सेप्टेम्बरमा ‘अटोमेकानिका फ्रान्कफर्ट २०२६’

अटोमेकानिका फ्रान्कफर्ट २०२६ मा नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय साझेदारी र व्यवसाय विस्तारका अवसर लिई नेपाली व्यवसायी पनि सहभागी हुनेछन् ।

असार २६, २०८३

कान्तिपुर संवाददाता

‘Automechanika Frankfurt 2026’ in September

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी ‘अटोमेकानिका फ्रयांकफर्ट २०२६’ आगामी सेप्टेम्बर ८ देखि १२ सम्म जर्मनीको फ्रयांकफर्टस्थित मेसे फ्रयांकफर्ट प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ ।

अटोमोबाइल आफ्टरमार्केटको सम्पूर्ण शृंखलालाई समेट्ने यो विश्वकै प्रमुख अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीमध्ये एक हो ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विश्वभरका अटोमोबाइल निर्माता, स्पेयर पार्ट्स उत्पादक, वितरक, वर्कसप सञ्चालक, प्रविधि कम्पनी, सेवा प्रदायक तथा उद्योगसँग सम्बन्धित हजारौं व्यवसायी र विज्ञको सहभागिता रहने मेसे फ्रयांकफर्टले जनाएको छ ।

अटोमोबाइल बिक्रीपछिको सेवा, मर्मत–सम्भार, स्पेयर पार्ट्स तथा सम्बन्धित प्रविधिको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा केन्द्रित यो प्रदर्शनीले उद्योगका पछिल्ला प्रवृत्ति र भविष्यका सम्भावनालाई एकै मञ्चमा प्रस्तुत गर्नेछ ।

प्रदर्शनीमा विद्युतीय सवारी (ईभी), कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल डाइग्नोस्टिक्स, स्मार्ट वर्कसप समाधान, सफ्टवेयर–डिफाइन्ड भेहिकल, कनेक्टेड मोबिलिटी, दिगोपन तथा हरित प्रविधिलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा अटोमोबाइल पार्ट्स तथा कम्पोनेन्ट, मर्मत तथा मर्मतसम्भार उपकरण, ग्यारेज तथा वर्कसप प्रविधि, टायर तथा ह्विल, लुब्रिकेन्ट, कार वास तथा डिटेलिङ, बडी तथा पेन्ट, डिजिटल सेवा, एक्सेसरिज तथा कस्टमाइजेसनलगायत क्षेत्रका नवीनतम उत्पादन तथा समाधान प्रदर्शन गरिनेछन् ।

यसले नयाँ उत्पादन सार्वजनिक गर्न, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न तथा व्यापारिक साझेदारी विकास गर्न व्यवसायीलाई अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रदर्शनीअन्तर्गत ‘हाइटेक फर मोबिलिटी’ फोरम, ‘अटोमेकानिका पिटलेन’ (प्रत्यक्ष प्राविधिक प्रदर्शन क्षेत्र) तथा ‘एक्सपिरियन्स पार्क’ लगायतका विशेष कार्यक्रम सञ्चालन गरिनेछन् ।

यी कार्यक्रममार्फत अत्याधुनिक अटोमोबाइल प्रविधिको प्रत्यक्ष प्रदर्शन, उद्योग विशेषज्ञबीच छलफल, प्राविधिक प्रशिक्षण तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी अन्तरक्रियात्मक सत्र आयोजना गरिने आयोजकले बताएको छ । डिजिटल रूपान्तरण, स्वचालित प्रणाली तथा वातावरणमैत्री प्रविधिबारे पनि विशेष प्रस्तुति हुनेछ ।

आयोजकका अनुसार अटोमेकानिका फ्रयांकफर्ट उत्पादन प्रदर्शनको मञ्च मात्र नभई विश्वभरका उद्योगी, लगानीकर्ता, आयातकर्ता, वितरक तथा सेवा प्रदायकबीच व्यापार विस्तार, साझेदारी निर्माण र ज्ञान आदान–प्रदानको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्लाटफर्मका रूपमा स्थापित छ । 

‘Automechanika Frankfurt 2026’ in September

८० भन्दा बढी देशका ४४ सयभन्दा बढी प्रदर्शकले अटोमोटिभ आफ्टरमार्केटका लागि आविष्कारसँगै एआई, इलेक्ट्रोमोबिलिटी, डिजिटलाइजेसन र स्वायत्त ड्राइभिङले उद्योगलाई कसरी परिवर्तन गरिरहेको छ भनेर देखाउनेछन् ।

अटोमेकानिकाले नयाँ ढाँचा र अवसर प्रदान गर्दछ, जसले व्यापार मेलापछि पनि विश्वव्यापी नेटवर्किङलाई प्रोत्साहन गर्नेछ ।

सन् २०२४ मा आयोजित अटोमेकानिका फ्रयांकफर्टमा ७६ देशका ४ हजार १ सय ३२ प्रदर्शक सहभागी भएका थिए, १ सय ७२ देशका १ लाख ७ हजार ६ सय ७६ आगन्तुकले प्रदर्शनी अवलोकन गरेका थिए ।

त्यसमध्ये ८५ प्रतिशत आगन्तुकले सन् २०२६ को संस्करणमा पुन: सहभागी हुने इच्छा व्यक्त गरेका थिए ।

त्यस्तै ६० प्रतिशत प्रदर्शकले यसलाई आफ्नो उद्योगकै सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीका रूपमा मूल्यांकन गरेका थिए ।

उद्योगसँग सम्बन्धित ६३ प्रतिशत आगन्तुक निर्णयकर्ता तहका थिए भने ३२ प्रतिशत आगन्तुक ३० वर्षमुनिका युवा व्यवसायी तथा प्राविधिक थिए ।

विश्वका १६ देशमा अटोमेकानिका प्रदर्शनी आयोजना हुने भए पनि जर्मनीको संस्करण सबैभन्दा ठूलो रहेको नेपालका लागि मेसे फ्रयांकफर्टका आधिकारिक प्रतिनिधि तथा मेसे फ्रयांकफर्ट नेपालका प्रमुख विनोद मल्लले बताए ।

नेपाल अटोमोबाइल स्पेयर पाटर््समा आयातमा निर्भर रहेकाले नेपाली व्यवसायीका लागि यो प्रदर्शनी महत्त्वपूर्ण अवसर हुने उनको भनाइ छ ।

‘नेपालले अटोमोबाइल स्पेयर पार्ट्स पूर्ण रूपमा आयात गर्छ । अटोमेकानिका भनेको उत्पादक कम्पनी प्रत्यक्ष सहभागी हुने मञ्च हो,’ उनले भने, ‘नेपाली व्यवसायीले प्राय: दुबई, ग्वाङझाउलगायतका बजारबाट डिलर वा सोरुममार्फत सामान खरिद गर्छन् । तर अटोमेकानिकामा एउटै छानामुनि धेरै अन्तर्राष्ट्रिय उत्पादकसँग प्रत्यक्ष भेटघाट गर्न सकिन्छ ।’

प्रत्यक्ष रूपमा उत्पादकसँग कारोबार गर्न सक्दा आयात लागत घट्ने, प्रतिस्पर्धी मूल्यमा सामान उपलब्ध हुने तथा त्यसको लाभ अन्तत: उपभोक्तासम्म पुग्ने मल्लले जनाए ।

प्रदर्शनीमा अटोमोबाइलसम्बन्धी नयाँ प्रविधिबारे जानकारी लिन सकिने उनको भनाइ छ । यस वर्षको प्रदर्शनीमा नेपालबाट पनि व्यवसायी तथा अवलोकनकर्ताको सहभागिता रहनेछ । सन् २०२४ मा अटोमेकानिकामा नेपालबाट शून्य सहभागिता भए पनि २०२२ मा ४ वटा कम्पनी सहभागी थिए ।

कान्तिपुर

Link copied successfully