ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ नाम दिइएको उक्त सर्वेक्षणले वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने छ ।
काठमाडौं — केन्द्रीय बैंकले वित्तीय क्षेत्रका ग्राहकहरूमा बैकिङ सेवाबाट सन्तुष्टिको अवस्था पत्ता लगाउन ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने भएको छ । ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ नाम दिइएको उक्त सर्वेक्षणले ग्राहकको वित्तीय सन्तुष्टिको स्तर मापन गर्नेछ ।
यसका लागि ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी स्वतन्त्र नमूना छनौट विधिबाट वडा छनोट गरी जम्मा १० हजार ४०५ वटा नमुना संकलन गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव संकलन गरिनेछ ।
सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुर्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलनमा सहयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुनेछ र सहभागीले असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन् । सर्वेक्षणमा सङ्कलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिनेछ ।
अतः वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरोकारवाला निकाय तथा आम सर्वसाधारणलाई सर्वेक्षण कार्यमा आवश्यक सहयोग तथा सहकार्यका लागि राष्ट्र बैंकले भनेको छ ।
