चल्ला राख्ने बेला कुखुरा फार्म नै सिल, पर्वमा मासु, अण्डा अभावको जोखिम

बर्डफ्लुको संशय र अन्योलले किसानहरूले चल्ला नराख्दा आउँदा दिनमा मासु र अण्डा अभाव हुन सक्ने व्यवसायीहरूले बताएका छन् ।

असार १५, २०८३

रमेशकुमार पौडेल

Chicken farms sealed during chick rearing, risk of meat and egg shortage during festivals

What you should know

चितवन — कुखुरा फार्ममा धमाधम चल्ला राख्ने बेला कुखुरामा बर्डफ्लु देखिएर सिल गर्नु परेपछि यस वर्षको चाड पर्वमा मासु र अण्डाको अभाव हुने अवस्था छ ।

बर्डफ्लुको संशय र अन्योलले किसानहरूले चल्ला नराख्दा यस वर्षको चाड पर्वमा मासु र अण्डा अभाव हुन सक्ने व्यवसायीहरूले बताएका छन् । 

पशु सेवा विभागले जारी गरेको सूचनाअनुसार यसपटक चैत ४ गते मोरङमा बर्डफ्लु (एचफाइब एननाइन) पुष्टि भएको थियो । असार १४ गतेसम्ममा देशभरका ११ जिल्लामा बर्डफ्लु फैलिसकेको छ । चितवनको भरतपुरमा चैत १२ मा र जेठ २३ मा खैरहनीको लेयर्स कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको थियो । त्यसयता चितवनमा बर्ड फ्लु देखिएको छैन । अहिले चितवनमा बर्डफ्लु नियन्त्रणमा रहेको भरतपुरको पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले बताए ।

पशु सेवा विभागका बर्डफ्लु फोकल पर्सन डा. मुकुल उपाध्यायले काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेमा अहिले बर्डफ्लु सक्रिय रहे पनि अन्य जिल्लामा नियन्त्रणमा रहेको बताए । ११ जिल्लाका १०० भन्दा धेरै ठाउँमा बर्डफ्लु पुष्टि भएको उनको भनाइ छ । 

बर्डफ्लु पुष्टि भएको फार्ममा कुखुरा, अण्डा र दानासमेत नष्ट गरेर त्यस क्षेत्रलाई ४५ दिन सिल गर्ने नियम छ । चितवनका दुईवटा फार्मका करिब ५७ हजार कुखुरा नष्ट गरेको पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले बताए । ती सबै अण्डाका लागि पालिने लेयर्स कुखुरा हुन् । बर्डफ्लु पुष्टि भएका सबै ठाउँमा गरी असार ९ सम्म ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ । यस्तै ९ लाख ८९ हजार वटा अण्डा पनि नष्ट गरेको विभागले जनाएको छ ।

बर्डफ्लु देखिएपछि उपभोक्ताहरू मासु अण्डा खाने नखाने दोधारमा पर्छन् । १८ वर्षदेखि फ्रेस हाउस खोलेर कुखुराको मासु बेच्दै आएका गैंडाकोटका दिपक पाण्डले २०-२२ दिनयता मासुको खपत घटेको बताए । एकाध ठाउँ देखा पर्दा खासै नआत्तिएका उपभोक्ता लगातार बर्डफ्लु देखा पर्दा सशंकित छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु चिकित्सा संकायका प्रध्यापक एवं नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. रेवन्तकुमार भट्टराईले ३ महिनादेखि कुखुरामा संक्रमण देखा परिरहेका कारण आगामी दिनमा मासु अभाव हुनसक्ने बताउँछन् । 

‘अलिअघिसम्म मासुको खुद्रा मुल्य किलोको ४३० रुपैयाँ थियो । अहिले ४०० रुपैयाँमा झरेको छ । मेरै फ्रेस हाउसबाट दिनमा ४ क्वीन्टलसम्म मासु बिक्री हुन्थ्यो अहिले अढाई क्वीन्टल मात्रै बिक्री हुन्छ,’ पाण्डेले भने । उनी आफैले पनि मासुका लागि १५००–२००० कुखुरा पाल्ने गर्थे । गर्मी लागेपछि हटाउँथे । यसपालि चल्ला राख्ने कि नराख्ने दोधारमा रहेको बताए ।

नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष डा. रेवन्तकुमार भट्टराई बर्डफ्लु देखा पर्दा चल्ला थप्ने या नथप्ने भनेर किसानहरू अन्योलमा रहने बताउँछन् ।  

मासुका लागि पालिने ब्रोइलर कुखुरा चाँडै तयार हुन्छ । चल्ला राखेको ४५ दिनभित्र बेच्न मिल्छ । तर अण्डाका लागि पालिने लेयर्सले साढे ४ महिनामा अण्डा दिन सुरु गर्छ । यसपटक चितवनमा लेयर्स फार्ममा बर्डफ्लु देखिएका कारण मार परेको बताउँछन् डा. भट्टराई । पशु सेवा कार्यालयका प्रमुख डा. न्यौपानेले चितवनमा देशका लागि चाहिने पोल्ट्रीको लभगग आधा उत्पादन हुने बताउँछन् ।

त्यसैले चितवनको उत्पादन प्रभावित भए देशभर नै असर पर्छ । कुखुराको मासु, अण्डा अत्याधिक माग हुने दसैं तिहारका बेला उत्पादन कम हुने हो कि भन्ने आकलन व्यवसायीको छ । 

बर्डफ्लु भए ४५ दिन फार्म सिल हुन्छ । सबै कुरा सामान्य रहे अन्य तयारीका लागि थप ४५ दिन लाग्न सक्छ भन्छन् कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. रेवन्तकुमार भट्टराई । ११ जिल्लाका १०० भन्दा बढी ठाउँमा बर्डफ्लु देखिएका कारण आउँदो दिनमा उत्पादनमा असर नहोस् भन्नका लागि सबैले गम्भीर हुनु पर्ने उनले बताए । बर्डफ्लुका कारण नष्ट गर्नु परेको कुखुरा र अन्य उत्पादनको सरकारले क्षतिपूर्ति दिन्छ ।

‘प्रत्यक्ष जसले नोक्सानी बेहोर्‍यो उसले समयमा क्षतिपूर्ति रकम पाए नयाँ चल्ला थप्नका लागि केही न केही भए पनि सहयोग पुग्ने थियो,’ डा. भट्टराईले भने । जिल्ला दररेट समितिले निर्धारण गरेको मूल्यअनुसार लागतको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । तर, हाल चितवनको हकमा पनि क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढी सकेको छैन । 

‘यो कुखुराको चल्ला राख्ने थप्ने बेला हो । अहिले अन्यौल रहे भोलि उत्पादन प्रभावित हुन्छ । उपभोक्तालाई बढी मूल्यको मार पर्न सक्छ । मासु र अण्डाको गैरकानुनी आयात बढ्छ । जुन कुखुरा पालन क्षेत्रको निकै ठूलो चिन्ता र चुनौती हो,’ नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. भट्टराईले भने । नेपालमा कोरोनायता कुखुरा पालन क्षेत्र ओरालो लाग्दै गएको छ । 

अर्थमन्त्रीले गत महिना सार्वजनिक गरेको २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार नेपालमा कुखुराको संख्या ५ करोड ७८ लाख छ । जबकि आर्थिक वर्ष ०७७/७८ मा ६ करोड ६८ लाख कुखुरा रहेको उल्लेख छ । नेपालमा वर्षमा १ अर्ब १२ करोड अण्डा उत्पादन भएको सर्वेक्षणमा छ । आर्थिक वर्ष ०८०/८१ मै १ अर्ब ६५ करोड वटा अण्डा उत्पादन भएको विवरण छ । 

नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष डा. भट्टराई कुखुराको चल्ला उत्पादन गर्ने ह्याचरीहरू २८० बाट खुम्चेर १०० को हाराहारीमा झरेको बताउँछन् । ६० अर्ब रुपैयाँ लगानी रहेको र ४ लाख जनालाई प्रतक्ष्य रोजगारी दिएको कुखुरा पालन व्यवसायलाई बर्डफ्लुको प्रभावले झनै संकटतर्फ धकेल्ने हो कि भन्ने आशंका थपेको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully