असार १५ मा दही खपत उच्च, एक अर्बको कारोबार अनुमान

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा देशभर सामान्य दिनको तुलनामा पाँच गुणा बढी ७५ लाख लिटर दही खपत हुने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए ।

असार १५, २०८३

रमेशकुमार पौडेल

Yogurt consumption high on Asad 15, turnover estimated at one billion

What you should know

चितवन — असार १५ मा धान दिवस मनाउने र दही–चिउरा खाने चलन छ । वर्षभरि अत्याधिक दही खपत पनि यही दिन हुने गरेको छ । भरतपुर महानगरपालिका–१५ फूलबारीका प्रांगारिक किसानहरुको समूहले २३ औं धान दिवसको अवसर पारेर सोमबार बिहान विभिन्न गतिविधि सम्पन्न गर्‍यो । किसानलाई प्रशिक्षणदेखि हिलोमा रमाउने खेलसम्म सकिएपछि सहभागीले दही–चिउरा खाए ।

आयोजक चन्द्रप्रसाद अधिकारीले डेरीबाट २५ किलो दही ल्याएर सहभागीलाई दही–चिउरा खुवाएको बताए । चितवनको दक्षिणी भेग माडी बसन्तपुरमा रहेको सोमेश्वर दुध डेरीका सञ्चालक ओमनाथ पाण्डेले अरु बेला दैनिक एक सय लिटर हाराहारीमा दही बिक्रि गर्थे । असार १५ का लागि एक हजार लिटर दही व्यवस्था गरेको उनले बताए ।

‘वर्षमा सबैभन्दा बढी दही खपत हुने दिन नै असार १५ हो । आजकाका लागि तीन/चार दिनअघि दुधको जोहो गरेर दही बनाउँदै फ्रिजमा राखेका थियौं,’ पाण्डेले भने । समूह, संघसंस्थाले आयोजना गर्ने धान दिवसका कार्यक्रममा मात्रै नभए आजका दिन घरघरमा दही–चिउरा खाने चलन छ । त्यसैले यो दिन दहीको माग अत्याधिक रहने उनले बताए । 

पहिटानीको गंगानगर दुग्ध उत्पादक सहकारीको डेरीले असार १५ मा १९ हजार लिटर दही बेच्यो । अरु बेला दिनमा दुई हजार लिटर हाराहारीमा दही बिक्री हुने गरेको अध्यक्ष कृष्णप्रसाद सापकोटोले बताए । गंगानगरको उत्पादन गोरखा, तनहुँ र नवलपरासीसम्म पुग्छ । चितवनमा डेरी उद्योगहरुले उत्पादन गरेको दही प्राय: आधा लिटरको प्लाष्टिक प्याकेटमा पाइन्छ । जसको बजार मूल्य ७० रुयैयाँ छ । 

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल असार १५ नै सर्वाधिक दही खपत हुने दिन भएको बताउँछन् । ‘असार १५ मा देशभर जति दही खपत हुन्छ त्यति अरु बेला खपत हुँदैन । एकै पटक धेरै दही खपत हुने तीजको दर खान र दसैंका बेलामा हो,’ अध्यक्ष दाहालले भने ।

असार १५ मा एकै दिन देशभर ७५ लाख लिटरसम्म दही खपत हुने उनले बताए । अरु सामान्य दिनमा १५ लाख लिटर दही खपत हुने गरेको अध्यक्ष दाहाल बताउँछन् । ‘बढी उत्पादन भएका बेला बनाएको धुलो दुधबाट पनि असार १५ का लागि दही तयार हुन्छ । हामीले हप्ता दिनदेखि दही उत्पादन बढाउन सुरु गर्छाैं,’ अध्यक्ष दाहालले भने । असार १५ मा खपत हुने दही देशकै उत्पादनले पुग्ने उनले बताए । यो दिनमा दही मात्रै एक अर्ब रुपैयाँ बराबरको बिक्री हुने उनको भनाइ छ ।

असार १५ मा मुख्य सहरी क्षेत्रहरुमा दहीको खपत अत्याधिक हुने गरेको उनले बताए । रोपाइँ हुने ठाउँदेखि घरघरसम्म दही–च्युरा खाने चलन फष्टाएका कारण यसको राम्रो प्रभाव डेरी उद्योग र दुध किसानलाई परेको उनले बताए । देशभर राष्ट्रिय धान दिवस मनाउन सुरु भएको २३ वर्ष भए पनि पछिल्लो पाँच/सात वर्षयता दहीको खपत अत्याधिक बढेको दाहालले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully