मन्त्री वाग्लेले चयनमुखी शैलीबाट कसैमाथि अनुसन्धान नगरिने पनि बताएका छन् ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय जगतले नेपालको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सूक्ष्म रूपमा अध्ययन गरिरहेको बताएका छन् । यस प्रकारको ‘कालो धब्बा’बाट नेपाल बाहिर निस्कने चुनौतीको सामना गर्न कानुनी संशोधन गरिएको मन्त्री वाग्लेले स्पष्ट गरे ।
प्रतिनिसिभाको आजको बैठकमा ‘सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण (तेस्रो संशोधन), विधेयक २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
उनले युरोपेली आयोगले नेपालको उडान क्षेत्रलाई राखेको ‘कालोसूची’ बाट बाहिर ल्याउन पनि सम्बन्धित निकायले काम गरिरहेको जानकारी गराउँदै विद्यमान कानुन र नीतिको प्रभावकारी कार्यान्वयनमा जाने तत्परता सरकारले लिएको बताए ।
छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री वाग्लेले चयनमुखी शैलीबाट कसैमाथि अनुसन्धान नगरिने पनि बताएका छन् । 'राजनीतिक अभिष्ट राखेर चयनमुखी शैलीबाट कसैमाथि अनुसन्धान गरिनेछैन,' उनले भने ।
सांसदहरूले अवैध सम्पत्ति आर्जनलाई नियन्त्रण गर्न कानुनी कडाइ हुनुपर्ने, अकुत सम्पत्ति आर्जन गर्नेहरूमाथि भेदभाव नगरी निष्पक्ष अनुसन्धान गरिनुपर्ने र नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिष्ट’ बाट बाहिर ल्याउन पहल गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सांसदहरू विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल, आरेन राई, चन्द्रमोहन यादव र गीता गुरूङले भाग लिएका थिए ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा विधेयक स्वीकृत भएको हो ।
