नेपालको हवाइ क्षेत्र ठूलो नीतिगत र संस्थागत सुधारको चरणमा छ:  डंगोल  

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोल भन्छन- उड्‌डयन उद्योग अत्यन्तै संवेदनशील र कडा नियमनभित्र सञ्चालन हुने भएकाले कुनै पनि संस्थाको वित्तीय अवस्था कमजोर हुँदा त्यसले हवाई सुरक्षा र सम्पूर्ण उद्योगमै प्रत्यक्ष प्रभाव पार्छ ।

असार १५, २०८३

कान्तिपुर संवाददाता

Nepal's aviation sector is in the process of major policy and institutional reforms: Dangol

What you should know

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नेपालको हवाइ क्षेत्र ठूलो नीतिगत र संस्थागत सुधारको चरणमा रहेको र यसले आगामी  ३० वर्षसम्मको उड्डयन क्षेत्रको दिशा निर्धारण गर्ने बताएका छन् ।

सोमबार पर्यटन मन्त्रालयले आयोजना गरेको ‘नेपालको हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवादमा डंगोलले हवाइ सुरक्षा, उड्डयन सुरक्षा र उद्योगको आर्थिक स्थायित्व एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसबारे सरोकारवालाबीच खुला संवाद आवश्यक रहेको बताए । 

उनले नेपालको उड्डयन उद्योग अत्यन्तै संवेदनशील र कडा नियमनभित्र सञ्चालन हुने क्षेत्र भएकाले कुनै पनि संस्थाको वित्तीय अवस्था कमजोर हुँदा त्यसले हवाइ सुरक्षा र सम्पूर्ण उद्योगमै प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे ।

महानिर्देशक डंगोलका अनुसार सरकारले नयाँ हवाइ नीति तयार गरिसकेको छ । जसले विगतका कमजोरी सुधार गर्दै आगामी दशकहरूका लागि नेपालको उड्डयन क्षेत्रको स्पष्ट मार्गचित्र तय गर्नेछ। उक्त मस्यौदा विभिन्न निकायमा सुझावका लागि पठाइसकिएको उनले जानकारी दिए ।

डंगोलले नेपालको हवाइ उद्योग अत्यधिक पुँजी आवश्यक पर्ने क्षेत्र भए पनि लगानीको वातावरण अझै चुनौतीपूर्ण रहेको बताए । सरकारले विमानस्थल र पूर्वाधारमा ठूलो लगानी गरे पनि निजी क्षेत्रले नयाँ विमान थप्ने क्रम सुस्त रहेको उल्लेख गर्दै विमानस्थलमा भएको सरकारी लगानी र वायुसेवा कम्पनीहरूको लगानीबीच असन्तुलन देखिएको बताए । उनले विमान आयात तथा वित्तीय व्यवस्थापन सहज बनाउन केपटाउन कन्भेन्सन अनुमोदनलगायतका नीतिगत सुधार अघि बढिरहेको जानकारी दिँदै लगानीमैत्री वातावरण निर्माणमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

महानिर्देशक डंगोलले हवाइ उद्योगबाट प्रत्यक्ष नाफा सीमित हुने भए पनि यसको राष्ट्रिय अर्थतन्त्रमा पर्ने अप्रत्यक्ष प्रभाव निकै ठूलो हुने बताए । नेपालको जस्तो भौगोलिक अवस्थाको देशमा यातायात र हवाइ सेवाको विस्तारबिना मध्यम आय भएको मुलुक बन्ने लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो ।

उनले हवाइ क्षेत्रको योगदानलाई प्रत्यक्ष आम्दानीमा मात्र सीमित नराखी पर्यटन, व्यापार, रोजगारी, लगानी र समग्र आर्थिक गतिविधिमा पर्ने अप्रत्यक्ष तथा दीर्घकालीन प्रभावका आधारमा मूल्यांकन गर्नुपर्ने धारणा राखे । डंगोलले आगामी सुधार पूर्वाधार निर्माणमा मात्र सीमित नरहने स्पष्ट पार्दै एयरलाइन्सको व्यवसायिक वातावरण सुधार, सञ्चार तथा हवाई ट्राफिक व्यवस्थापन प्रणालीको आधुनिकीकरण, दक्ष जनशक्ति उत्पादन र उनीहरूको नेपालमै संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्ने बताए ।

उनले नेपाल रणनीतिक भौगोलिक अवस्थिति भएको मुलुक भएकाले हालसम्म गरिएका लगानीबाट अधिकतम प्रतिफल लिन सकिने अवसर रहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रले संयुक्त रूपमा हवाइ उद्योगको दिगो विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कान्तिपुर

Link copied successfully