सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले ठोरी नाका मात्र नभइ जिल्लाका भिष्वा, धोरेलगायतका नाकामा पनि कडाइ गरिएको बताए ।
What you should know
पर्सा — पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका सवारी साधनमाथि सशस्त्र प्रहरीको बीओपीले कडाइ गरेपछि सयौं पर्यटक सीमामै रोकिएका छन् । ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाका अनुसार शुक्रबारदेखि ठोरीस्थित सशस्त्र प्रहरीको बीओपीले भारतीय नम्बरका मोटरसाइकल तथा चार पांग्रे सवारीसाधनलाई ठोरी प्रवेशमा पूर्ण रोक लगाएको छ ।
नेपाल प्रवेश गर्न नपाएपछि सीमा क्षेत्र ठुटेखोला पुलपारी भारतीय पर्यटकहरूको सवारी साधन रोकिएको छ । त्यहाँदेखि ठोरी बजार पुग्ने सार्वजनिक सवारी साधन छैन । जसका कारण ठूलो संख्यामा भारतीय पर्यटकहरू पुल पारी अलपत्र परेको थापाले बताए ।
भारतीय पर्यटकका सवारी साधन नेपाल प्रवेश गर्न नपाएपछि ठोरीका पर्यटकीय गन्तव्य तथा होटेल, रिसोर्टहरू सुनसान भएका छन् । यहाँको पर्यटन भारतीय पर्यटकमाथि नै निर्भर रहेको थापाले बताए । ठोरीको पर्यटन क्षेत्रमा ५० करोडभन्दा बढी लगानी भइसकेको अवस्थामा भारतीय पर्यटकका सवारी साधनमाथि रोक लगाइएपछि यहाँको पर्यटन व्यवसायी चिन्तित बनेका छन् । ठोरीको पर्यटकीय क्षेत्र मुश्किलले ४ किमी लम्बाइको दायरामा रहेको व्यवसायी थापाले बताए ।
यसबारे सशस्त्र प्रहरी पोष्टमा बुझ्दा भारतीय सवारी साधन नेपाल प्रवेश गर्न नदिन माथिबाट निर्देशन आएको जानकारी दिएको थापाले बताए । यसअघि पनि ठोरी नाकाको सञ्चालन र भन्सार व्यवस्थापनमा देखिएको समस्याले यस क्षेत्रको पर्यटन व्यवसायमा असर परेको थियो । पर्यटन-मैत्री नीतिको चर्चा भइरहेका बेला पर्यटकलाई सीमाबाटै फर्काउनुले पर्यटन प्रवर्द्धनको सरकारी नीतिमै प्रश्न उठेको उनले बताए ।
सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले ठोरी नाका मात्र नभइ जिल्लाका भिष्वा, धोरेलगायतका नाकामा पनि कडाइ गरिएको बताए । बिना इजाजत भारतीय सवारी साधन निर्वाध नेपाल प्रवेश गर्ने र कतिपय भारतीयहरूबाट सुरक्षा व्यवस्थामा समस्या आउने गरेकाले कडाइ गरेको उनले बताए ।
