सेयर बजारमा लगानीकर्ताको विश्वास बढाउन मर्चेन्ट बैंकरको माग

लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा लगानी वृद्धि नभएको र सेयर बजार निरन्तर घटिरहेकोप्रति लक्षित गर्दै मर्चेन्ट बैंकरहरूले बोर्डसमक्ष यस्तो आग्रह गरेका हुन् ।

असार १८, २०८३

कान्तिपुर संवाददाता

Merchant bankers demand to increase investor confidence in the stock market

काठमाडौँ — सेयर बजारमा लगानीकर्ताको विश्वास बढाउन मर्चेन्ट बैंकरहरूले धितोपत्र बोर्डसमक्ष आग्रह गरेका छन् । लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा लगानी वृद्धि नभएको र सेयर बजार निरन्तर घटिरहेकोप्रति लक्षित गर्दै मर्चेन्ट बैंकरहरूले बोर्डसमक्ष यस्तो आग्रह गरेका हुन् ।

नेपाल मर्चेन्ट बैंकर्स संघले बिहीबार बोर्ड अध्यक्ष गोपाल भट्टसँगको भेटमा पुँजी बजारका प्राथमिकतामाथि छलफल गरेको हो ।

भेटमा बोर्ड अध्यक्ष भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास संघको छ ।  अध्यक्ष भट्टले नेपाल मर्चेन्ट बैंकर्स संघसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए ।

छलफलमा नेपालको पुँजी बजारको विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयहरूमा विस्तृत छलफल भएको थियो । विशेषगरी म्युचुअल फण्ड, प्रारम्भिक सार्वजनिक निष्कासन तथा प्राइभेट इक्विटीसम्बन्धी विषयमा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा पुँजी बजारलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बजारमा पारदर्शिता, सुशासन तथा नियामकीय प्रभावकारिता अभिवृद्धि गरी लगानीकर्ताहरूको विश्वास सुदृढ बनाउने आवश्यकतामाथि पनि दुवै पक्षबीच जोड दिइयो,’ विज्ञप्तिमा भनिएको छ ।

संघ र सेबोन दुवैले नेपालको पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, समन्वय र निरन्तर संवादलाई थप सुदृढ बनाउादै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully