पुँजी बजारको विस्तार तथा सुदृढीकरण गर्न स्टक ब्रोकरको आग्रह

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार धितोपत्र बोर्डका नवनियुक्त गोपालप्रसाद भट्टसँगको भेटमा बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन आग्रह गरेको छ ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Stockbrokers urge expansion and strengthening of capital market

काठमाडौँ — पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि काम गर्न स्टक ब्रोकर्स एसोसिएसनले नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार धितोपत्र बोर्डका नवनियुक्त गोपालप्रसाद भट्टसँगको भेटमा बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन आग्रह गरेको छ ।

भेटका क्रममा अध्यक्ष गोपालप्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले नेपाल सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका उद्देश्य र प्राथमिकताअनुरूप पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक सबै पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पुँजी बजारको दिगो विकासका लागि नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप सुदृढ बनाइने उल्लेख छ,’ ब्रोकर्स संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारको पारदर्शिता, सुशासन, लगानीकर्ताको हित संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत नेपालको पुाजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने दिशामा नेपाल धितोपत्र बोर्ड सक्रियतापूर्वक अघि बढ्ने एसोसिएसनको विश्वास छ ।’

सो अवसरमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष ढकालले पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार विस्तार तथा आवश्यक नीतिगत एवं संरचनागत सुधारका लागि एसोसिएसनले सदैव रचनात्मक सुझाव, सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटवार्ताका क्रममा नेपाल सरकारको बजेटले पुँजी बजारको विकासका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाा वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र पुाजी बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

भट्टको नेतृत्वमा बोर्डले पुँजी बजारको विकास र विस्तारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास अझ सुदृढ बनाउने तथा नेपालको आर्थिक विकासमा पुँजी बजारको योगदानलाई थप प्रभावकारी बनाउने एसोसिएसनको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully