राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
काठमाडौँ — राष्ट्रिय सभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई राष्ट्रिसभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए ।
यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव राखेका थिए । खर्च कटौतीका प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।
यसैबीच राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पारे ।
यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु रामकुमारी झाक्री, प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिँदै आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
