वर्षैभरी चिनियाँ पर्यटक नेपाल भित्र्याउन विशेष प्याकेज

नेपाल आउने चिनियाँ पर्यटकका लागि ७ दिन ६ रातको विशेष भ्रमण प्याकेज तयार गरिएको छ । यसमा काठमाडौं, पोखरा, चितवन र नागरकोट समेटिएका छन् ।

असार १४, २०८३

सुरज कुँवर

Special package to attract Chinese tourists to Nepal throughout the year

What you should know

काठमाडौं — नेपालमा वर्षैभरि खर्चालु (हाई-इन्ड) चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यसहित चीन–नेपालबीच नयाँ पर्यटन परियोजना सुरु गरिएको छ । यसबाट नेपालमा पर्यटकको 'अफ सिजन' समस्या कम हुने, होटल तथा पर्यटन व्यवसाय वर्षभरि चलायमान रहने र ५०० देखि १००० सम्म रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

बागमती प्रदेश पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसहित सहभागी कार्यक्रममा 'चीन–नेपाल अन्वेषण यात्रा' अन्तर्राष्ट्रिय सांस्कृतिक–पर्यटन परियोजनाको आइतबार काठमाडौंमा शुभारम्भ गरिएको हो । आयोजकले खर्चालु (हाई-इन्ड) चिनियाँ पर्यटक ल्याउन हिमालय एयरलाइन्समार्फत शेनझेन–काठमाडौं सीधा चार्टर उडान नियमित सञ्चालन गरिने जनाएको छ । यो परियोजनाअनुसार हरेक हप्ता दुई वटा चार्टर उडान हुनेछ । वर्षभरि १०४ वटा उडानमार्फत १८ हजारभन्दा बढी उच्चस्तरीय चिनियाँ पर्यटक नेपाल ल्याउने लक्ष्य छ ।

आयोजकका अनुसार परियोजना शेनझेनबाट मात्र सीमित रहने छैन । आगामी ३ देखि ५ वर्षभित्र चीनका नान्थोङ, शिजियाझुआङ, हाङचाउ, निङ्बो र छिङ्ताओलगायत प्रमुख सहरबाट नियमित चार्टर उडान सञ्चालन गरिनेछ । त्यसपछि वार्षिक १ लाखदेखि १ लाख २० हजारजना चिनियाँ पर्यटक नेपाल ल्याउने योजना छ । परियोजनाले यसपछि नेपालमा पर्यटनको 'अफ सिजन' समस्या कम गर्ने विश्वास लिएक छ। वर्षभरि पर्यटकको आगमन भइरहँदा होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल एजेन्सी, पर्यटन गाइड तथा हस्तकलासँग सम्बन्धित व्यवसायले निरन्तर आम्दानी गर्ने अपेक्षा गरिएको छ ।

नेपाल आउने चिनियाँ पर्यटकका लागि ७ दिन ६ रातको विशेष भ्रमण प्याकेज तयार गरिएको छ । यसमा काठमाडौं, पोखरा, चितवन र नागरकोट समेटिएका छन् । पर्यटकलाई हिमाली पदयात्रा, सांस्कृतिक सम्पदाको अध्ययन, स्वास्थ्य तथा विश्राम पर्यटन र चीन–नेपाल सांस्कृतिक आदानप्रदानमा आधारित ४ प्रकारका विशेष प्याकेज उपलब्ध गराइनेछ । प्रत्येक टोलीसँग चिनियाँ टुर लिडर र स्थानीय चिनियाँ भाषा जान्ने गाइड रहने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री सुरेश श्रेष्ठले परियोजनाले नेपाल–चीन पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले नियमित हवाई सम्पर्क र गुणस्तरीय सेवाले नेपालमा चिनियाँ पर्यटक बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । चीन तिब्बत पर्यटन तथा आइरिस पर्यटन सांस्कृतिक उद्योग समूहका संयोजक ह्वाङ लेईले आफूहरूको लक्ष्य छोटो समयको व्यापारभन्दा दीर्घकालीन पर्यटन विकास र स्थानीय रोजगारी विस्तार रहेको बताए । हिमालय एयरलाइन्सका अध्यक्ष झौ एनयोङले शेनझेन–काठमाडौं सीधा उडानले चीनको ग्वाङ्डोङ–हङकङ–मकाउ क्षेत्रलाई नेपालसँग सहज रूपमा जोड्ने बताए ।

कार्यक्रममा आयोजकहरूले 'चीन–नेपाल अन्वेषण यात्रा' परियोजनाको आधिकारिक झण्डा सम्बन्धित पक्षलाई हस्तान्तरण गर्दै २ देशबीचको पर्यटन सहकार्यलाई औपचारिक रूपमा अगाडि बढाइएको घोषणा गरेका थिए ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully