सरकारको १०० दिन : के के हुन् पर्यटन मन्त्रालयका १० उपलब्धि ?

मन्त्रालयले हवाई टिकट बिक्री प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन नेपालमा सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीका टिकट अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत बिक्री गर्ने व्यवस्था लागू गरेको जनाएको छ ।

असार २०, २०८३

सुरज कुँवर

100 days of government: What are the 10 achievements of the Ministry of Tourism?

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन पूरा गरेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन, उड्डयन र सांस्कृतिक क्षेत्रका विभिन्न नीतिगत सुधार तथा सेवा प्रवाहका उपलब्धिहरू सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा हवाई सेवा र पर्यटन प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी, आरोग्य पर्यटन रणनीति कार्यान्वयन तथा सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा प्रगति भएको दाबी गरेको छ ।

मन्त्रालयले हवाई टिकट बिक्री प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन नेपालमा सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीका टिकट अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत बिक्री गर्ने व्यवस्था लागू गरेको जनाएको छ । यससँगै पर्वतारोहण अनुमति, राजस्व भुक्तानी, अनुमति प्रमाणपत्र, डिब्रिफिङ प्रतिवेदन तथा प्रमाणपत्र वितरणलगायतका सेवा पनि डिजिटल माध्यमबाट सञ्चालनमा ल्याइएको छ । होटल तथा क्यासिनोसँग सम्बन्धित अधिकांश प्रशासनिक सेवासमेत क्रमशः अनलाइन प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले दाबी गरेको छ ।

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर २०२६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरी फ्लाइ दुबईको समर र विन्टर सिजनको उडान तालिका स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ । यसलाई पोखरा विमानस्थल सञ्चालनको महत्त्वपूर्ण उपलब्धिका रूपमा मन्त्रालयले प्रस्तुत गरेको छ ।

पर्यटनको नयाँ सम्भावना विस्तार गर्न मन्त्रालयले 'राष्ट्रिय आरोग्य पर्यटन रणनीति (२०२६–२०३५)' र 'आरोग्य पर्यटन कार्ययोजना (२०२६–२०३०)' जारी गरेको छ । रणनीतिअनुसार सन् २०३० सम्म नेपाल आउने कुल विदेशी पर्यटकमध्ये ११ प्रतिशत आरोग्य पर्यटक पुर्‍याउने तथा २०३५ सम्म देशभर पाँचवटा एकीकृत आरोग्य पर्यटन केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ ।

यसै अवधिमा उदयपुरको कोशी नदी आसपास, अछामको रामारोशन, बाजुराको बडिमालिका, अपी हिमाल तथा दोर्दी हिमाल ट्रेकिङ मार्गलगायत नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

उड्डयन क्षेत्रलाई थप सुरक्षित र जिम्मेवार बनाउन मन्त्रालयले 'आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३' तर्जुमा गरेको छ । त्यस्तै दुर्गम क्षेत्रका यात्रुको आवागमन सहज बनाउन नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा एक–एक तथा लुम्बिनीमा दुई गरी पाँचवटा विद्युतीय बस सञ्चालनमा ल्याइएको छ ।

संरचनागत सुधारअन्तर्गत नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई गाभेर 'नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति' गठन गरी एकीकृत रूपमा सञ्चालन सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसबाट प्रशासनिक खर्च घट्नुका साथै तालिम र जनशक्ति विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

सांस्कृतिक सम्पदा संरक्षणतर्फ ऐतिहासिक रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरी चारकिल्ला निर्धारण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully