विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले प्रतिवादी बनाइएका सबैलाई बिहीबार सफाइ दिएको हो ।
काठमाडौँ — विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला सुनाएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले प्रतिवादी बनाइएका सबैलाई बिहीबार सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यकोषमा ठुलो नोक्सानी पुर्याएको अख्तियारले आरोप लगाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दामा संलग्न रहेका प्रतिवादीहरूविरुद्ध कुल ३३ करोड रुपैयाँ बिगो दाबी गरेको थियो।
प्रतिवादीहरू सुनिल पौडेल, संगीता पहाडी भन्ने संगिता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीवकुमार केसी, हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराईलगायतले सफाइ पाएका हुन्।
