सीप प्रमाणीकरण कार्यक्रम रोक्न साउदीलाई नेपालको अनुरोध

सीप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्छ : नेपाल

असार १३, २०८३

होम कार्की

Nepal requests Saudi Arabia to stop skills certification program

What you should know

काठमाडौँ — नेपालले साउदी अरबलाई सीप परीक्षण कार्यक्रम (एसभीपी) स्थगित गर्न अनुरोध गरेको छ । साउदीले नेपालमा १७ जुनदेखि सुरु गर्न लागेको थियो । तर एसभीपी रोकिएपछि १ जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोनाएखरलाई भेटी नेपाली श्रमिकको सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका हुन् ।

साउदी सरकारसँग आवश्यक परामर्शपछि यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइनेछ : नेपालका लागि साउदी राजदूत नेपालले सीप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिएको छ । स्थापित संयन्त्रमार्फत अगाडि नबढेसम्म भिसा प्रक्रियालाई यथावत् रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ । गत पुसमा नेपाल र साउदी अरबबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्रविधिक कार्य समितिले तय गर्ने उल्लेख छ । तर सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय सहमति भएको छैन । यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन् ।

भिसा प्रक्रियालाई यथावत् रूपमा अगाडि बढाउन श्रममन्त्री यादवको अनुरोध छ । साउदीले सीप प्रमाणीकरणको प्रमाणपत्र नभए भिसा प्रक्रिया अगाडि नबढाउने सूचना जारी गरेको थियो । ‘एसभीपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने नेपालको चाहना छ,’ श्रममन्त्रीको सचिवालयले भनेको छ, ‘श्रमिकहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न श्रममन्त्रीले आग्रह गर्नुभयो ।’

साउदी राजदूत फाद मोनाएखरले साउदी सरकारसँग आवश्यक परामर्शपछि यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी दिएका छन् । साउदीले काठमाडौंको बसुन्धारास्थित ‘इन्ड्रस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिमा १७ जुनदेखि ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) उद्घाटन गर्ने कार्यक्रम थियो । तर ‘एकाधिकार खडा गरी सीप परीक्षणका नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको’ भन्दै वैदेशिक रोजगार व्यवसायी तालिम प्रदायक संस्था घेराउ गर्न गएपछि ट्रेनिङ इन्स्टिच्युटले स्थागन गरिएको सूचना टाँसेको थियो । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । परीक्षा शुल्कबापत ५० डलर र पूर्वसिकाइ मान्यता (आरपीएल) बापत ५० डलर छ ।

काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँस गरी सीप परीक्षण कार्यक्रम सुरु गरेको जनाएको थियो । सीप परीक्षण पास भएको प्रमाणपत्र पेस नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ ।

साउदीले सीप परीक्षण गर्ने ५ पेसामा क्रमशः सामान लोड तथा अनलोड गर्ने, भरिया, ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिक छन् । 

यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । यो हुनेबित्तिकै प्रमाणपत्र लिन मात्रै थप १५ हजार रुपैयाँ थपिने संघको भनाइ छ ।

‘प्रमाणीकरण प्रक्रियाका कारण थप समय खर्च गर्नुपर्ने तथा रोजगारी प्रक्रियामा अनावश्यक झन्झट एवं आर्थिक भार व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ,’ संघका अध्यक्ष डिकबहादुर (कुमार) खत्रीले भने, ‘यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत वृद्धि भई उनीहरूको हित प्रतिकूल रूपमा प्रभावित हुन सक्ने सम्भावना छ ।’

भारत र बंगलादेशको अभ्यास हेर्दा प्रमाणीकरण श्रमिकमैत्री नदेखिएको संघको दाबी छ । ‘भारत र बंगलादेशको अभ्यास श्रमिकमैत्री छैन । यसले सीप परीक्षणका लागि समय पाइँदैन । समय पाउन पनि तोकिएको भन्दा बढी शुल्क लिइरहेको छ,’ उनले भने, ‘यसले श्रमिकलाई थप झन्झट मात्रै पुर्‍याएको छ ।’

साउदीमा हरेक वर्ष ८० हजार जना नेपाली श्रमिक रोजगारीका लागि गइरहेका छन् । यसमा ६७ प्रतिशत सामान्य श्रमिक भिसामा गइरहेका छन् । ८ प्रतिशत सेवा क्षेत्र र १२ प्रतिशत ड्राइभर र अपरेटर क्षेत्रमा गइरहेका छन् ।

साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सीप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । व्यावसायिक मान्यता दिन सीप प्रमाणीकरण गर्न लागिएको उसको भनाइ छ ।

सीप परीक्षणका लागि श्रमिकले पहिला नै साउदीको ‘व्यावसायिक प्रमाणीकरण पोर्टल’मा अनलाइन दर्ता गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । दर्ता गरेपछि मात्रै भिसा वा मास्टर कार्डमार्फत डलरमा शुल्क भुक्तानी गर्नुपर्छ । आवेदकले कार्यक्रमअन्तर्गत उपलब्ध पेसाहरूबाट आफ्नो पेसा छनोट गर्नुपर्छ । उसले स्वीकृत परीक्षा केन्द्र छनोट र उपलब्ध परीक्षाको मिति चयन गर्नुपर्नेछ । परीक्षण तीन घण्टाको हुनेछ । २४ घण्टादेखि एक साताभित्र यसको नतिजा आउने जनाइएको छ ।

सीप परीक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ । यसमा अनुत्तीर्ण भए श्रमिक साउदी जान नपाउने दूतावासको सूचनामा उल्लेख छ । यो कार्यक्रम सबै स्रोत देशमा लागू गरिसकिएको साउदीले बताएको छ ।

साउदीले यसअघि पनि अदक्ष श्रमिकको प्रमाणित शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने नियम ल्याएको थियो । तर चौतर्फी विरोध भएपछि यो हटाइएको थियो । संघले श्रमिकहरूको हित, सुविधा तथा सहज वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी सक्दो छिटो साउदी पक्षसँग आवश्यक कूटनीतिक पहल गर्न श्रममन्त्रीलाई आग्रह गरेको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully