कफीको उत्पादनभन्दा माग बढी, निर्यातमा उच्च मूल्य

४३ जिल्लामा फैलिएको कफी खेतीमा ३० हजारभन्दा बढी किसान आबद्ध छन् । कफी खेतीमा युवाको बढ्दो आकर्षण बीच शनिबार पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप भइरहेको छ ।

असार १९, २०८३

दीपक परियार

Demand exceeds coffee production, leading to high export prices

What you should know

पोखरा — कुनै समय गाउँघरका करेसाबारीमा थोरैथोरै लगाइने कफी अहिले नेपाली पहाडमा आम्दानीको राम्रो सम्भावना बनिरहेकाे छ । स्वाद र गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा ‘स्पेसियालिटी कफी’को पहिचान बनाएको नेपाली कफी अहिले स्वदेशमै पनि लोकप्रिय बन्दै गएको छ ।

कफी क्याफेको बढ्दो संस्कृति, युवापुस्ताको आकर्षण र सहज बजारका कारण कफी खेती अब अतिरिक्त आम्दानीको विकल्प मात्रै नभई व्यावसायिक कृषि उद्यमका रूपमा विस्तार हुँदै छ । यही बढ्दो सम्भावनालाई थप उजागर गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय, पोखराले आगामी शनिबार पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना गर्दैछ । ‘चिनौं, चाखौं, अपनाऔं, प्रवर्द्धन गरौं’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा देशभरका किसान, व्यवसायी, सहकारी, कफी विज्ञ र उपभोक्तालाई एउटै थलोमा ल्याउने तयारी गरिएको छ ।

नेपालमा कफी खेतीको इतिहास झण्डै ९ दशक पुरानो हो । विसं १९९५ मा सन्त हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेपछि यसको सुरुआत भएको मानिन्छ । रैथाने बाली नभए पनि कफी विस्तारै नेपाली किसानको आयआर्जनको माध्यम बन्यो । सुरुका वर्षमा प्रशोधन प्रविधिको अभाव र बजार नहुँदा किसानले धेरै संघर्ष गर्नुपरेको थियो । तर पछिल्ला वर्षमा अवस्था फेरिएको छ । अहिले व्यक्तिगत बगैंचासँगै व्यावसायिक स्टेट फार्मसमेत विस्तार भइरहेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार अहिले नेपालका ४३ जिल्लामा कफी खेती फैलिएको छ । ३० हजारभन्दा बढी साना तथा ठूला किसान यसमा आबद्ध छन् । मध्यपहाडी क्षेत्रको ८ सयदेखि १ हजार ६ सय मिटर उचाइसम्म शत प्रतिशत अरेबिका प्रजातिको कफी उत्पादन भइरहेको छ । अरेबिका विश्वकै उत्कृष्ट स्वाद र गुणस्तरका लागि परिचित जात हो । नेपालको उचाइ, हावापानी, माटो र अधिकांश स्थानमा अपनाइएको प्रांगारिक खेती प्रणालीले नेपाली कफीलाई विशिष्ट स्वाद दिएको विज्ञहरू बताउँछन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ५ हजार ५ सय १ हेक्टर क्षेत्रफलमा कफी खेती भएको थियो । त्यसबाट ६ सय ४२ मेट्रिक टन ‘ग्रीन बीन’ उत्पादन भएको बोर्डको तथ्यांक छ । त्यही अवधिमा नेपालले १४ करोड ४१ लाख रुपैयाँ बराबरको २ सय ३० मेट्रिक टन कफी आयात गर्दा ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ मेट्रिक टन कफी निर्यात गरेको छ । कुल उत्पादनको करिब १० प्रतिशत कफी विदेश पुगेको देखिन्छ ।

नेपाली कफी मुख्यतः जर्मनी, जापान, स्विजरल्यान्ड, दक्षिण कोरिया, बेलायत र अस्ट्रेलियाजस्ता मुलुकमा ‘माइक्रोलट’ कफीका रूपमा निर्यात हुँदै आएको छ । उत्पादन कम भए पनि नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा तुलनात्मक रूपमा उच्च मूल्य पाउँदै आएको बोर्डको भनाइ छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीका अनुसार स्वदेशमै पनि कफीको माग तीव्र रूपमा बढिरहेको छ । ‘पछिल्ला वर्षमा कफी क्याफेको संख्या उल्लेख्य रूपमा बढेको छ भने युवा पुस्तामाझ कफी संस्कृतिको विस्तार भइरहेको छ,’ उनले भने, ‘परिणामस्वरूप अन्तर्राष्ट्रिय बजारमा पाइने मूल्य अहिले आन्तरिक बजारमै प्राप्त हुन थालेको छ । यही कारण कफी खेतीप्रति युवाको आकर्षण पनि बढ्दै गएको छ ।’ नेपालमा प्रति केजी ७ सय ५० रुपैयाँ पर्ने कफी आयात हुने र यहाँबाट प्रति केजी २ हजार २ सय रुपैयाँ पर्ने कफी विदेश निर्यात हुने गरेको उनले सुनाए ।

गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवैमा अग्रस्थानमा रहेको उनले बताए । प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा कफी उत्पादन हुन्छ । कास्की, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र पर्वत प्रमुख उत्पादक जिल्ला हुन् । गत आर्थिक वर्ष प्रदेशभर १ हजार ४ सय ५१ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भई १ सय ५६ मेट्रिक टन ग्रीन बीन उत्पादन भएको थियो ।

खपतका हिसाबले बागमतीपछि गण्डकी दोस्रो स्थानमा छ । पोखरामा मात्रै १ हजार ५ सयभन्दा बढी कफी क्याफेमार्फत नेपाली कफी उपभोग भइरहेको तथ्यांकले देखाउँछ । यही कारण पोखरा पछिल्ला वर्षमा नेपाली ‘स्पेसियालिटी कफी’को प्रमुख ‘हब’का रूपमा स्थापित हुँदै गएको पुरी बताउँछन् ।

यही सम्भावनालाई थप प्रवर्द्धन गर्न आयोजना हुने राष्ट्रिय प्रदर्शनीमा देशका सबै प्रदेशबाट कफी उत्पादक, व्यवसायी, सहकारी, सरोकारवाला र उपभोक्ताको सहभागिता रहने आयोजकले जनाएको छ । बोर्डको मोलपाटनमा रहेको डुम्रिबोटस्थित क्षेत्रीय कार्यालयमा प्रदर्शनी हुनेछ ।

कार्यक्रममा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपका विजेतालाई सम्मान गरिने पुरीले जानकारी दिए । यसका साथै कफी नर्सरी तथा बगैंचा अवलोकन, उत्कृष्ट नेपाली कफीको निःशुल्क कपिङ, स्पेसियालिटी कफी ब्रुइङ, कफी बार उपकरण प्रदर्शनी, बीउदेखि कपसम्मको सम्पूर्ण मूल्य शृंखलाको प्रदर्शनी, कफीसम्बन्धी मनोरञ्जनात्मक खेल, गुणस्तर सुधारसम्बन्धी अन्तर्क्रिया र विज्ञबाट प्राविधिक परामर्शसमेत उपलब्ध गराइनेछ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।

राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपमा कफी सहकारी संघ लिमिटेड, ललितपुरले ८६.२५ अंकसहित पहिलो स्थान हासिल गरेको छ । महाभारत साना किसान कृषि सहकारी संस्था, काभ्रे ८६ अंकसहित दोस्रो भएको छ । ८४.७५ अंक प्राप्त गर्दै कोट थोक कफी उत्पादक कृषक समूह (गोरखा), महादेवटार धोग कृषि फर्म (काभ्रे) र गुल्मी कफी स्टेट प्रालि (गुल्मी) संयुक्त रूपमा तेस्रो भएका छन् ।

नेपाली कफीले अब विश्व बजारमा मात्रै होइन, आफ्नै देशमा पनि नयाँ पहिचान बनाइरहेको क्षेत्रीय निर्देशक पुरी बताउँछन् । उनका अनुसार यो प्रदर्शनीले किसानदेखि उपभोक्तासम्मलाई एउटै मञ्चमा जोड्दै नेपाली कफीको उत्पादन, गुणस्तर र बजार प्रवर्द्धनलाई थप गति दिनेछ । उनले भने, ‘नेपाली कफीको सम्भावना, स्वाद र गुणस्तरलाई विश्वसामु चिनाउने अभियानमा सबैको सहभागिताले कफी क्षेत्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरेका छौं ।’

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully