५ दिनअघि नै गण्डक नहरमा सम्झौताभन्दा बढी पानी उपलब्ध

सम्झौताअनुसार नेपालतर्फ ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने भए पनि अहिले ८५७ क्युसेक पानी प्रवाह भइरहेको छ । निर्धारित समयभन्दा अगावै पानी आउँदा किसानलाई राहत मिलेको छ ।

असार १२, २०८३

शंकर आचार्य

More water than agreed upon in Gandak Canal 5 days ago

पर्सा — भारतले यस वर्ष नेपाल-भारत सम्झौताअनुसार निर्धारित समयभन्दा ५ दिनअघि नै गण्डक नहरमा पानी उपलब्ध गराएको छ । भारतले सामान्यतया असार १५ देखि पानी छाड्ने गर्थ्यो । यस वर्ष असार १० गतेदेखि नै नेपालतर्फ पानी प्रवाह गरिएको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश साहका अनुसार सम्झौताअनुसार नेपालतर्फ ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने भए पनि अहिले ८५७ क्युसेक पानी प्रवाह भइरहेको छ । ‘यस वर्ष भारतले सम्झौताभन्दा बढी पानी दिएको छ,’ उनले भने, ‘निर्धारित समयभन्दा अगावै पानी आउँदा किसानलाई राहत मिलेको छ ।’

साहका अनुसार हाल नहरको ब्लक नम्बर १ र २ सम्म पानी पुगिसकेको छ । पोखरीयादेखि पश्चिम मुर्ली, हरिहरपुर र कालिकामाई क्षेत्रका नहरमा पानी पुगेपछि त्यहाँका किसानले धान रोपाइँ सुरु गरिसकेका छन् । ‘ती क्षेत्रमा हरेक वर्ष सुरुमै पानी पुग्ने भएकाले किसानले सोहीअनुसार धानको बेर्ना तयार गर्ने गरेका छन्,’ साहले भने । यस वर्ष समयमै र पर्याप्त मात्रामा पानी उपलब्ध भएकाले गण्डक नहर कमाण्ड क्षेत्रभर धान रोपाइँ समयमै सम्पन्न हुने अपेक्षा कार्यालयले गरेको छ । गण्डक नहर १५ ब्लकमा विभाजित छ । तर वर्षेनी पानी कम आउने र नहरको मर्मत सम्भार नहुँदा रौतहटतर्फ रहेको अन्तिम २ ब्लकसम्म नहरमा पानी पुग्दैन ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully