आगामी वर्ष नेपालमा विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन हुने

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले बुधबार महासंघमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

असार २५, २०८३

कान्तिपुर संवाददाता

The World Hindu Economic Forum conference to be held in Nepal next year

काठमाडौं — नेपालमा विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन आगामी वर्ष नेपालमा हुने भएको छ । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र विश्व हिन्दू आर्थिक मञ्च (डब्लुएचईएफ) बीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमझदारीपत्रमा नेपालमा सन् २०२७ मा सम्मेलन हुने उल्लेख छ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले बुधबार महासंघमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।   

समझदारीअनुसार नेपाललाई विश्वस्तरीय लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने, सातै प्रदेशका लगानीयोग्य सार्वजनिक–निजी परियोजनाको पहिचान तथा प्रवर्द्धन गर्ने, वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने तथा आर्थिक कूटनीतिलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार तथा व्यावसायिक साझेदारीको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।  

उनले सन् २०२७ मा नेपालमा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलन र आगामी लगानी सम्मेलनको सफलताका लागि यो सहकार्य महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै सम्मेलनअघि नेपालभित्र तथा विदेशमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरी ठोस लगानी प्रतिबद्धता जुटाइने बताए । ‘नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावनाहरू रहेका छन् । ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । यस समझादारीले नेपालका ती सम्भावनाहरूबाट लाभ लिन सहयोग पुग्ने विश्वास छ, ’ अध्यक्ष श्रेष्ठले भने ।

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले सम्मेलनले वैदेशिक लगानी आकर्षित गर्न, युवा उद्यमशीलताको प्रवर्द्धन गर्न तथा नेपालको आर्थिक विकासलाई नयाा गति दिन सहयोग पुग्ने बताएका छन् ।  

यस्तै विश्व हिन्दू इकोनोमिक फोरमका संरक्षक स्वामी विज्ञान आनन्दले नेपाल अथाह सम्भावना भएको मुलुक भएको उल्लेख गर्दै सम्मेलनका माध्ममबाट नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाको खोजी गर्न सकिने बताए ।

त्यसैगरी महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले यस फोरमका माध्यमबाट देशभरका उद्योगी–व्यवसायी, प्रदेश तथा जिल्ला तहका सदस्य संस्थालाई परिचालन गर्ने, लगानीयोग्य परियोजनाको पहिचानमा सहकार्य गर्ने, सरकार र निजी क्षेत्रबीच संवाद तथा नीतिगत सहजीकरणमा भूमिका निर्वाह गर्ने धारणा राखे ।  

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जिल्ला नगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा, विश्व हिन्दू इकोनोमिक फोरम नेपालका अध्यक्ष प्रदीपमान वैद्यलगायतले अन्तर्राष्ट्रिय सञ्जालमार्फत विश्वका लगानीकर्ता, उद्योगी, व्यवसायी तथा नीति निर्मातालाई नेपालमा ल्याउन सकिने र यसबाट नेपालमा बाह्‌य लगानी प्रर्वद्धन गर्नमा सहयोग पुग्ने बताए ।

समझदारीपत्रअनुसार फोरममार्फत पर्यटन तथा आतिथ्य, आध्यात्मिक तथा वेलनेस पर्यटन, पूर्वाधार तथा यातायात, शिक्षा तथा सीप विकास, कृषि तथा जडीबुटी प्रशोधन, ऊर्जा, सूचना प्रविधि तथा खानी तथा खनिजजस्ता प्राथमिकताका क्षेत्रमा लगानी प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।

कान्तिपुर

Link copied successfully