नेपाल सरकारले आफ्नै खर्चमा बनाउन लागेको डीपीआर दातृ निकाय आफैं लगानी गरेर बनाउन तयार
What you should know
काठमाडौँ — उपत्यकामा मेट्रो रेलमार्ग निर्माण गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ । निश्चित रुट छानेर रेल विभागअन्तर्गत मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न १ जेठमा सूचना आह्वान गरेको थियो । समय १ असारसम्म तोकिएको थियो । पछि थप गरेर ८ असारसम्म पुर्याइयो । तर यसको भोलिपल्टै ९ असारमा सूचना रद्द गरियो ।
रेल विभागले प्राविधिक कारण देखाउँदै तत्कालका लागि सूचना रद्द गरिएको सूचना आफ्नो वेबसाइटमा राखेको छ । विभागले भने दातृ निकायहरूको आग्रहअनुसार नै तत्काललाई सूचना रद्द गरिएको जनाएको छ । विभिन्न दातृ निकायहरूबाट आफ्नै खर्चमा अध्ययन गर्ने कुरा आएपछि यसमा थप छलफल गरेर सूचना निकाल्ने गरी अहिलेलाई सूचना रद्द गरिएको रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले बताए ।
‘सुरुमा हामीले आफ्नै खर्चमा डीपीआर गर्नेगरी सूचना निकालेका थियौं,सूचना निकालेपछि विभिन्न दातृ निकायले चासो जनाए,’ महानिर्देशक पोखरेलले भने, ‘सम्पर्कमा आउने दातृ निकायहरू आफ्नै खर्चमा डीपीआर बनाउन इच्छुक देखिएपछि तत्कालका लागि सूचना रद्द गर्ने निर्णयमा पुगेका हौं ।’ विभागका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), दिल्ली मेट्रो रेल कर्पोरेसन, चाइना रेलवे रोलिङ स्टक कर्पोरेसन (सीआरआरसी कर्पोरेसन), कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लगायत कम्पनीले चासो जनाएका हुन् ।
अझै बढी चासो जाइकाले दिएको विभाग स्रोतले जनायो । अध्ययनमा लगानी गर्न दातृ निकाय तयार भएकाले नै सूचना रोकिएको दाबी पोखरेलको छ । मन्त्रालयमा छलफलपछि मात्र विभागले सूचना रद्द गरेको हो । ‘काठमाडौंको समग्र यातायात प्रणालीबारे जाइकाले गुरूयोजना तयार पारिरहेको छ,’ उनले भने, ‘मेट्रो रेलको डीपीआर बनाउने कुरामा पनि जाइकाले चासो जनाएको छ ।’ जाइकाले आगामी अगस्टभित्र गुरूयोजना बनाएर सरकारलाई बुझाउने छ । डीपीआर बनेपछि निर्माणमा कति लागत लाग्ने थाहा हुने उनको भनाइ छ ।
‘काठमाडौंमा ट्राफिक जामको विकल्पका लागि मेट्रो रेल चलाउन आवश्यक छ,’ महानिर्देशक पोखरेलले भने, ‘आफ्नै रकमले अध्ययन गर्ने कुरा दातृ निकायसँग मौखिक रूपमा भएका हुन्, तर यसमा सबै प्रक्रिया पूरा गरेर नै राम्रो कम्पनी छानी अध्ययनको जिम्मा लगाउँछौँ ।’ यसअघि निकालिएको सूचनामा नारायणगोपाल चोकबाट चाबहिल, कोटेश्वर सातदोबाटो रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोक जोड्ने गरी २७.५ किलोमिटर दूरीमा डीपीआर गर्ने कुरा उल्लेख थियो ।
त्यसकालागि परामर्शदाता छनोट गर्न सुचना आह्वान गरिएको थियो । सन् २०११/१२ मा नेपाल सरकारकै लगानीमा भएको प्रारम्भिक अध्ययनअनुसार लाइन वानमा नारायणगोपाल चोकबाट सातदोबाटो जाने र त्यहाँबाट चक्रपथ जानेलाई लाइन थ्री बनाएर राखिएको थियो ।
उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने विषयमा सन् २०११/१२ मा एक कोरियन कम्पनीले गरेको सम्भाव्यता अध्ययनमा प्रस्ट्याइएको छ । उक्त अध्ययनले उपत्यकाको ७७ किमिमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने प्रस्ट्याएको थियो । त्यसपछि थप अध्ययन हुन सकेन । डीपीआर तहको अध्ययन गर्ने प्रयास गरिएको भए पनि थप काम अघि बढ्न सकेको थिएन । कोरियन कम्पनीले गरेको अध्ययनअनुसार ५२ किमिमा सडकमाथिबाट पोल राखेर र २५ किमिमा भूमिगत मेट्रो रेलको सम्भावना रहेको पाइएको थियो ।
२०७६ तिर डीपीआरतहको अध्ययन गर्ने क्रममा ललितपुरमा रातो मत्स्येन्द्रनाथ र थापाथलीमा कालमोचनघाटमा रेलमार्ग बनाउन सक्ने अवस्था देखिएन । जुन अध्ययनमा उक्त क्षेत्रमा भूमिगत रूपमा रेल चलाउने कुरा अध्ययनमा थियो । त्यसपछि सुविस्ताका आधारमा डीपीआर बनाउने कम्पनीसँग ठेक्का अन्त्य गरिएको विभागले जनायो ।
अहिले अध्ययनका क्रममा तीन वर्षसम्म लाग्ने खर्च अर्थ मन्त्रालयले दिने सहमति पाएपछि यसको काम अघि बढाउन बाटो खुलेको थियो । तर दातृ निकायकै लगानी रहनेगरी अध्ययन गर्नेबारे छलफलको चरणमा रहेको विभागले जनायो । अहिले स्ट्यान्डर्ड गेजको विद्युतीय चलाउने गरी डीपीआर तयार गरिने छ । यसअघि काठमाडौं महानगरपालिकाले पनि पटक–पटक मेट्रो रेल चलाउने विषय अघि सार्दै आए पनि अध्ययन हुन सकेको छैन ।
