पाँच वर्षमा भित्रिए दुई दर्जन अन्तर्राष्ट्रिय होटल ब्रान्ड

तारेस्तरका होटल तथा रिसोर्टको संख्या ३ सय ३५, थप ४१ होटल तथा रिसोर्ट अनुमति प्रक्रियामा, तीमध्ये धेरैजसो अन्तर्राष्ट्रिय ‘होटल चेन’ साग सम्झौता गर्दै

असार २२, २०८३

सुरज कुँवर

Two dozen international hotel brands entered the market in five years

What you should know

काठमाडौँ — पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल भित्रिने क्रम उल्लेख्य बढेको छ । सन् २०२० यता मात्र दुई दर्जनभन्दा बढी त्यस्ता ठूला अन्तर्राष्ट्रिय ‘होटल चेन’ नेपाल भित्रिएका छन् । 

कोभिड १९ महामारी र त्यसयता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपाल भित्रिएका हुन् । पर्यटन विभागका अनुसार अहिले देशभर ४१ वटा नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन् । तीमध्ये धेरै अन्तर्राष्ट्रिय ‘होटल चेन’सँग व्यवस्थापन सम्झौताको तयारीमा छन् । विभागमा दर्ता रहेका तारेस्तरका होटल तथा रिसोर्टको संख्या ३ सय ३५ पुगेको छ ।

एक महिनाअघि संसारभर ९ हजार ८ सयभन्दा बढी होटल व्यवस्थापन गरिरहेको मेरियटका अध्यक्ष डेभिड मेरियट नै उपस्थित भएर तीन वटा प्रिमियम ब्रान्ड सञ्चालनको सम्झौता गरेका छन् भने उनले अन्य पूर्वाधारको भ्रमण पनि गरे । यो नेपालको होटल व्यवस्थापनको क्षेत्रमा निकै उच्चमध्येको एक भ्रमण थियो । ‘नेपालमा प्रचुर सम्भावना छ र हामी थप सेवा विस्तार गर्न चाहन्छौं,’ नेपाल भ्रमणका क्रममा डेभिडले कान्तिपुरसँग भनेका थिए । 

मेरियटअन्तर्गत अहिले काठमाडौंमा मात्र फेयरफिल्ड, मोक्सी, मेरियट काठमाडौं र अलफ्ट सञ्चालनमा छन् । अध्यक्ष डेभिडकै उपस्थितिमा चौधरी समूहसँगको साझेदारीमा मेरियटअन्तर्गतकै रिट्ज–कार्लटन र वेस्टिन सञ्चालन गर्ने सम्झौता भएको थियो । त्यस्तै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको लगानी रहेको होटलमा मेरियटकै लक्जरी कलेक्सन रहने निश्चित भएपछि डेभिडले लैनचौरमा निर्माणाधीन होटल भवनको निरीक्षण पनि गरेका थिए ।

Two dozen international hotel brands entered the market in five yearsहाल तीन ब्रान्डमा सेवा दिइरहेको एमएस समूहले नै जेडब्लु मेरियट पनि ल्याउने भएको छ । समूहका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार मेरियट नेपालमा प्रवेश गरेपछि अन्य व्यवसायीले पनि आफ्ना नयाँ होटल अन्तर्राष्ट्रिय ब्रान्डसँग आबद्ध गराउने प्रतिस्पर्धा बढेको छ । काठमाडौं मात्रै होइन, रूपन्देही, पोखरा, चितवन, जनकपुर, इटहरी, धनगढी, मुस्ताङ र धुलिखेलसम्म अन्तर्राष्ट्रिय होटल ब्रान्ड विस्तार भइरहेका छन् । हाल सञ्चालनमा रहेका, निर्माणाधीन तथा व्यवस्थापन सम्झौता भइसकेका परियोजनासहित उपत्यकामा करिब डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय होटल ब्रान्ड आबद्ध छन् । यीसहित कम्तीमा दुई दर्जनभन्दा बढी विदेशी ब्रान्ड नेपाली होटलको व्यवस्थापनमा आएका छन् । 

