हिंसा प्रभावित र एकल महिलाले ऊनबाट बनाउँछन् एदेखि जेडसम्मका सामान

हिंसा प्रभावित र एकल महिलाले ऊनबाट एदेखि जेटसम्मका शैक्षिक सामग्री र अन्य हस्तकलाका वस्तु उत्पादन गरी रोजगारी र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउँदै आएका छन्।

असार १९, २०८३

दुर्गालाल केसी

Violence-affected and single women make everything from A to Z from wool

What you should know

दाङ — बालबालिकाले पढ्ने ए फर एप्पलदेखि जेट फर जेब्रासम्म चिनाउन किताबका चित्रहरु देखाउने गरिन्छ । कतिपय विद्यालयमा प्लाष्टिकका सामान देखाएर चिनाइन्छ । बालबालिकामैत्री र सिकाइमा सहजता ल्याउने उद्देश्यले घोराहीका महिलाले ऊनबाट ए देखि जेडसम्मका सामान बनाएका छन् ।

लैंगिक हिंसाबाट प्रभावित र एकल महिलाहरु जुटेर घोराही–१५ स्थित स्वप्न होजीयारी उद्योग तथा प्रशिक्षण केन्द्रमा बिभिन्न सामान निर्माण गरिरहेका छन् । अहिले होजीयारी उद्योगमा १५ जना महिलाले काम गरिरहेका छन् । उनीहरुले बालबालिकालाई सिकाउने बिभिन्न सामानका साथै बेबी फ्रक, टोपी, मोजा, पन्जा, हेयरवेन्ट, बेबी सेट, स्विटर, कुर्था सेट, पञ्जालगायत ५५ भन्दा बढी बस्तु उत्पादन गरिरहेका छन् ।

हिंसा प्रभावित महिलालाई आयआर्जनमा जोड्न होजीयारी उद्योग सञ्चालन गरेको सञ्चालक रचना सुवेदीले बताइन् । हातले बुनेका सामानमा मानवीय भावना र प्रेम मिसिने गरेको उनले बताइन् । ‘हातले बनाएका कारण यी सामानमा प्रेम मिसिएको हुन्छ । मनोवैज्ञानिक भावना जोडिएको हुन्छ,’ उनले भनिन्,‘डल सिलाउँदा दुख्छ कि जस्तो लाग्छ, बनाइसकेपछि दराजमा राख्दा उसलाई गाह्रो हुन्छ कि जस्तो लाग्छ ।’ हिंसा पीडित महिलालाई काममा भुलाएर तनाव कम गर्ने प्रयास पनि गरिएको उनले बताइन् । 

कतिपयले घरमै बसेर पनि सामान बनाउँछन् । मेसिन नचाहिने, हातकै सीपले बुन्ने भएकाले यो काम जता पनि बसेर गर्न सकिने सुवेदीले बताइन् । ऊनबाट बनेका सामान पटकपटक प्रयोगमा ल्याउन मिल्ने, धोएर सफा राख्न सकिने, बच्चाहरुलाई चोटपटक नलाग्ने र मनोरञ्जन पनि हुने उनले बताइन् । सुवेदीका अनुसार एउटा अक्षरको सामान बनाउन केही घण्टादेखि एक दिनसम्म लाग्ने गर्छ ।

ऊनका सामान स्वदेशका बिभिन्न भागका साथै विदेश पनि गैरहेको छ । मन्टेश्वरी स्कुल, कोसेली घर, स्थानीय बजार र संग्रहालयहरुमा बढी सामान जाने गरेको सुवेदीले बताइन् । करिब १० लाखको लगानीमा संचालन गरिएको उद्योगबाट वार्षिक २० देखि २५ लाखसम्मको कारोबार हुने गरेको उनले बताइन् ।

ह्यान्डमेड सामान भएकाले देशदेखि विदेशसम्म हस्तकलाको नमूनाका रुपमा बिक्री भैरहेको उनले बताइन् । ‘हस्तकला हाम्रो संस्कृति जोगाउने, रोजगारी बढाउने र आर्थिक विकासमा सहयोग गर्ने महत्वपूर्ण कला हो,’ उनले भनिन्,‘यही महत्व बुझेर सामानको माग बढेको छ । महिलाहरुलाई रोजगारी मिलेको छ ।’

लुम्बिनी प्रदेशका १ हजार २ सय बढी महिलालाई तालिम दिइसकेको र तीमध्ये अधिकांशले यस्तै रोजागारीको काम गरिरहेको सुवेदीले बताइन् । सिकेका महिलाहरुले उद्योगमा काम गर्न थाल्छन् । घोराही–१३ की चम्फा चौधरीले तीन वर्षदेखि उद्योगमा ऊनका सामान बनाइरहेकी छिन् । यसबाट उनको जीविका चलेको छ । बंगलाचुली गाउँपालिकाकी सम्झना पुन चार वर्षदेखि काम गरिरहेकी छिन् ।

सीप सिकेर रोजगारीमा जोडिएको र यसले आत्म सन्तुष्टि दिएको उनले बताइन् । ‘बालबालिकाका खेलौना बनाउन पाउँदा आनन्द महशुस हुन्छ,’ उनले भनिन्,‘हामीले बनाएका सामानबाट बालबालिकाले केही सिक्छन् भन्ने लाग्छ ।’
माण्डवी गाउँपालिका–२ प्युठानकी यमी पुन पनि चार बर्षदेखि काम गरिरहेकी छिन् । ऊनबाट सामान बनाउन सिकेपछि स्वरोजगार सिर्जना भएको उनले बताइन् । ‘खाली समय बिताउँदा अनावश्यक तनाव हुन्छ,’ उनले भनिन्,‘काममा लागेपछि दुःख बिर्सन्छ, कमाई पनि हुन्छ ।’

प्युठानकी थमी बाँठा मगर भर्खरै उद्योगमा सीप सिक्दैछिन् । उनी पनि अन्य दिदीबहिनी जस्तै आयआर्जन गर्ने योजना बनाएर उद्योगमा आएकी छिन् । उद्योग र प्रशिक्षण केन्द्र भएकाले नियमित सिक्न आउने र सिकेर काम गर्ने महिलाहरु एकसाथ बसेर एकअर्काबाट सिक्न पाउँछन्, दुःखसुख साट्न पाउँछन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully