मुलुकलाई ग्रे लिस्टबाट निकाल्न सरकारले दक्षताका साथ काम गरिरहेको छ : अर्थमन्त्री

मन्त्री वाग्लेले भने- 'मुलुक ग्रे लिस्टमा फेरि परेको होइन । २०८१ मा पारिएका थियो, हामी निकाल्ने क्रममा छौं । त्यो अवधि अझै बाँकी छ ।’

असार १४, २०८३

न्युज एजेन्सी नेपाल

Government is working efficiently to remove the country from the grey list: Finance Minister

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची (ग्रे लिस्ट) बाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको  छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट पारित हुनेबित्तिकै आफ्नो मुख्य काम नै यसको कार्यान्वयन रहेको पनि बताए ।

मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले यसबाट निकाल्नका लागि इमानदार र दक्षतापूर्वक काम गरिरहेको उनको दाबी थियो ।

‘हाम्रा १५ वटा प्रमुख कार्य छन् । यसमा ४ वटा वर्गीकरण छ । एड्रेस, लार्जली एड्रेस, पार्टली एड्रेस र नट एड्रेस । हामी आएपछि तीन वटा कुरामा लार्जली एड्रेस छ । त्यसलाई अरु चार वटा कुरामा लार्जली एड्रेस गराउँदै छौं,' उनले भने, 'यो सूची हेरेर, इन्डिकेटर हेरेर त्यो लिस्टबाट बाहिर निस्कनका लागि जे गर्नुपर्छ सुधार, त्यो गर्ने भन्ने प्रतिबद्धता अर्थमन्त्रीको तर्फबाट, अर्थ मन्त्रालयको तर्फबाट गरिएको छ ।'

बजेट पास भइसकेपछि आफ्नो प्रधान जिम्मेवारी नै तत्काल तदारुकताका साथ कार्यान्वयनमा उत्रने रहेको उनले बताए । 'यो प्रगतिको चौमासिक मूल्यांकन हुने गर्छ । त्यस्तो मूल्यांकनबाट ग्रे लिस्टसम्बन्धी सबै कार्य सम्पन्न भएपछि मात्रै त्यो लिस्टबाट बाहिरिने व्यवस्था छ,' उनले भने, 'अब फेरि ग्रे लिस्टमा परिएछ भन्ने खालका भ्रामक समाचारमा टेकेर केही माननीयज्यूले कुरा राख्नुभएको छ । यो ग्रे लिस्टमा फेरि परेको होइन । २०८१ मा पारिएका थियो, हामी निकाल्ने क्रममा छौँ । त्यो अवधि अझै बाँकी छ । त्यसलाई निकाल्नका लागि हामी इमान्दार र दक्षताका साथ काम गरिरहेका छौँ ।’

अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रको सबै सूचकलाई हेरेर ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको बताए ।

न्युज

Link copied successfully