यी होटल विदेशी कम्पनीले निर्माण गरेका भने होइनन् । एमएस समूहका अध्यक्ष अग्रवालका अनुसार, लगानी, जग्गा र स्वामित्व नेपाली व्यवसायीकै हुन्छ । विदेशी होटल चेनले आफ्नो ब्रान्ड, अन्तर्राष्ट्रिय बिक्री सञ्जाल, व्यवस्थापन प्रणाली, सञ्चालन मापदण्ड र विश्वव्यापी ग्राहक नेटवर्क उपलब्ध गराउँछन् । त्यसबापत उनीहरूले व्यवस्थापन शुल्क, रोयल्टी तथा सेवा शुल्क लिन्छन् ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह अन्तर्राष्ट्रिय होटल ब्रान्डको नेपालमा चासो बढेको बताउँछन् । ‘पहिले विदेशी ब्रान्ड काठमाडौंमा सीमित थिए, अहिले नयाँ होटल परियोजना सुरु हुनासाथ कुन अन्तर्राष्ट्रिय ब्रान्ड ल्याउने भन्ने विषय पहिलो प्राथमिकता बन्न थालेको छ,’ शाह भन्छन् ।

काठमाडौंपछि रूपन्देहीमा विदेशी ब्रान्डको आकर्षण बढी देखिन्छ । भैरहवा र बुटवल क्षेत्रमा हायात रिजेन्सी, हायात प्यालेस, मेरियट, क्राउन प्लाजा, गोल्डेन ट्युलिप, क्राउन प्लाजा, रमादा, होलिडे इन लगायतका ब्रान्डले सेवा दिएका वा दिने तयारी गरेका छन् । 

२०५९ देखि हायात रिजेन्सी काठमाडौंमा सञ्चालन रहेकामा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेपछि पुनर्निर्माण गरेर सेवा सुचारु गर्ने तयारीमा छ । सोही आन्दोलनका क्रममा हिल्टन पनि क्षतिग्रस्त भएको छ । बेलायतमा मुख्यालय रहेको इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) ले पनि नेपालमा तीव्र विस्तार गरिरहेको छ । आईएचजी अन्तर्गत होलिडे इन, इन्टरकन्टिनेन्टल र क्राउन प्लाजा ब्रान्ड पर्छन् । 

काठमाडौंपछि रूपन्देहीमा विदेशी ब्रान्डको आकर्षण बढी देखिन्छ । भैरहवा र बुटवल क्षेत्रमा हायात रिजेन्सी, हायात प्यालेस, मेरियट, क्राउन प्लाजा, गोल्डेन ट्युलिप, क्राउन प्लाजा, रमादा, होलिडे इन लगायतका ब्रान्डले सेवा दिएका वा दिने तयारी गरेका छन् । एक समय काठमाडौंको सोल्टी होटल क्राउन प्लाजाअन्तर्गत सञ्चालन भएको थियो । अहिले भने सोल्टी आफ्नै नेपाली ब्रान्डमा सञ्चालन भइरहेको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंका अनुसार अहिले सोल्टीले नेपालका १० होटल तथा जर्मनीको फ्र्यांकफर्टमा रहेका दुई होटल आफ्नै ब्रान्डमा सञ्चालन गरिरहेको छ । 

उनका अनुसार सोल्टीले गत वर्षदेखि मेरियटको अटोग्राफ कलेक्सनको ग्लोबल बुकिङ प्लेटफर्म भने प्रयोग गरिरहेको छ । ‘यसले होटलको व्यवस्थापन गर्दैन, मेरियटका सदस्यले सोल्टी बुक गर्न र आफ्नो लोयल्टी पोइन्ट प्रयोग गर्न मात्रै पाउँछन्,’ उनले भने । 

आईएचजीले सुदूरपश्चिममा पनि प्रवेश गरिसकेको छ । धनगढीमा चौलानी समूहसँगको साझेदारीमा निर्माणाधीन पाँचतारे होलिडे इन सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डेड पाँचतारे होटल बन्ने तयारीमा छ । 

