मेसिनले फर्काउँदै छ खेतमा किसानको भरोसा

बेलौरीमा स्थानीय र संघीय सरकारको एक करोड रुपैयाँभन्दा बढी लगानी, श्रमिक अभावसँग जुध्दै कृषि यान्त्रिकीकरणमा फड्को ।

असार २४, २०८३

हरिश्चन्द्र बाग

Machines are restoring farmers' confidence in the fields

What you should know

कञ्चनपुर —  

खेत जोत्नेदेखि धान रोप्नेसम्म हरेक सिजनमा बेलौरीका किसानको एउटै चिन्ता हुन्थ्यो, मजदुर कहाँबाट ल्याउने ? गाउँमा काम गर्ने जनशक्ति घट्दै गयो, भएका मजदुरको ज्याला महँगिँदै गयो ।

खेती गर्ने खर्च बढेपछि कतिपय किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थाले भने केहीले खेतीको क्षेत्रफल नै घटाए । तर यसपालि दक्षिण कञ्चनपुरको बेलौरीमा खेतको दृश्य केही फरक देखिन थालेको छ । हलो र कोदालोको ठाउँ आधुनिक मेसिनले लिन थालेका छन् । किसानको हातमा प्रविधि पुगेपछि खेतीप्रतिको विश्वास मात्रै होइन, भविष्यप्रतिको आशा पनि फेरि पलाउन थालेको छ ।

यही परिवर्तनलाई गति दिन बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ८४ लाख रुपैयाँ बराबरका १७६ थान आधुनिक कृषि उपकरण कृषक, कृषक समूह तथा कृषि फर्मलाई हस्तान्तरण गरेको छ । नगरपालिकाको ४२ लाख रुपैयाँ र लाभग्राही किसानको बराबर साझेदारीमा खरिद गरिएका उपकरणले खेतीलाई श्रममा आधारित परम्परागत प्रणालीबाट प्रविधिमैत्री प्रणालीतर्फ लैजाने अपेक्षा गरिएको छ ।

यससँगै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरले बेलौरी नगरपालिका–२ टेडुवामा सञ्चालन गरेको धानको चक्लाबन्दी विकास कार्यक्रमअन्तर्गत करिब १७ लाख रुपैयाँ बराबरका आधुनिक कृषि यन्त्र, सिँचाइ सामग्री तथा उत्पादन सामग्री वितरण गरेको छ ।

सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममार्फत १५ हेक्टर क्षेत्रफलमा गुणस्तरीय धानको बीउ उत्पादन गर्ने लक्ष्य राखिएको छ । स्थानीय सरकारको यान्त्रिकीकरण अभियान र संघीय सरकारको बीउ उत्पादन कार्यक्रम एकै ठाउँमा जोडिँदा बेलौरीमा कृषि आधुनिकीकरणले नयाँ गति लिएको छ ।

नगरपालिकाले वितरण गरेका सामग्रीमा मोटर, पम्पसेट, मिनी टिलर, पावर टिलर, रोटाभेटर, कल्टिभेटर, चारचक्के पावर टिलर, रिपर, कम्बाइन मिल, लेजर ल्यान्ड लेभलर, पावर स्प्रेयर र ट्रेन्चरलगायत १७६ थान उपकरण रहेका छन् । यता राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत पावर टिलर, मिनी टिलर, धान थ्रेसर, रोटाभेटर, लेभलर, तीन वटा बोरिङ, छ थान विद्युतीय मोटर र डेलिभरी पाइप वितरण गरिएको छ । यी उपकरणले खेत तयारीदेखि सिँचाइ, रोपाइँ, गोडमेल र बाली भित्र्याउनेसम्मका कामलाई छिटो, सहज र कम लागतमा सम्पन्न गर्न सहयोग पुग्ने  बेलौरी नगरपालिका–५ का किसान प्रेमबहादुर चौधरी बताउँछन् ।

बेलौरी नगरपालिकाका कृषि विकास शाखा प्रमुख सुमनराज जोशीका अनुसार पछिल्ला वर्षमा कृषि क्षेत्रमा श्रमिक अभाव सबैभन्दा ठूलो चुनौती बनेको छ । 'खेती गर्ने बेला मजदुर पाइँदैन, पाइए पनि अत्यधिक ज्याला तिर्नुपर्छ । यस्तो अवस्थामा आधुनिक कृषि उपकरण नै किसानको मुख्य सहारा बन्न सक्छन् । उपकरणको प्रयोगले खेती समयमै सम्पन्न हुन्छ, उत्पादन लागत घट्छ र कृषिलाई व्यावसायिक बनाउन ठूलो सहयोग पुग्छ,' उनले भने ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, कञ्चनपुरका प्रमुख गोविन्दराज जोशीले चक्लाबन्दी प्रणालीलाई गुणस्तरीय बीउ उत्पादनको प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे । 'छरिएर खेती गर्दा गुणस्तर नियन्त्रण गर्न गाह्रो हुन्छ । एउटै क्षेत्रमा एउटै जातको धान वैज्ञानिक ढङ्गले उत्पादन गर्दा आधुनिक उपकरण प्रयोग गर्न सहज हुन्छ, लागत घट्छ र गुणस्तरीय बीउ उत्पादन गर्न सकिन्छ । त्यसैले चक्लाबन्दी कार्यक्रमलाई विशेष प्राथमिकता दिएका हौँ,' उनले भने ।

Machines are restoring farmers' confidence in the fields

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै नगरपालिकाले निरन्तर लगानी बढाइरहेको बताए । 'किसानको मेहनतलाई प्रविधिसँग जोड्न सकियो भने उत्पादन र आम्दानी दुवै बढ्छ । आधुनिक कृषि अब विकल्प होइन, आवश्यकता हो । त्यसैले नगरपालिकाले आगामी वर्षहरूमा पनि कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्नेछ,' उनले भने ।

कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएकी बेलौरी नगरपालिका–२ टेडुवाकी किसान सुनकुमारी चौधरीले आधुनिक उपकरण पाएपछि खेती गर्ने आत्मविश्वास बढेको बताइन् । 'पहिला रोपाइँको बेला मजदुर खोज्दै हिँड्नुपर्थ्यो । धेरै पैसा खर्च हुन्थ्यो । अहिले मेसिन पाएपछि समय पनि बच्ने भयो, खर्च पनि घट्ने भयो । महिलाले पनि सजिलै खेती गर्न सक्ने भएका छौँ । अब खेती गर्न झन् हौसला बढेको छ,' उनले भनिन् ।

बेलौरी नगरपालिका–२ टेडुवाका बीउ उत्पादन समूहका संयोजक शङ्कर चौधरीले केही वर्ष अघिसम्म किसानहरू आ–आफ्नै ढङ्गले खेती गर्ने गरेको स्मरण गर्दै अहिले चक्लाबन्दी प्रणालीले खेती गर्ने शैली नै परिवर्तन गरिदिएको बताए । 'पहिले खेत जोत्न, रोपाइँ गर्न र गोडमेलका लागि धेरै मजदुर चाहिन्थ्यो । अहिले आधुनिक उपकरण प्रयोग गर्दा छोटो समयमा धेरै काम गर्न सकिन्छ । लागत घटेको छ, कामको गुणस्तर पनि बढेको छ । सबै किसान मिलेर एउटै व्यवस्थापनमा खेती गर्दा उत्पादन पनि राम्रो हुनेमा हामी विश्वस्त छौँ,' उनले भने ।

अनुदानमा आधुनिक कृषि सामग्री पाएपछि किसानको दैनिकीमा आएको परिवर्तन पनि देखिन थालेको छ । बेलौरी नगरपालिका–४ की किसान कलावती जैसीले आधुनिक उपकरणले खेतीप्रतिको सोच नै बदलिएको बताइन् । 'पहिले खेती गर्दा खर्च मात्रै बढिरहेको जस्तो लाग्थ्यो । अहिले मेसिनले धेरै काम गर्न थालेपछि समय पनि बच्ने र उत्पादन पनि बढ्ने विश्वास पलाएको छ । किसानलाई यस्ता कार्यक्रमले ठूलो राहत दिएको छ,' उनले भनिन् ।

बेलौरी नगरपालिका–८ की किसान रमिता रानाले प्रविधिले महिलालाई पनि व्यावसायिक खेतीतर्फ अघि बढ्न सहज बनाएको बताइन् । 'पहिले धेरै कामका लागि अरूमाथि निर्भर हुनुपर्थ्यो । अहिले आधुनिक उपकरणका कारण महिलाले पनि धेरै काम आफैँ गर्न सक्ने भएका छन् । यसले खेतीप्रतिको आत्मविश्वास बढाएको छ,' उनले भनिन् ।

बेलौरी नगरपालिका–९ का किसान सुरेन्द्रप्रसाद भट्टले कृषि क्षेत्रमा बढ्दो श्रमिक अभावका बेला आधुनिक उपकरण किसानका लागि सबैभन्दा ठूलो राहत बनेको बताए । 'समयमै मजदुर नपाउँदा खेती ढिलो हुन्थ्यो । बालीको उत्पादनमा पनि असर पर्थ्यो । अहिले उपकरण पाएपछि त्यो समस्या धेरै हदसम्म समाधान हुने देखिएको छ,' उनले भने ।

बेलौरी नगरपालिका–५ का किसान प्रेमबहादुर चौधरीले कृषि यान्त्रिकीकरणका कार्यक्रमलाई एक पटकको अनुदानमा सीमित नगरी निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे । 'एक वर्ष उपकरण वितरण गरेर मात्रै हुँदैन । किसानलाई व्यावसायिक बनाउन यस्ता कार्यक्रम प्रत्येक वर्ष निरन्तर हुनुपर्छ । त्यसो भयो भने युवालाई पनि खेतीतर्फ आकर्षित गर्न सकिन्छ,' उनले भने ।

स्थानीय क्षेत्रमा 'कृषि वैज्ञानिक' का रूपमा परिचित बेलौरी नगरपालिका–६ का अगुवा किसान आसरेराम वडायकका अनुसार अहिले कृषि क्षेत्रको सबैभन्दा ठूलो चुनौती श्रमिक अभाव, बढ्दो उत्पादन लागत र खेतीप्रतिको घट्दो आकर्षण हो । 'अब कृषि यान्त्रिकीकरण विकल्प होइन, आवश्यकता हो । खेत तयारीदेखि रोपाइँ, गोडमेल र बाली भित्र्याउनेसम्मका सबै काम समयमै गर्न सकिए मात्रै किसानले नाफा कमाउन सक्छ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके बेलौरी मात्र होइन, समग्र कृषि क्षेत्रमै ठूलो परिवर्तन आउन सक्छ,' उनले भने ।

हरिश्चन्द्र

Link copied successfully