किसानहरू भन्छन- ‘सरकारको नियम मानेर सबै कुखुरा नष्ट गर्न सहयोग गर्यौं । अब राज्यले पनि वास्तविक क्षतिको मूल्यांकन गरेर राहत दिनुपर्छ, राहतले सबै घाटा नपुर्ला तर फेरि उठ्ने आधार भने बन्न सक्छ ।’
What you should know
काभ्रेपलाञ्चोक — ‘डेढ वर्षदेखिको मिहिनेत एकै झट्कामा सक्कियो । अब फेरि कहाँबाट र कसरी सुरु गर्ने भन्ने चिन्ताले रातभर निन्द्रा लाग्दैन ।’ यो पीडा हो पनौती नगरपालिका–७ सुकुम्बासी टोलका कुखुरापालक किसान राधेश्याम महाजुको हो ।
घरायसी प्रयोजनका लागि कुखुरा पाल्दै आएका महाजुले डेढ वर्षअघि ठूलो सपना बोकेर व्यावसायिक कुखुरापालन सुरु गरेका थिए । आण्डाका लागि करिब ७५० वटा कुखुरा र हाँस पाल्ने गरी १० लाख रुपैयाँसम्म लगानी गरेका थिए । व्यवसाय विस्तार गर्दै आत्मनिर्भर बन्ने सपना बुनेका उनी बर्डफ्लुका कारण सबै कुखुरा मरेपछि फेरि शून्यमा पुगेका छन् । फेरि व्यवसाय सुरु गर्ने कि नगर्ने भन्ने अन्योलमा छन् ।
उनले २०८२ फागुनदेखि सुरु गरेको व्यवसाय राम्रैसँग अघि बढिरहेको थियो । कुखुराले अन्डा दिन थालेका थिए । व्यवसायबाट आम्दानी बढ्ने आशा पलाएको थियो । तर केही दिनअघि एक्कासी कुखुरा मर्न थालेपछि त्यो आशा बिस्तारै निराशामा बदलियो । ‘सुरुमा एक–दुई वटा मात्रै मरे,’ उनले भने, ‘पछि संख्या बढ्दै गयो, हाँसहरू पनि कुनै लक्षण नदेखाइ मर्न थाले ।’ सुरुमा उनले स्थानीय औषधि खोजे । उपचारको प्रयास गरे पनि अवस्था सुधारिएन । त्यसपछि काठमाडौं पुगेर पशु चिकित्सकलाई नमुना देखाए । प्रारम्भिक परीक्षणपछि बर्डफ्लुको आशंका गरियो र थप परीक्षणका लागि उनले नमुना पठाए । रिपोर्टमा बर्डफ्लु संक्रमण पुष्टि भयो ।
उनका अनुसार रिपोर्ट आएलगत्तै सरकारी प्राविधिक टोली फार्ममा पुग्यो । संक्रमण फैलिन नदिन सबै कुखुरा र हाँस नष्ट गर्नुपर्छ भनेबमोजिम सबै प्रक्रिया पुराएर कुखुरा र हाँस नष्ट गरियो । ‘यस्तो अवस्था कहिल्यै भोगेका थिएनौं,’ उनले भने, ‘आम्दानी लिनुपर्ने बेलामा खोरै रित्तियो । आर्थिक रुपमा धेरै गाह्रो परेको छ ।’ उनका अनुसार, यसबाट करिब ४–५ लाख रुपैयाँ घाटा लागेको छ । ५ रोपनी जग्गा भाडामा लिएर ऋण काँढेर व्यवसाय गरेका उनलाई अब फेरि यहीँ व्यवसाय कसरी सुरु गर्ने भन्ने चिन्ता छ ।
०००
पनौती नगरपालिका–५ का माधवप्रसाद शर्मा तिवारीको कथा पनि फरक छैन । पहिलो पटक व्यावसायिक रुपमा लेयर्स कुखुरापालन सुरु गर्न उनले सहकारीबाट ८ लाख रुपैयाँ ऋण लिएका थिए । फार्म निर्माण, चल्ला, दाना, औषधि, खोप र व्यवस्थापनमा गरी करिब १३ लाख रुपैयाँ लगानीमा १६०० लेयर्स कुखुरा पुर्याएका थिए ।
महिनौंको मिहिनेतपछि कुखुराले अण्डा दिन थाले । उत्पादन ७० प्रतिशतसम्म पुगेको थियो । लगानी उठ्ने आशा पलाएको थियो । तर त्यही बेला बर्डफ्लु संक्रमणले कुखुरा मर्न थालेको उनले सुनाए ।
उनका अनुसार, सुरुमा ४ वटा कुखुरा मरे । सामान्य होला भनेर स्थानीय स्तरमै उपचार गरियो । तर लगातार कुखुरा मर्न थाले । थप परीक्षणका लागि पठाइएको नमुनाले बर्डफ्लु पुष्टि गरिदियो । संक्रमण पुष्टि भएपछि सरकारी टोली फार्ममा पुग्यो र सबै कुखुरा नष्ट गरेको उनले बताए । उनका अनुसार, करिब १४०० कुखुरा नष्ट गरिएको छ ।
‘समुदायको सुरक्षाभन्दा ठूलो केही हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले कुनै अवरोध गरेनौं तर आफ्नै मिहिनेतले हुर्काएका कुखुरा नष्ट गर्नुपर्दा निकै दुःख लाग्ने रहेछ ।’ उनको आर्थिक संकट यतिमै सीमित छैन । फाइनान्सको ऋण अझै बाँकी छ । दाना आपूर्तिकर्तालाई करिब ४ लाख रुपैयाँ र औषधि तथा खोप आपूर्तिकर्तालाई करिब २ लाख ५० हजार तिर्न बाँकी छ ।
‘सरकारको नियम मानेर सबै कुखुरा नष्ट गर्न सहयोग गर्यौं,’ उनले भने, ‘अब राज्यले पनि वास्तविक क्षतिको मूल्यांकन गरेर राहत दिनुपर्छ, राहतले सबै घाटा नपुर्ला तर फेरि उठ्ने आधार भने बन्न सक्छ ।’
०००
असार पहिलो सातादेखि असार १५ गतेसम्ममा पनौती नगरपालिका–९ का रविन विक, भाष्कर केसी र खड्का फार्म, पनौती–८ को साहारा कृषि फार्म, पनौती–७ को मानेश्वरी एग्रो फार्म, पनौती–५ का विजय थापा, माधव तिवारी र रिता खड्काको फार्म तथा बनेपा नगरपालिका–१३ स्थित इटचा एग्रोटेक प्रालि र बनेपा–६ का नारायण दाहालको कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको जिल्ला पशु सेवा कार्यालय काभ्रेले जनाएको छ । ती फार्ममा पालिएका कुखुरा तथा केही स्थानमा हाँससमेत संक्रमित भेटिएका हुन् । संक्रमण नियन्त्रणका क्रममा हालसम्म २७ हजार ५२७ वटा कुखुरा, ११२ वटा हाास, ३ हजार ८०० चल्ला, ३ हजार ५५० किलोग्राम दाना र १२ हजार ५७१ वटा अण्डा नष्ट गरिएको कार्यालयले जनाएको छ । 
बर्डफ्लु संक्रमण समुदाय स्तरसम्म फैलिन नदिन सरकारी प्राविधिकहरू बिहानदेखि मध्यरातसम्म खटिएका छन् । फोन बज्नेबित्तिकै संक्रमित फार्म पुग्ने, कुखुरा सुरक्षित रूपमा नष्ट गर्ने, खाडल खन्ने, चुन र जीवाणुनाशक प्रयोग गर्ने, निगरानी गर्ने र किसानसँग समन्वय गर्ने जिम्मेवारी सम्हाल्दै आएको छन् । तर यो काम बाहिरबाट देखिएजस्तो सहज छैन ।
पशु सेवा कार्यालय काभ्रेका प्रमुख ब्रजकिशोर ठाकुरका अनुसार संक्रमित कुखुरा व्यवस्थापनका लागि आवश्यक अनुभवी जनशक्ति सहजै उपलब्ध हुँदैन । स्थानीय मजदुरहरू जोखिमका कारण यस्तो काम गर्न हिच्किचाउँछन् । केही घण्टामै काम छाड्ने र व्यक्तिगत सुरक्षाको चिन्ताले काममा नआउने अवस्था पनि देखिएको उनको भनाइ छ । त्यसैले विगतदेखि यस्ता अभियानमा खटिँदै आएका काठमाडौंका अनुभवी टोलीलाई बोलाएर संक्रमित कुखुरा व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
यस कार्यको लागि चुनौती जनशक्तिमा मात्र सीमित छैन । संक्रमित कुखुरा गाड्न आवश्यक पर्ने डोजर पनि समयमै उपलब्ध नहुने उनले बताए । ‘स्थानीय तहका डोजर अन्यत्र कार्यमा व्यस्त हुन्छन्,’ उनले भने, ‘केही बिग्रिएको अवस्थामा हुन्छन्, त्यसैले निजी क्षेत्रबाट डोजर ल्याउनुपर्छ, कहिलेकाहीँ त्यहीँ डोजर आउन पनि समय लाग्छ ।’ उनका अनुसार डोजर पुग्न नसक्ने स्थानमा मजदुरले हातैले खाडल खन्नुपर्ने अवस्था आउने गरेको छ । पनौती नगरपालिका नगरपालिका– ५, ७ र ८ का केही क्षेत्रमा यस्तै अवस्था देखिएको उनले बताए । अधिकांश किसानले आफ्नै खेत उपलब्ध गराएकाले संक्रमित कुखुरा टाढासम्म ढुवानी गर्नुपर्ने अवस्था भने नआएको उनको भनाइ छ ।
उनका अनुसार, संक्रमण नियन्त्रण अभियानमा डोजर भाडा, मजदुरको ज्याला, खाना–खाजा, चुन, विरकोन, फिनेललगायत सबै खर्चको व्यवस्थापन पनि पशु सेवा कार्यालयले नै गरिरहेको छ । यस्ता कार्यका लागि आवश्यक बजेट भने अझै प्राप्त नभएको उनले बताए । बजेट अभावका कारण धेरै सामग्री उधारोमा ल्याएर काम चलाउनुपरेको उनले जानकारी दिए ।
