चिया निर्यातमा देखिएका समस्या अध्ययन तथा समाधानका लागि प्रधानमन्त्री कार्यालयले गठन गर्यो विशेष कार्यदल, तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहित दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी
What you should know
विराटनगर — भारतले नेपालबाट आयात हुने चियाको २० प्रतिशत खेपमा अनिवार्य नमुना परीक्षण गर्ने व्यवस्था यथावत् राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन । सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिया निर्यातमा देखिएका समस्याको कूटनीतिक तथा प्रशासनिक पहलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरूले आन्दोलन फिर्ता लिँदै शुक्रबारदेखि उद्योग सञ्चालन गर्ने निर्णय गरेका हुन् । तर उद्योग खुले पनि निर्यातको अन्योल कायमै रहेको उद्योगीहरूको भनाइ छ ।
बगान र उद्योग सञ्चालनमा आए पनि चिया निर्यात अझै सुरु नभएको सूर्योदय टी प्रोसेसिङ एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले पुष्टि गरे ।
‘भारतीय व्यापारीले अब चिया पठाउन सकिन्छ भनेका छन्,’ उनले भने, ‘सोमबार चिया पठाएपछि मात्रै वास्तविक स्थिति स्पष्ट हुन्छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कूटनीतिक तथा प्रशासनिक पहलमार्फत चिया निर्यातका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीले आन्दोलन फिर्ता लिँदै उद्योग सञ्चालन गर्ने निर्णय गरेभारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले २३ जुनमा जारी गरेको पत्रमार्फत चिया (एचएसएन कोड ०९०२) आयातमा जोखिममा आधारित परीक्षण प्रणाली लागू गर्दै २० प्रतिशत खेपमा ‘र्यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याएको छ ।
एफएसएसएआईका अनुसार भारतका वाणिज्य सचिवको अध्यक्षतामा जुन १६ मा बसेको बैठकको निर्णयअनुसार घरेलु उपभोगका लागि आयात हुने चियामा प्रारम्भिक रूपमा २० प्रतिशत दरमा परीक्षण गरिनेछ । यो व्यवस्था भारतका सबै भन्सार नाकामा लागू हुनेछ । पानीट्यांकी भन्सार नाकामा यस्तो व्यवस्था छैन । त्यसैले परीक्षणका लागि नमुना कोलकाता पुर्याइनेछ ।
भारतीय चिया क्रेताहरूले चिया खरिदका लागि पठाउन आग्रह गरिरहेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जनाए । भारतीय पक्षले प्रयोगशाला परीक्षणका नाममा अब नेपाली चिया नरोक्ने ती क्रेताहरूको दाबी छ ।
‘अब पहिला जस्तो परीक्षणको बहानामा नरोक्ने जनाइएको छ’, गुप्ताले भने, ‘प्रत्येक ५ वटा ट्रकमध्ये एक ट्रकको चाहिँ नमुना परीक्षण गरिनेछ, नमुनाको नतिजाका आधारमा चिया रोक्ने, नरोक्ने निर्क्योल गरिनेछ ।’
हाल करिब ३ लाख केजी तयारी चिया भारतीय गोदाममा थन्किएको छ । खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले कोलकातामै चिया परीक्षण गर्नेछ । उद्योगीहरूका अनुसार १० लाख केजीभन्दा बढी चिया नेपालमै भण्डारण गरिएको छ । ‘अब पहिला जस्तो चिया बोर्डले सोझै हस्तक्षेप गर्ने छैन,’ गुप्ताले भने, ‘त्यसकारण हामीलाई थोरै आशा पलाएको छ ।’
भारतीय अवरोधको विरोधमा इलामका उद्योगीले १ असारदेखि र झापाका उद्योगीले ४ असारदेखि उद्योग बन्द गरेका थिए । झापा, इलामसहित पूर्वका करिब ९९ चिया उद्योग बन्द हुँदा दर्जनौं साना तथा ठूला चिया बगानमा काम प्रभावित बनेको थियो ।
सरकारको पहलप्रति विश्वास गर्दै उद्योग सञ्चालन गर्ने निर्णय गरिएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जनाए ।
भारतीय चिया क्रेताहरूले चिया खरिदका लागि पठाउन आग्रह गरिरहेको नेपाल चिया उत्पादक संघको दाबी‘शुक्रबारदेखि झापा, इलामसहित पूर्वका सबै उद्योग सञ्चालनमा आएका छन्,’ उनले भने, ‘बगानमा पनि नियमित रूपमा काम सुरु भएको छ ।’
किसानका बगानमा हरियो चियापत्ती परिपक्व हुँदै गएकाले उद्योग लामो समय बन्द राख्न सम्भव थिएन । ‘मजदुरको दैनिक जीविकोपार्जन र किसानको उत्पादनलाई ध्यानमा राखेर उद्योग खोल्ने निर्णय गरेका हौं,’ पराजुलीले भने, ‘तर नाकामा देखिएको समस्या अझै पूर्ण रूपमा समाधान भएको छैन ।’
चिया निर्यातमा देखिएका समस्याको अध्ययन तथा समाधानका लागि प्रधानमन्त्री कार्यालयले विशेष कार्यदल गठन गरेको छ । कार्यदललाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहित दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
उद्योगीहरूले भने उद्योग खुले पनि भारतीय नाकामा देखिएको अवरोध हट्न नसकेसम्म समस्या समाधान नभएको भन्दै सरकारले उच्चस्तरीय कूटनीतिक पहलमार्फत स्थायी समाधान खोज्नुपर्ने माग दोहोर्याएका छन् ।
