निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले निगमको व्यवस्थापकीय सुधार र रणनीतिक साझेदारीका लागि कम्पनीमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन्।
What you should know
काठमाडौँ — सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्ने प्रक्रियालाई अगाडि बढाउने भएको छ । निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले निगमको व्यवस्थापकीय सुधार र रणनीतिक साझेदारीका लागि कम्पनीमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री शाहले आगामी आर्थिक वर्षको वार्षिक बजेट वक्तव्यको नवौँ पृष्ठको १६ नम्बर बुँदालाई उद्धृत गर्दै शुभकामना सन्देशमा भनेका छन, 'नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ । यस योजनालाई सार्थकता दिन सरकारले चाँडै नै आवश्यक कदम चाल्नेछ ।'
प्रधानमन्त्रीले निगमभित्रको सुशासनको विषयमा समय–समयमा उठ्ने गरेका प्रश्नहरूप्रति सरकारको गम्भीर चासो रहेको स्पष्ट पारेका छन् । सरकारको सुशासन योजनाका मूल मर्महरूलाई ध्यानमा राखेर कार्यसम्पादन गर्न उनले निगम सम्बद्ध सबैलाई सचेत गराएका छन् । 'अहिले भइरहेका कामहरूलाई थप प्रभावकारी, चुस्तदुरुस्त, सेवाग्राही मैत्री र व्यावसायिक रूपमा आत्मनिर्भर गराउन आफ्नो कार्यशैलीमा सुधार गर्नुहुन विशेष जोड दिन चाहन्छु,' प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
वायुसेवालाई सुरक्षित, भरपर्दो र व्यावसायिक बनाउन सरकारले सूक्ष्म अध्ययन तथा विश्लेषण गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री शाहले देशको नेतृत्वदायी वायुसेवा संस्था हुनुको नाताले निगम आफैँले पनि सुधारको पक्षमा अग्रता लिनुपर्ने भनेका छन् । निगम सुधारका लागि सबैभन्दा पहिले भित्रका पदाधिकारी तथा कर्मचारीहरूले आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्नुपर्ने र त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थादेखि स्रोत साधनको व्यवस्थापनसम्मका लागि नेपाल सरकार सधैँ तयार रहेको उनले स्पष्ट पारेका छन् ।
वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शाहले निगमको उत्तरोत्तर प्रगतिको कामना गर्दै यस रूपान्तरणकारी प्रक्रियामा सरोकारवाला सबै पक्षबाट सकारात्मक भूमिकाको अपेक्षा गरिएको समेत उल्लेख गरेका छन् । निगमले बुधबार बिहान ६८ औं वर्षगाठका अवसरमा न्युरोडस्थित मुख्यालयमा प्रभातफेरी आयोजना गरेको थियो । प्रभातफेरिमा पर्यटन मन्त्री खडक राज पौडेल, पर्यटन सचिव मुकुन्द निरौला, सहसचिव जयनारायण आचार्य, निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेती लगायत थिए ।
