बागमती प्रदेशमा सबैभन्दा बढी कारोबार वृद्धि देखिँदा मधेशमा भने गिरावट, सात वटै प्रदेशमा २.५ देखि १० आना प्लट नै बढी बिक्री भएको छ।
What you should know
काठमाडौँ — चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
कारोबारसँगै घरजग्गा कारोबारबाट संकलन भएको राजस्व समेत २३.७२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलन भएको पुँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर १८.३१ प्रतिशतले बढेको थियो । घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा (आवसीय घरजग्गा कर्जा सहित) ५.५५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा ७.५२ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गाको कुल कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो ।
कारोबार भएको कूल क्षेत्रफल १.६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको छ ।
अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको छ । समीक्षा अवधिमा घरजग्गाको कारोबार भएको कूल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ९.३३ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको राष्ट्र बैंकले जनाएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।
सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षमा मधेश प्रदेशमा २० आना भन्दा बढीका प्लटहरुमा सबैभन्दा धेरै कारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो ।
