डेढ महिनामा ५ हजार भारतीय पर्यटकले गरे कैलाश–मानसरोवरको दर्शन ।
What you should know
सुर्खेत — हुम्ला सदरमुकाम सिमकोटस्थित होटल विजयका सञ्चालक विजय लामासहित आधा दर्जन कर्मचारीलाई अहिले भ्याइनभ्याइ छ । कैलाश–मानसरोवर दर्शनमा जाने ४० देखि ६० जनासम्म भारतीय पर्यटकलाई दैनिक व्यवस्थापन गर्दा उनीहरूको व्यस्तता बढेको हो । ‘तीर्थयात्री आउन थालेको बल्ल एक महिना पुग्यो, अझै ३ महिनासम्म सिजन चल्छ,’ उनले भने, ‘पर्यटकका लागि खाना–बस्नसहित अन्य बन्दोबस्तीको व्यवस्था गर्दा एकछिन पनि फुर्सद पाउन मुस्किल छ ।’
सिमकोटस्थित होटल पोतलामा पनि अहिले भारतीय तीर्थयात्रीबाहेक अरुले बास पाउन मुस्किल छ । ‘सेप्टेम्बरसम्मकै लागि बुकिङ आएको छ,’ होटल सञ्चालक मीनबहादुर तामाङले भने, ‘हामी जतिसक्दो पाहुनालाई सन्तुष्टि दिने प्रयासमा छौं, दैनिक ४० जनासम्म पर्यटकको खाना–खाजासहित बसाई व्यवस्थापन भइरहेको छ ।’ उनले जेठ पहिलो सातायता मात्रै झण्डै ८ सय पर्यटकलाई सेवा दिएको जानकारी दिए । होटलहरूको क्षमताअनुसार नै पर्यटन व्यवसायीले तीर्थयात्री पठाएकाले यसपालि तीर्थयात्रीलाई टेन्टमा भने बसाउनु नपरेको उनले जानकारी दिए । उनका अनुसार कोरोना महामारीअघिसम्म होटलमा पर्याप्त कोठा नहुॅदा तीर्थयात्रीलाई टेन्टमा बसाल्नुपर्ने बाध्यता थियो ।
अहिले सिमकोटमा यी दुईसहित ठूला लगानीका ८ वटा होटल भरिभराउ छन् । पर्यटकीय होटलहरू भारतीय पर्यटकले र साना होटलमा एयरलाइन्सका कर्मचारी, पर्यटन व्यवसायी, पर्यटक पथ प्रर्दशकलगायतले भरिभराउ भएको होटल व्यवसायी संघका अध्यक्ष मिम लामाले बताए । उनका अनुसार भारतीय पर्यटकलाई लक्षित गर्दै सिमकोटमा कैलाश, मानसरोवर, कर्णाली, हुम्ला, एलिसलगायत होटलहरूमा १ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानी गरिएको छ । चीन सीमास्थित हिल्सामा पनि एक दर्जन पर्यटकीय सुविधाका होटल खोलिएको छ । ती होटलहरूले एक दिनको बाससहित खाना–खाजाको लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज बनाएका छन् ।
अहिले नेपालगन्जका होटलमा पनि अरु यात्रुले बास पाउन मुस्किल छ । भारतीय पर्यटकलाई लक्षित गर्दै नेपालगन्ज र कोहलपुरमा दुई/दुईवटा चार तथा पाँचतारे होटल सञ्चालनमा छन् । बाँकी आधा दर्जन तीनतारे होटलमा पनि भारतीय तीर्थयात्रीको चाप बढिरहेको छ । दैनिकजसो ८० देखि एक सय भारतीय पर्यटकलाई आफ्नो होटलमा राखिरहेको सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले बताए । उनका अनुसार अहिले नै साउन अन्तिमसम्मका लागि होटल बुक भएका छन् । उनका अनुसार नेपालगन्जमा सिद्धार्थसहित होटल सोल्टी वेस्टेन्ड प्रिमियर, होटल स्टारलाइट, डाइमन्ड प्यालेस, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरको सेन्टर प्लाजालगायत होटल भरिभराउ भएका हुन् ।
भारतीय पर्यटकहरूले २०७२ सालको भूकम्पपछि हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन् । भूकम्पपछि बन्द भएको हुम्लाको तातोपानी नाका अझै खुलेको छैन । सडक मार्गबाट रसुवाको रसुवागढी हुँदै केरुङ गएर पनि मानसरोवर यात्रा गर्न सकिन्छ भने केही तीर्थयात्रीले चीनको ल्हासा भएर हवाई मार्गबाट पनि मानसरोवर यात्रा गर्ने गरेका छन् । पर्यटन व्यवसायीका अनुसार नेपालका अन्य ठाउँबाट मानसरोवर तीर्थयात्रा गर्न कम्तीमा १० दिन लाग्छ भने हुम्ला भएर ७ दिनमा पनि यात्रा टुंग्याउन सकिन्छ ।
कैलाश यात्रा सञ्चालक संघ (आक्टोन) का अनुसार भारतीय तीर्थयात्री लनखनउको बाटो भएर नेपालगन्ज हुँदै हुम्ला जान्छन् । ‘नेपालबाट सबैभन्दा नजिकको भारतीय विमानस्थल लखनउ हो, त्यहाँबाट नेपालगन्जको दूरी १ सय ९० किमि छ, जुन ३ घण्टामै यात्रा गर्न सकिन्छ,’ आक्टोनका अध्यक्ष विमल नहर्कीले भने, ‘नेपालगन्जबाट जहाजमार्फत सिमकोट गएर हेलिकोप्टरमार्फत चीन सीमाको हिल्सा पुगिन्छ, त्यहाँबाट १ सय ५ किमि दूरीको मानसरोवरको दूरी ४ घण्टामै पुरा गर्न सकिन्छ ।’ उनका अनुसार नेपालगन्जमा पहिलो दिन बसेका पर्यटकहरू दोस्रो दिन हुम्ला सदरमुकाम सिमकोट बास बस्छन् भने त्यहाँबाट हेलिकोप्टरमा चीन सीमास्थित हिल्सा पुगेर तेस्रो दिन मानसरोवर किनारको दार्चेन बेस क्याम्पमा बस्छन् । चौथो दिन झण्डै ६० किलोमिटर दूरीको कैलाश पर्वत पुगेर दर्शन गरी फर्किने गरेको उनले जानकारी दिए ।
‘हिँड्न सक्नेहरू कैलाश पुगेर ५२ किमि दूरीमा परिक्रमा गर्छन् भने अशक्तहरू दार्चेन बेस क्याम्पबाटै दर्शन गरी फर्किन्छन्,’ पर्यटन व्यवसायी विजय सिंहले भने, ‘त्यहाँबाट फर्केर अर्को दिन सिमकोट बास आउँछन् भने भोलिपल्ट नेपालगन्ज फर्केर बास बस्छन्, यो रुट छिटोमा ७ दिनमा पूरा हुन्छ ।’
आक्टोनका अनुसार यो वर्ष झण्डै २० हजार भारतीय पर्यटकले तीर्थयात्रा ‘बुकिङ’ गराएका छन् । यो वर्ष ३५ वटा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश—मानसरोवर दर्शनका लागि यात्राको प्रवन्ध मिलाइएको र ‘बुकिङ’ अझै जारी रहेको नहर्कीले जानकारी दिए । उनका अनुसार मानसरोवर जान मौसम, भूगोल, दूरी र खर्चका हिसाबले धेरै पर्यटकको आकर्षण हिल्सा नाकाबाट देखिएको छ ।
पर्यटकको चापका कारण समिट एयरलाइन्सका ३, सीताका २ र ताराको एउटा जहाज नेपालगन्जमै राखिएको छ । यो सिजनमा नेपालगन्जबाट सिमकोटका लागि जहाजले दैनिक २९ वटासम्म उडान भरेका छन् भने अहिले दैनिक कम्तीमा १० वटा उडान भइरहेको नागरिक उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए । उनका अनुसार पर्यटकलाई सिमकोटदेखि चीन सीमास्थित हिल्सा पुर्याउन सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश एयरका ६ वटा हेलिकोप्टर हुम्ला विमानस्थलमा राखिएको छ । ‘बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म उडान भइरहेका छन्,’ उनले भने, ‘जहाजको चापका कारण दैनिकजसो हवाइ ट्राफिक जाम हुने गरेको छ ।’
अहिलेसम्म हुम्लाको बाटो भएर ५ हजार १४ जना पर्यटकले कैलाश– मानसरोवरको दर्शन गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २ हजार ४ सय ८७ महिला र २ हजार ५ सय २७ पुरुषले मानसरोवर दर्शन गरेका हुन् । थप झण्डै ४ सय पर्यटकले सिमकोटमा बसेर मानसरोवर जाने पालो कुरिरहेको प्रहरीले जनाएको छ । यो वर्ष जेठ पहिलो सातादेखि भारतीय पर्यटकहरू कैलाश–मानसरोवर यात्रामा आउन थालेका हुन् । दैनिक ८० देखि ३ सय जनासम्म पर्यटकहरू हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर यात्रामा जाने गरेको पर्यटन व्यवसायी रन्जित लामाले बताए ।
भारतीय पर्यटकको चापले भरिया, पर्यटक पथपर्दशकदेखि जहाज र हेलिकोप्टरका कर्मचारीसमेत ब्यस्त बनेको पर्यटन व्यवसायी मिम लामाले बताए । उनका अनुसार जहाज कम्पनीहरूले भारतीय तीर्थयात्रीको चापका कारण झण्डै २५ जनालाई सामान लोड र अनलोड गर्ने रोजगारी दिएका छन् भने सिमकोट विमानस्थलमा दैनिक ५० जनासम्म भरियाले काम पाइरहेका छन् ।
तीर्थयात्री हुम्ला आउॅदा एक दिन र फर्कदा एक दिन गरी दुई दिन सिमकोट र जाॅदा एक दिन हिल्साका होटलहरूमा बस्ने गरेका छन् भने बाॅकी ३ देखि ४ दिन भने चीनमा बसोबास गर्छन् । हुम्लास्थित सिमकोटमा दुई दिन र हिल्सामा एक दिन बास बस्दा एक जना पर्यटकले कम्तीमा १० हजार ५ सय रुपैयाँको व्यापार गर्ने पर्यटन व्यवसायीको भनाइ छ । त्यस आधारमा अहिलेसम्म होटलहरूले मात्रै कम्तीमा ५ करोड २६ लाख रुपैयाँको अनुमानित व्यापार गरेको उनले जानकारी दिए ।
होटलहरूले मार्सीचामल, फापर, कोदोलगायतको स्थानीय परिकारहरूको मेनु बनाएका छन् भने स्थानीय तरकारीकै प्रयोग हुने गरेको छ । स्थानीय कृषिजन्य सामग्रीको खपत बढेपछि किसानलाई समेत फाइदा पुगेको होटल व्यवसायी संघका अध्यक्ष लामाले बताए । उनका अनुसार अहिले एक होटलले दैनिक ५० किलोसम्म ताजा तरकारी खपत गर्ने गरेका छन् । स्थानीय तरकारी एक सयदेखि दुई सय रुपैयाॅ प्रति किलोसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।
‘पर्यटकहरूले फर्केर जाँदा ओखर, सिमी, फापर, चिनो, कागुनो, मार्सीचामललगायत उपज कोसेलीका लागि लैजाने गरेका छन्,’ उनले भने, ‘स्याउको सिजन सुरु भएपछि त्यसले पनि भाउ र बजार पाउने आशा छ ।’ अहिले स्थानीय बजारमा ओखर प्रतिदाना १० रुपैयाॅमा बिक्री हुन्छ भने अन्य कृषि उत्पादन प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाॅमा किनेर पर्यटकहरूले लैजाने गरेका छन् ।
यो तीर्थयात्राले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको अर्का पर्यटन व्यवसायी छिरिङ लामाले बताए । भरियाको रुपमा सिमकोट विमानस्थलबाट होटलसम्म भारी बोक्नेहरूले समेत दैनिक ३ हजार रुपैयाॅसम्म कमाइ गर्ने गरेका छन् । ‘भरियाले एउटा झोला बोकेकै एक सयदेखि तीन सय रुपैयाँसम्म लिने गरेका छन्,’ उनले भने, ‘१० जना पर्यटकको भारी बोक्दा पनि एउटैले कम्तीमा ३ हजार रुपैयाँ कमाइरहेका छन् ।’
सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क संकलन गरेको छ । तीर्थयात्रीबाट सरसफाइ शुल्कबापत प्रतिव्यक्ति एक हजार एक सय रुपैयाॅ राजस्व संकलन गरिएको सिमकोट गाउॅपालिका अध्यक्ष विजय भण्डारीले बताए । उनका अनुसार अहिलेसम्म ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पर्यटन व्यवसायी तेन्जिन नोर्बुका अनुसार मानसरोवर दर्शनका लागि सबैभन्दा बढी दक्षिण भारतीय, गुजरात, महाराष्ट्र, उत्तर भारतबाट पर्यटकहरू आउने गरेका छन् । तीर्थयात्रामा आउनेहरू सबैभन्दा धेरै ५० वर्ष माथिका रहेको उनले जानकारी दिए । ‘विभिन्न सेवाबाट अवकाश पाएकाहरू र व्यापारीहरू बढी तीर्थयात्रामा आउने गरेका छन्, भारतीयहरू जीवनमा एकपल्ट कैलाश दर्शन गर्नैपर्नेमा विश्वास गर्छन,’ उनले भने, ‘रिटायर्ड भएकाहरूसॅग पैसा पनि हुन्छ र १० देखि १५ दिनको समय पनि, त्यसैले धेरै यही उमेर समूहका मानिसहरू धेरै तीर्थयात्रामा आउने गरेका हुन् ।’
तीर्थयात्रीहरू पनि लामो समयपछि मानसरोवर दर्शन गर्न पाएको बताउँछन् । भारतको उत्तरप्रदेशस्थित कानपुर देहातका ६७ वर्षीय नितिसकुमार बर्माले लामो समयपछि कैलाश दर्शन गर्न पाएको खुसी व्यक्त गरे । उनी गत सोमबार मानसरोवर दर्शन गरी हुम्ला हुँदै नेपालगन्ज पुगेका छन् । ‘पहिल्यैदेखिको इच्छा हो, तर कोरोना महामारीले दर्शन गर्न आउन पाइएन,’ उनले भने, ‘कैलाश दर्शनपछि साक्षात शंकरजीको दर्शन पाएको अनुभव गरे, कैलाश दर्शनले मोक्ष प्राप्ति भएको विश्वास छ ।’ उनकै यात्रा टोलीमा सहभागी उत्तरप्रदेशकै आग्राका ६६ वर्षीय मनोज पटेलले कैलाश दर्शनले आफ्नो जीवनमा सबैभन्दा ठूलो खुसी दिएको बताए । ‘भोलेनाथले हाम्रो मनोकांक्षा पूरा गरिदिनुहुनेछ भन्ने आशा छ, कैलाश दर्शनले स्वर्णिम आनन्दको अनुभूति भयो ।’
नोर्बुका अनुसार भगवान शिव कैलाश पर्वतमा विराजमान भएको विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । ‘मानसरोवर–कैलाश यात्रालाई आत्मशुद्धि, कर्ममोचन र मोक्षको प्रतीकको रूपमा महत्व दिइन्छ,’ उनले भने, ‘त्यसैले जीवनमा कम्तीमा एकपल्ट कैलाश दर्शन गर्नैपर्ने भारतीयहरूको विश्वास छ ।’ कैलाश—मानसरोवर यात्रामा आउने तीर्थयात्रीलाई विभिन्न राज्य सरकारले २५ हजारदेखि एक लाखसम्म अनुदानको व्यवस्था गरेका छन् । जसका कारण पनि भारतीयहरूको कैलाश—मानसरोवरमा आकर्षण बढेको उनले बताए । उनका अनुसार तेलङ्गना राज्यले २५ हजार, कर्नाटकले ५० हजार र उत्तर प्रदेशले १ लाख भारतीय रुपैयाॅ अनुदान दिने गरेका छन् ।
भारतीयहरूलाई यो तीर्थयात्राका लागि साढे २ लाखदेखि ३ लाख भारतीय रुपैयाॅसम्मको प्याकेज बनाइएको आक्टोनले जनाएको छ । संस्थाका अनुसार नेपालीलाई भने काठमाडौदेखि १ लाख ५० हजारसम्मको प्याकेजमा कैलाश भ्रमण गराइरहेको पर्यटन व्यवसायी सांगे लामाले बताए । उनका अनुसार चीन सीमास्थित हिल्साबाट पर्यटकहरू झण्डै ३० किलोमिटर दूरीको ताक्लाकोट (पुराङ) पुग्छन् भने पुराङबाट झण्डै ८० किलोमिटर दूरीको मानसरोवर लैजाने गरिएको छ । मानसरोवरबाट करिब ५० किलोमिटर टाढाको कैलाश बेशक्याम्प (धार्चेन) पुर्याइन्छ भने तीर्थयात्रीले समुद्र सतहदेखि ६ हजार ७ सय १४ मिटर उचाइको कैलाशको परिक्रमा गर्छन् । चीन, भारत र नेपालको सिमानाको कैलाश पर्वत पश्चिमी उत्तरमा त्रिभुज (पिरामिड) आकारको छ ।
कैलाश पर्वतको झण्डै ५३ किलोमिटरको फेदी परिक्रमा गर्न कम्तीमा एक दिनदेखि तीन दिन लाग्छ । एकै दिनमा घुम्न चाहनेका लागि घोडामा व्यवस्था गरिने लामाले जानकारी दिए । उनका अनुसार दार्चेनबाट सुरु भएको परिक्रमा यमद्वार-दिरापुक-जुथुलपुक-डोल्माला हुॅदै फेरि दार्चेनमा आएर टुंगिन्छ । मानसरोवर ताल र राक्षस तालको नजिक अवस्थित कैलाश पर्वतबाट चारवटा प्रमुख एसियाली नदीहरू सिन्धु, सतलज, ब्रम्हमपुत्र र कर्णाली बहन्छन् । उक्त पर्वत हालसम्म कसैले आरोहण नगरेको दाबी गरिएको उनले बताए ।
कैलाश दर्शन ॐकारपरिवार भित्रका सबै धर्मावलम्बीका लागि महत्वपूर्ण रहेको मानिने धार्मिक अभियान्ता खिमानन्द शर्माले बताए । उनका अनुसार बौद्ध धर्मावलम्बीहरूले थाङ्क रिम्पोचे, जैन धर्मावलम्बीले हिमालको देउता, बोनले ‘प्रिबुद्धिष्ट’को रुपमा पूजा गर्ने गरेका छन् । ‘हिन्दुहरू सहित बौद्ध, बोनलगायत धर्मावलम्बीहरू घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्छन,’ उनले भने, ‘जैनहरू भने एन्टिक्लकवाइज घुम्ने गरेका छन् ।’ उच्च हिमाली क्षेत्र भएकाले हिउँदको ३ महिना कैलाश पर्वतमा बाक्लो हिमपात हुन्छ भने चैत्र–वैशाखको समयमा भने हावाहुरी लाग्छ । जुनदेखि सेप्टेम्बर (जेठदेखि असोजसम्मको) समय दर्शनका उपयुक्त मानिन्छ ।
विभिन्न हिमाली बस्ती, मौसम र फरक जैविक विविधताको अनुभव गर्दै भ्रमण गरिने भएकाले मानसरोवर यात्रा आत्म–अनुशासन, संयम र समर्पणको अभ्यास पनि भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उनका अनुसार उचाइ, चिसो, थकान र कठिनाइबीच तीर्थयात्रीहरू मन्त्र, ध्यान र योगमार्फत शरीर र आत्मालाई सन्तुलनमा राख्ने प्रयास गर्छन् । ‘कैलाश मानसरोवर यात्रा उच्च हिमाली भेगको यात्रा आएकाले यो साहसिक पनि छ,’ उनले भने, ‘प्रतिकूल मौसमका कारण यो यात्रामा लेक लाग्ने र विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले जतिबेला पनि सतर्क रहनु जरुरी छ ।’ मौसमअनुकूल खाना र उपयुक्त बासस्थानको अभाव, टेलिफोन, इन्टरनेट, खानेपानी, शौचालयलगायतको असुविधाले पर्यटकलाई समस्या भएको उनको भनाइ छ । गत वर्ष ६ हजार ५ सय भारतीय तीर्थयात्रीले हुम्लाको बाटो भएर कैलाश–मानसरोवर दर्शन गरेका थिए ।
