना गरिएको विभागले जनाएको छ।

विभागले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था कार्यान्वयन गराउन अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।अनुमति नलिई भारतका विमानस्थलमार्फत कामदार पठाउने प्रवृत्तिले कामदारको अभिलेख व्यवस्थापन, सुरक्षा तथा निगरानी प्रणालीमा असर पार्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी बढाइएको विभागको भनाइ छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully