अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ । बेलाबेला आउने बाढीले सवारी आवागमनमा समस्या हुने गरेको छ ।
What you should know
काठमाडौँ —
बाढीले क्षति गरेको बीपी राजमार्गमा मध्य असारदेखि सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही–केही ठाउँमा बर्खाका लागि ठूला ढुंगा राखेर सडक तयार गरी सवारी सञ्चालन गर्न लागिएको हो ।
अहिले रोशी खोलामा डाइभर्सन बनाएर सवारी चलाइएको छ । बेलाबेला आउने बाढीले सवारी आवागमनमा समस्या हुने गरेको छ । बाढीले डाइभर्सन बगाउने र फेरि अस्थायी रूपमा बनाएर सवारीसाधन चलाउने गरिएको छ ।
बर्खालाई दृष्टिगत गर्दै बनिरहेको नयाँ ट्र्याकबाट मध्य असारदेखि सवारी चलाउने गरी तयारी गरिरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘अहिले पनि चार ठाउँमा माथिबाट सवारीसाधन कुदाउन सक्ने अवस्थामा छौं । मनसुनको समस्या भइनसकेकाले काम रोक्ने गरी ट्र्याक सडक खुला नगरिएको हो,’ उनले भने, ‘बाढी आयो, तल खोलाको डाइभर्सनबाट गाडी चल्न नसक्ने अवस्था भए माथिबाटै चलाउन सुरु गरिहाल्छौं ।’
चारसयबेंसी, बोक्सीकुना, कालढुंगा र डालाबेंसीको एउटा खण्ड तयार भएको योगेशको भनाइ छ । ‘अन्यत्र पनि बाढी आयो भने गाडी रोकिने अवस्था छैन,’ उनले भने, ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउने खण्डमा माटो भरेर बोल्डर (ठूला ढुंगा) राख्ने काम हुँदै छ, बर्खामा यस खण्डमा खोलाबाट सवारी साधन चलाउनु पर्दैन ।’
खोलाभन्दा माथि बनेको सडकबाट गाडी चलाउँदा त्यताको काम रोकिने भएकाले बर्खा सुरु नहुँदासम्मका लागि खोलाबाटै चलाइएको योगेशले प्रस्ट्याए । ‘आरसीसी वालको फाउन्डेसन पूरा गरेर त्यसमाथिको काम हुँदै छ, बर्खाअघि बनिरहेको सडकमा ग्राभेल राखेर सवारी चलाउने मात्र हो,’ उनले भने, ‘अहिलेसम्म १५ असारदेखि नै नयाँ ट्र्याकबाट सवारीसाधन चलाउने तयारी छ ।’
राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा क्षति गरेको हो । काभ्रेतर्फ ३ र सिन्धुलीतर्फ १ गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा
निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले लिएको छ । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीले ठेक्का लिएर काम गरिरहेको छ । दुवै ठेक्काको सम्झौता असार २०८२ मा भएको हो ।
पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग कात्तिक २०८२ मा सम्झौता भएको हो । बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । सबै खण्डको काम सम्झौताअनुसार २ वर्षभित्र सक्नुपर्नेछ । मनसुन सक्रिय हुनुअघि नै सिन्धुली खण्डमा नयाँ ट्र्याकमा सवारीसाधन चलाउने गरी नै काम गरिरहेको सडक डिभिजन, खाल्टे, सिन्धुलीका प्रमुख पारसमणि हमालले जनाए ।
आँपघारीमुनिको १ सय २० मिटर खण्डमा अझै काम सकिसकेको छैन । त्यहाँ बोल्डर राखेर भए पनि बर्खामा सवारीसाधन चलाउने व्यवस्था गरिने उनको दाबी छ । बर्खाका लागि जनशक्ति र मेसिन तयारी अवस्थामै हुने भएकाले केही समस्या आए तत्काल काम गर्न सहज हुने उनको भनाइ छ ।
जापानको २ अर्ब ६० करोड रुपैयाँ अनुदानमा ३.२ किमि सडक निर्माण गर्न लागिएको हो । मंसिर २०८४ सम्म यसको निर्माण सकिसक्नुपर्नेछ । निर्माणको ठेक्का जापानी कम्पनी सिमिजु कर्पोरेसनले लिएको हो । नयाँ ट्र्याकबाटै सवारी चलाउन मिल्ने गरी काम भइरहेको र बर्खामा समस्या आउन नदिने गरी तयारी गर्न सम्बन्धित कार्यालयहरूलाई भनिएको प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बताए ।
