सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्।
What you should know
काठमाडौँ — सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकका अनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो।
बोर्डद्वारा जारी विज्ञप्तिअनुसार, गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो। यस वर्षको जुनको आगमन सन् २०१९ को तुलनामा पनि यो संख्या २२.०१ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ।
क्षेत्रगत रूपमा हेर्दा, जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) मुलुकहरूको रहेको छ। यस अवधिमा सार्क राष्ट्रबाट ४८ हजार २५४ पर्यटक आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो। चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ र थाइल्यान्डबाट ९८४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल आएका छन्। युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ तथा फ्रान्सबाट १ हजार २६७ पर्यटक नेपाल आएका छन्।
अमेरिका महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यसमध्ये संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ र ब्राजिलबाट २१९ पर्यटक नेपाल आएका छन्।
ओसियानिया क्षेत्रबाट ३ हजार ९० पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत तथा सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रबाट अष्ट्रेलियाका २ हजार ६९४ र न्यू्ल्यन्डका ३९० पर्यटक नेपाल आएका छन्। त्यस्तै, अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको सकारात्मक छविका कारण पछिल्ला महिनामा पर्यटक आगमन निरन्तर बढ्दै गएको बताए।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
