आरए ४३३/४३४ उडान फ्लाइट कन्ट्रोल प्रणालीमा समस्या आएपछि काठमाडौंमै रोकियो । नेपाल र जापान दुवैतर्फका यात्रुलाई निगमकै खर्चमा होटलमा राखिएको छ
What you should know
काठमाडौँ — नेपाल वायुसेवा निगमको काठमाडौं–जापान (नारिता) नियमित उडान मंगलबार राति प्राविधिक समस्याका कारण रद्द भएको छ। निगमले आफ्नो ६८औँ वार्षिकोत्सव मनाउनुभन्दा अघिल्लो रात भएको उडान रद्दमा दुवैतर्फका गरी ५ सय २ यात्रु प्रभावित भएका छन्।
निगमको आरए ४३३ नम्बरको उडानमार्फत २५५ यात्रु जापानको नारितातर्फ प्रस्थान गर्ने तयारीमा थिए । यात्रुलाई बोर्डिङ गराएर जहाज उडानका लागि अन्तिम तयारी भइरहेका बेला विमानमा प्राविधिक खराबी देखिएपछि उडान रद्द गरिएको हो । निगमका एक कर्मचारीका अनुसार विमानको फ्लाइट कन्ट्रोल प्रणाली मा समस्या देखिएपछि उडान स्थगित गरिएको हो । त्यसपछि काठमाडौंमा रहेका सबै यात्रुलाई राती विमानस्थलबाट होटलमा राखिएको छ ।
उता जापानको नारिताबाट काठमाडौं आउनुपर्ने आरए ४३४ नम्बरको फर्किने उडान पनि प्रभावित भएको छ। उक्त उडानका २४७ यात्रु लाई पनि जापानमै होटलमा बस्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
यो उडान निगमको वाइडबडी एयरबस ए३३० (९एन–एएलजेट) विमानबाट सञ्चालन हुने तालिका थियो। निगमसँग अर्को एउटा वाइडबडी विमान भए पनि त्यो दोहा सेक्टरमा नियमित उडानमा रहेकाले तत्काल वैकल्पिक विमान परिचालन गर्न सम्भव नभएको निगमका एक निर्देशकले बताए ।
निगमकी प्रवक्ता अर्चना खड्काले विमानको मर्मत कार्य भइरहेको र प्राविधिक समस्या समाधान भएपछि बुधबार प्रभावित यात्रुलाई जापान पठाइने जानकारी दिइन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबार आफ्नो ६८औँ वार्षिकोत्सव मनाइरहेका बेला अघिल्लो रात नै अन्तर्राष्ट्रिय उडान प्राविधिक कारणले रद्द हुन पुगेको घटनाले निगमको सञ्चालन क्षमता र वैकल्पिक जहाज व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ । एउटै वाइडबडी विमानमा समस्या आउँदा अर्को विमान अन्य गन्तव्यमा रहेकाले तत्काल विकल्प उपलब्ध गराउन नसक्दा सयौं यात्रुले सास्ती बेहोर्नुपरेको छ ।