थाइल्यान्डको होटल समूह दुसित इन्टरनेसनलले नेपालमा दुई फरक ब्रान्डमार्फत उपस्थिति जनाएको छ । धुलिखेलस्थित हिमालयन रिसोर्ट दुसित थानीअन्तर्गत सञ्चालन भइरहेको छ । त्यस्तै, लाजिम्पाटस्थित ल्हासा होटल सन् २०२३ यता दुसित प्रिन्सेस ब्रान्डमा सञ्चालन भइरहेको छ । दुसित समूह थाई आतिथ्यता र अन्तर्राष्ट्रिय सेवा मापदण्डको संयोजनका लागि परिचित छ ।

भारतीय होटल समूह आईएचसीएल (इन्डियन होटल्स कम्पनी लिमिटेड) अन्तर्गतको ताज होटल्सले चितवनस्थित मेघौली सेराई सञ्चालन गरिरहेको छ । यसै समूहको भिभान्ता ब्रान्डले झम्सीखेलमा चौधरी समूह र एनई समूहको संयुक्त लगानीमा बनेको होटल व्यवस्थापन गर्दै आएको छ । 

काठमाडौंबाहिर क्षेत्रीय बजारलाई लक्षित गर्दै भारतकै क्लार्क्स होटल्स एन्ड रिसोर्ट्स, लेमन ट्री, मौर्य र एक्मी जस्ता होटल व्यवस्थापन कम्पनीले पनि नेपाली होटलसँग साझेदारी बढाइरहेका छन् । विन्डहम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रमाडा ब्रान्डले नेपालमा सेवा विस्तार गरिरहेको छ । काठमाडौंको ठमेल र धुम्बाराहीमा रमाडा सञ्चालनमा छन् । यससँगै इटहरीमा निर्माणाधीन रमाडा बाई विन्डहम बन्ने तयारीमा छ । 

Two dozen international hotel brands entered the market in five yearsफ्रान्सको लुभ्र होटल्स समूहअन्तर्गतको लक्जरी ब्रान्ड रोयल टुलिपको विस्तार पनि तीव्र छ । गत वर्षदेखि ग्वार्कोस्थित गुण समूहको होटल रोयल टुलिपअन्तर्गत सञ्चालनमा आएको छ । यही ब्रान्डअन्तर्गत चितवनमा पनि रिसोर्ट सञ्चालनमा छ भने जनकपुरधाम र भैरहवामा सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । त्यस्तै अमेरिकी बेस्ट वेस्टर्नले गौशाला र गोदावरीमा दुई होटल सञ्चालन गरिरहेको छ । 

यसैगरी, र्‍याडिसन होटल पहिलेदेखि नै नेपालमा सञ्चालनमा छ । अकोर समूहअन्तर्गतको मर्क्यॅरले पनि नेपाल प्रवेश गरेको छ । काठमाडौंको सुकेधारामा व्यवसायी अजित बस्नेत लगायतको लगानीमा मर्क्युर होटल सञ्चालनमा छ । कम्बोडियाबाट सुरु भएको सिन्टामणि अहिले यती समूहअन्तर्गतको शेर्पा हस्पिटालिटीसँगको साझेदारीमा मुस्ताङमा सञ्चालन भइरहेको छ ।

आईईजी समूहका अध्यक्ष अमृतरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिएपछि होटलले विश्वभरका लाखौं ग्राहकसम्म एकै पटक पहुँच पाउँछन् । ‘ब्रान्डिङ भएपछि होटल एउटा अन्तर्राष्ट्रिय बुकिङ नेटवर्कमा जोडिन्छ । एउटा इमेल वा अनलाइन प्रणालीमार्फत विश्वभरबाट बुकिङ आउन थाल्छ । त्यसले अकुपेन्सी बढाउँछ, कारोबार बढाउँछ र लगानीको जोखिम घटाउँछ,’ उनले भने ।

उनका अनुसार अहिले विश्वका ठूला होटल चेनहरू आफैं होटल बनाउनभन्दा स्थानीय लगानीकर्तासँग साझेदारी गर्न रुचाउँछन् । पर्यटन विभागका निर्देशक तथा होटल महाशाखा प्रमुख हिमाल गौतमका अनुसार विदेशी होटल ब्रान्ड र नेपाली होटलबीच हुने सम्बन्ध व्यवस्थापन सेवाको हो । सोही सम्झौताअनुसार उनीहरूले व्यवस्थापन शुल्क, कमिसन वा रोयल्टी लिन्छन् ।

फिचर

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully