विद्युत् उत्पादन लक्ष्यमा सरकारको अन्योल : ३० हजार कि २८ हजार ५०० मेगावाट ?

सरकारको नीति तथा कार्यक्रममा ३० हजार मेगावाट भनिए पनि रणनीतिमा २८ हजार ५०० मेगावाट छ । सरकारको सय दिने कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा शिक्षामन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा २८ हजार ५०० मेगावाटको लक्ष्यअनुरुप रणनीति तयार गरिसकेको बताएका छन् ।

असार २०, २०८३

सीमा तामाङ

Government's confusion over electricity generation target: 30,000 or 28,500 MW?

What you should know

काठमाडौँ — आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तयार गरेको 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' मा बिजुली उत्पादनको लक्ष्यमा ठूलो खाडल देखिएको छ । 

आगामी दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेको सरकारले १०० दिनको उपलब्धि सार्वजनिक गर्दा उक्त लक्ष्य १५०० मेगावाटले घटाएर २८ हजार ५ सय मेगावाटमा झारेको छ । सरकारको नीति तथा कार्यक्रम, रणनीति र मन्त्रीको सार्वजनिक अभिव्यक्तिले सरकार आफ्नै घोषित नीतिबाट पछि हटेको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ ।

Government's confusion over electricity generation target: 30,000 or 28,500 MW?

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गर्ने घोषणा गरेको थियो । 

Government's confusion over electricity generation target: 30,000 or 28,500 MW?

त्यसैगरी, वर्तमान सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो वाचापत्रको बुँदा ४४ मा आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने लक्ष्य लिएको उल्लेख गरेको थियो ।

तर, गत जेठ ७ मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वेबसाइटमा राखिएको 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' को मस्यौदामा भने अंक घटाइएको पाइएको थियो ।

Government's confusion over electricity generation target: 30,000 or 28,500 MW?

उक्त रणनीतिमा सन् २०३५ सम्ममा प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पुर्‍याउने र कुल जडित क्षमता २८ हजार ५ सय मेगावाट मात्र पुर्‍याउने लक्ष्य राखियो । जसमा करिब १३ हजार ५ सय मेगावाट आन्तरिक खपतका लागि र करिब १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना छ ।

मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले सरकारको लक्ष्य ३० हजार मेगावाट नै रहेको बताए । 'नीति तथा कार्यक्रममा ३० हजार मेगावाट भनेको छ । सरकारको लक्ष्य त्यही हो,' उनले भने, 'रणनीतिमा सम्बन्धित मन्त्रालयबाट सहमति माग गरिरहेका छौं । अन्तिम रुप लिइसकेको छैन । रणनीति मन्त्रिपरिषद्‌बाट  स्वीकृत हुने हो । अनि लागु हुन्छ ।'

तर, शनिबार आयोजित सरकारको सय दिने कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा शिक्षामन्त्री सस्मित पोखरेलले सन् २०३५ सम्म प्रतिव्यक्ति बिजुली खपत १५ सय युनिट पुर्‍याउने र कुल जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याई आन्तरिक खपत १३ हजार ५०० र १५ हजार मेगावाट निर्यात क्षमता विकास गरी द्विपक्षीय र उपक्षेत्रिय बजारमा नेपाललाई विश्वसनिय र स्वच्छ ऊर्जा आपूर्तिका लागि 'ऊर्जा खपत वृद्धि तथा रणनीति २०८३' तयार गरिसकेको बताए ।

सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाको बुँदा ७४ (क) मा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने भनिएको थियो । सोही कार्ययोजना अनुरूप रणनीति तयार गरिएको छ । Government's confusion over electricity generation target: 30,000 or 28,500 MW?

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully