मौद्रिक नीतिको वार्षिक समीक्षा : कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता व्यवस्थापन

वैदेशिक व्यापारमा कमी, सार्वजनिक एवं निजी निर्माणमा सुस्तता, घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता जस्ता विषयहरूमा देखिएका अन्योल आदिले समेत वित्तीय प्रणालीबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

असार २३, २०८३

कान्तिपुर संवाददाता

Annual Review of Monetary Policy: Low Credit Growth, Excessive Liquidity Management Under Pressure

What you should know

काठमाडौँ — विगतका वर्षमा जस्तै चालु वर्षमा पनि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि त्यो व्यवस्थापनका लागि दबाब परेको राष्ट्र बैंकले औल्याएको छ ।

आर्थिक वर्षमा २०८२/८३ को मौद्रिक नीतिको समिक्षा गर्दै राष्ट्र बैंकले आर्थिक गतिविधि अपेक्षित विस्तार नभएको एवं विगतमा प्रवाह भएका कर्जाको गुणस्तरसमेतका कारण निष्क्रिय कर्जा अनुपात वृद्धि भई बैंकको लगानी क्षमतामा ह्रास आइरहेको स्वीकारको छ ।

‘रेमिट्यान्स आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँदै जाने तर कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापन दबाबमा रह्यो,’ समीक्षामा भनिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनका क्रममा अर्थतन्त्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपरेको थियो । विश्व भूराजनीतिले निम्त्याएको व्यापार महसुलको प्रभाव, इजरायल– अमेरिका र इरानबीचको युद्धका कारण पेट्रोलियम पूर्वाधारमा भएको क्षति, स्ट्रेट अफ हर्मुज बन्द भई आपूर्ति श्रृंखलामा देखिएको अवरोध तथा इन्धनको मूल्यवृद्धि भई विश्व मुद्रास्फीतिमा परेको चापका कारण निरन्तर अनिश्चितता देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, नेपालमा ढिला भित्रिएको मनसुन तथा असोज महिनामा भएको अधिक वर्षाका कारण कृषि उत्पादनमा आएको कमी, २०८२ भदौ २३ र २४ को आन्दोलनपश्चात् उत्पन्न असहज परिस्थिति तथा निजी क्षेत्रको मनोबल कमजोर भई व्यवसाय विस्तार हुन नसक्दा समष्टिगत मागमा दबाब सिर्जना हुन गएको बताइएको छ ।

वैदेशिक व्यापारमा कमी, सार्वजनिक एवं निजी निर्माणमा सुस्तता, घरजग्गाको कित्ताकाट एवम् विद्युत् खरिद सम्झौता जस्ता विषयहरूमा देखिएका अन्योल आदिले समेत वित्तीय प्रणालीबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

कान्तिपुर

Link copied successfully