साउनभित्र सञ्चालन गर्ने आयोजनाको तयारी, काठमाडौं र धादिङ दुवैतर्फ टोल प्लाजा पनि निर्माण
What you should know
काठमाडौँ — निर्माण थालेको ७९ महिनामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सकिएको छ । ठेक्का लिने जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरेको छ । साउनभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी छ ।
४ कात्तिक ०७६ मा सुरुङको काम सुरु गरिएको थियो । सुरु सम्झौताअनुसार ४२ महिनाभित्र काम सक्नुपर्ने थियो । तर कोभिड, स्थानीय अवरोधलगायत विविध कारणले ढिला गरी सम्पन्न भएको हो । उक्त कम्पनीले गत जेठमा आयोजना हस्तान्तरण गरेको छ ।
सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले मर्मत सम्भार गर्नुपर्नेछ । सञ्चालनका लागि कर्मचारीलाई तालिम दिनेदेखि सफ्टवेयर जडान भइरहेको आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । ‘निर्माण कम्पनीले काम सकिसक्यो, अब सुरुङ हामीले जिम्मा लियौं,’ उनले भने, ‘उक्त कम्पनीका लागि त्रुटि सच्याउने अवधि एक वर्ष हुन्छ ।’
काठमाडौं र धादिङ दुवैतर्फ टोल प्लाजा निर्माण पनि सकिसकेको छ । ‘टोल प्लाजाको काम सकिएर त्यहाँ सफ्टवेयर जडान चलिरहेको छ,’ उनले भने, ‘साउनभित्र सञ्चालनका लागि कर्मचारीलाई सुरुङभित्र अभ्यस्त पार्ने काम भइरहेको छ ।’ धादिङतर्फ पहिरो व्यवस्थापनको काम पनि सकिसकेको उनको भनाइ छ ।
सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ । युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । सुरुङमार्गमा १ सय ५० जना कर्मचारी हुनेछन् । सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ । सञ्चालनको जिम्मा लिने कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल उठाउने, समग्र सुरुङ र २.८ किलोमिटरको काठमाडौं र धादिङ दुवैतिर जोड्ने पहुँच सडकको रेखदेख गर्नुपर्नेछ । सेवा प्रदायकले चौबीसै घण्टा सुरुङ सञ्चालन र व्यवस्थापन गर्नुपर्नेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई डिजिटल्ली भुक्तानी गर्ने व्यवस्था गरिने सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । भुक्तानीका लागि एन–ट्याग र आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) गेटको व्यवस्था गरिने उनको भनाइ छ । ‘जुन बैंकको एन–ट्याग लिँदै हुनुहुन्छ, त्यसको खाता छ भने त्यसैबाट पैसा गएर कार्डमा लोड हुन्छ, त्यो कार्ड गेटमा देखाउनेबित्तिकै गेट खुल्छ, किनकि कुनै पनि सवारीसाधनले सुरुङ प्रयोग गरेबापत तोकिएको शुल्क कट्ने व्यवस्था सिस्टममा गरिएको
हुन्छ,’ उनले भने, ‘यसका लागि बढीमा दुई हजार रुपैयाँसम्म डिपोजिट गर्नुपर्छ, जसका लागि विभिन्न ‘क’ वर्गका १३ वटा बैंकसँग कुरा भइसकेको छ, यसमा अन्य बैंकहरू पनि जोडिन सक्छन् ।’
सवारी चालकले एन–ट्याग अनिवार्य लिनुपर्ने उनले बताए । त्यस्तै गाडीको अगाडिको सिसामा स्टिकर टाँसेर आरएफआईडीमा स्क्यान गरेर पनि भुक्तानीको व्यवस्था गर्न लागिएको उनले बताए । यसका लागि काठमाडौं र धादिङ दुवैतर्फ आरएफआईडी गेटको व्यवस्था गरिनेछ । एक–दुईचोटि मात्र सुरुङ प्रयोग गर्नेका लागि आरएफआईडी, एन–ट्याग नहुने भएकाले क्यूआर कोड, फोन–पेको व्यवस्था गरिनेछ । यो काम सुरुङ सञ्चालनको जिम्मा पाउने सेवा प्रदायक कम्पनीले गर्नेछ । उसले उठेको टोल रकम प्रत्येक दिन सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क तोकिसकेको छ । जसअनुसार सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको अनुमान छ । मिनीबस–ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रिने र ४ सय ६ वटाको संख्यामा बाहिरिने अनुमान छ । बस, ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
यस्ता सवारी दिनको ७ सय ९४ भित्रिने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रिने र ४ सय ४८ बाहिरिने रहेको अनुमान छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ ।
यस्ता सवारीसाधनले सुरुङमार्गभन्दा बाहिर रहेको नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्न पाउनेछन् । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । समग्र रूपमा सुरुङ निर्माणमा जापानको साढे २१ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी भएको छ ।
