म्याद गुज्रेको खाद्यसामग्री प्रयोग गरेको फेला परेपछि न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई दुई लाख जरिवाना

अनुगमनका क्रममा बौद्धको बिरयानी किङ र न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टमा खाद्यवस्तुमा मरेको साङ्ला, म्याद गुज्रिएको सामान प्रयोग र कृत्रिम रङ भेटिएपछि विभागले व्यवसायीलाई जरिवाना, अखाद्य सामग्री नष्ट र सुधारका लागि निर्देशन दिँदै कारबाही गरेको छ । 

असार २४, २०८३

कान्तिपुर संवाददाता

Corner Point Restaurant on New Road fined Rs 200,000 after being found to be using expired food ingredients

What you should know

काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार र बौद्धमा रहेको बिरयानी किङमा अनुगमनका क्रममा अखाद्यवस्तु प्रयोग गरिएका खानेकुरा बेचेको फेला पारेपछि कारबाही गरेको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, कृत्रिम खाद्य रङको प्रयोग तथा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी भेटेपछि दुई व्यवसायीलाई जरिवाना, अखाद्य सामग्री नष्ट र सुधारका लागि निर्देशन दिँदै कारबाही गरेको छ ।

१९ असारमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा अनुगमन गरेको थियो ।अनुगमनका क्रममा रेस्टुरेन्टमा म्याद गुज्रिएको फ्रुट सिरप प्रयोग भइरहेको, पिज्जा बेस बनाउन प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा फ्रिजभित्र खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको थियो । 

अनुगमनका क्रममा प्रयोग भइरहेको तेलको टोटल पोलार मटेरियल (टीपीएम) २२ प्रतिशत मापन भएको थियो भने सरसफाइको अवस्था सामान्य रहेको उल्लेख गरिएको छ । टीपीएम बारम्बार प्रयोग भएको तेलको अवस्था मापन गर्ने सूचक हो । यसको मात्रा बढ्दै जाँदा तेलको गुणस्तर घट्दै जाने भएकाले विभागले तेलको प्रयोगमा सुधार गर्न निर्देशन दिएको जनाएको छ । विभागले त्यहाँ म्याद गुज्रिएको तथा पूर्ण लेबल विवरण नभएको 'स्वास' ब्रान्डका दुई बोतल फ्रुट सिरप तत्काल नष्ट गरेको जनाएको छ।

उक्त रेस्टुरेन्टलाई बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। साथै ३ दिनभित्र सबै कमजोरी सुधार गरी प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसअघि १८ असारमा विभागले उपभोक्ताले दिएको उजुरीका आधारमा काठमाडौं महानगरपालिकासँगको संयुक्त टोलीमार्फत काठमाडौंको बौद्धस्थित बिरयानी किङमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिरयानीमा कृत्रिम खाद्य रङ जथाभावी प्रयोग गरिएको भेटिएको थियो । त्यस्तै, २ प्याकेट म्याद गुज्रिएको चाउमिन र २ प्याकेट चाट मसला पनि फेला परेका थिए । विभागले म्याद गुज्रिएका सामग्री तथा कृत्रिम रङ मिसाइएको ५ किलोग्राम बिरयानी नष्ट गरेको जनाएको छ । साथै आगामी दिनमा खाद्य उत्पादनमा कृत्रिम रङ प्रयोग नगर्न व्यवसायीलाई निर्देशन दिएको छ।

विभागले दुवै व्यवसायलाई देखिएका कमजोरी तत्काल सुधार गर्न र आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधिमाथि नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिने जनाएको छ । 

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले दैनिक २/३ टोलीले बजार अनुगमन जारी राखेको बताइन ।उनले विभाग मातहत रहेका ७ प्रदेशका ८ वटा कार्यालय, विभिन्न जिल्लामा रहेका २२ वटा डिभिजन कार्यालयबँट पनि बजार अनुगमन जारी रहेको बताइन् । विभागबाहेक स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले पनि बजार अनुमगन गर्छन् ।

कान्तिपुर

Link copied successfully