प्रधानमन्त्रीसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राख्ने प्रतिबद्धता

प्रधानमन्त्रीसँगको भेटवार्तामा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शबाट अध्यक्षसहित दुई दुई जना पदाधिकारी सहभागी थिए ।

असार २४, २०८३

कान्तिपुर संवाददाता

Meeting between the Prime Minister and representatives of the private sector, commitment to put the private sector in the 'driving seat'

What you should know

काठमाडौं — प्रधामन्त्री वालेन्द्र शाहले निजी क्षेत्रको साथमा अर्थतन्त्रमा सुधार गर्न चाहेको बताइएका छन् । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शका प्रतिनिधिहरुसँग बुधबार भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निजी क्षेत्र र प्रधानमन्त्रीबीचको भेटवार्ता भर्खर सकिएको छ । करिब डेढघण्टा चलेको उक्त भेटमा निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपायलगायत विषयमा खुलेर छलफल भएको महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताए ।

‘प्रधानमन्त्री ज्यूले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर विद्यमान समस्या सुधार गर्न चाहेका बताउनु भएको छ । यसका लागि निजी क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ,’ अध्यक्ष क्षेष्ठले भने । भेटमा व्यवसायीले केही उद्योगी व्यवसायीलाई हिराससतमा राखेको, निजी क्षेत्र त्रासमा रहेको र आत्मविश्वास बढ्न नसकेको लगायत विषय पनि उठाएका थिए । त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री शाहले कसूरको आरोपका आधारमा केही उद्योगी व्यवसायीमाथि अनुसन्धान भए पनि समग्र निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको र थप लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अर्थतन्त्रका विद्यमान सबै समस्या समाधानका लागि सरकार तयार रहेको चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । ‘हामीले कर्जा प्रवाह बढ्न नसकेको, निजी क्षेत्रको आत्मविश्वास खस्किएको, लगानी बढ्न नसकेको, बैंकमा पैसा थुप्रिएको, उद्योग आधाभन्दा कम क्षमतामा चलेको, सेयर बजार लगातार ओरालो लागेकोलगायत विषय राखेका थियौं,’ उनले भने, ‘प्रधामन्त्रीले हाम्रो सबै कुरा राम्रोसँग सुन्नुभयो । हरेक विषयमा समाधानका लागि सुझाव पनि माग्नुभयो । प्रधानमन्त्री निजी क्षेत्रप्रति निकै सकारात्मक हुनुहुन्छ ।’ 

प्रधानमन्त्रीसँगको भेटवार्ता मा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्शबाट अध्यक्षसहित दुई दुई जना पदाधिकारी  सहभागी थिए ।

कान्तिपुर

Link copied successfully